लघुकथा:किनेर नपाइने आशीर्वाद - साहित्य सिर्जना साहित्य सिर्जना
  • २४ कार्तिक २०८१, शनिबार
Logo

लघुकथा:किनेर नपाइने आशीर्वाद



-शान्ता पौडेल भट्टराई

संस्कार र संस्कृति दाजु बहिनी । बाबुआमा दुवै कर्तव्यनिष्ठ सरकारी कर्मचारी । सन्तोष बस्नेत, प्रहरी सङ्गठनका एक इमान्दार प्रहरी ब. नायब निरीक्षक । सन्ध्या थापा, राजधानीकै सामुदायिक विद्यालयकी अब्बल शिक्षिका। दुवैजना आ-आफ्नो पेशाप्रति अत्यन्तै इमान्दार । सानो र सुन्दर परिवार। राजधानीको बसाइ, बजारभाउ आकासिएको छ तरपनि इमान्दारिताको कमाइले सुख दु:ख चलेको छ उनीहरुको जीवन ।

बस्नेत परिवार अत्यन्तै खुशी र सुखी थियो , जीवन उद्यानमा फुलेका दुई सुन्दर ‘कुसुम’को आनीबानी देखेर । आफ्ना सन्तानलाई अनुशासनको पाठ सिकाउनुपर्दा यिनै दाजु बहिनीको उदाहरण दिन्थे ,भाडावाल र घरपटीसमेतले । विद्यालयमा पनि ज्ञानी र अनुशासितको पर्याय दुवैजना । विद्यालय जाँदा आउँदा सडकपेटीमा अशक्त मान्छेलाई भेट्दा आफूलाई खाजा खान दिएको पैसा उनीहरुलाई दिन्थे । आफू भोकै घर फिर्थे, उमेरले सानै भएपनि व्यवहारले परिपक्व थिए ।

बाबाआमा समयमै कार्यालय पुग्नुपर्ने । त्यसमाथि प्रहरीको जागिर , सन्तोष धेरै समय परिवारसँग बिताउन पाउँदैनथे। उनलाई आफ्नो पेशा हरेक कोणबाट राम्रो लागेतापनि परिवारलाई समय दिन नपाउँदा कहिलेकाहीँ दु:ख त लाग्थ्यो नै । सन्ध्याले सम्झाउने गर्थिन् साथमा छोराछोरी पनि होमा हो मिलाउँथे । उनीहरुलाई गर्व थियो, बाबाको पेशाको इमान्दारिताप्रति । चाडपर्वमा वा कुनै उत्सवमा सरिक हुँदा सामान्य पहिरनमा हिँड्न मन पराउँथे । बुझ्ने उमेरदेखि नै सादा जीवन उच्च विचारको सिद्धान्तसँग रमाएका थिए, दुवै । यो किर्पणी आनीबानी आफ्नै आमाबाबाबाट सिकेका थिए।

समयक्रमसँगै दाजु बहिनी ठूला हुँदै गए । उमेर बढेसँगै साथीसँग बढि घुलमिल हुनथाले । धनाढ्य साथीको सङ्गतले विलाशी सामानको माग गर्नथाले । सन्तानको आनीबानीमा एक्कासी आएको अस्वाभाविक परिवर्तंले बस्नेत दम्पतीलाई हुनसम्मको पिरलो भयो ।
एकदिन कुरैकुरामा संस्कारले भन्यो, “यसपालि त मामाघर नजाने है संस्कृति!”
“किन नि ? पहिले पहिले त मामाघर जाने भनेपछि तीन बित्ता माथि उफ्रिन्थिस् त !”

आमाको प्रश्न भुइँमा खस्न नपाउँदै संस्कारले भन्यो, “ह्या ! ममी टिका लगाउँदा मामाले पैसै धेरै दिनुहुन्न । साथीहरुको अगाडि कुरा गर्न पनि लाजै लाग्दो!” संस्कृतिलाई निहुँ चाहिएको थियो, यसै मौकामा उस्ले पोहोर साल दशैँमा मामामाइजूले दक्षिणा थोरै दिएको, बाबाले आफ्ना साथीसरह महङ्गो लुगा नकिनिदिएको गुनासो पोख्न भ्याई । यो सुनेर आमाले भन्नुभयो “हेर! चाडपर्व भनेको त खुशीले मनाउने हो। आफूसँग भएको चिजमा रमाउने हो । पैसासँग तुलना गरेपछि त त्यो व्यापार भैगो नि ! फजूल खर्चले पर्वको महत्त्व घटाउँछ। विशेष दशैँमा अग्रजबाट टिका लगाउँदा आशीर्वाद लिने हो, त्यो आशीर्वाद पैसाले किन्न सकिन्न । जाओ, दाजुबहिनी मिलेर पसलबाट आशीर्वाद किनेर ल्याओ , सक्छौ ?” आमाको कुरा सुनेर दुवैले गल्ती गरेको महशुस गर्दै आइन्दा गल्ती नदोहोर्याउने बाचा गरे । एकैछिनपछि गाउँ जानको लागि बसपार्कबाट टिकट लिएर बाबा आइपुग्नुभयो । भोलि दशैँको टिका लगाउन गाउँ जाने निधो गरेर दिउँसोको खाजा खाने तरखरमा लागे सबैजना। रेडियोमा ‘मालसि’ धुन बजिरहेको थियो।

टङ्कीसिनवारी, मोरङ