विचार र कलाको संयोजनबाट उत्कृष्ट रचना जन्मिन्छ – देवी नेपाल
बुटवल : प्रगतिशील लेखक सङ्घ नेपाल, रुपन्देहीको आयोजनामा “प्रगतिवादी लेखनमा कला सौन्दर्यको प्रश्न” शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै लेखक साहित्यकार वामपन्थी चिन्तक तथा प्रलेस नेपालका पूर्व केन्द्रीय सचिवालय सदस्य प्राडा.देवी नेपालले अहिलेको नेपाली लेखन तथा राजनीति अनुमानमा केन्द्रित रहेको बताए ।
लेखक दर्शन भन्दा बाहिर पुगेर बहकिनु नहुने नेपालको कथन छ । “कला कलाका लागि कि कला विचारकलागि” भन्ने प्रश्नमा कला विचारका लागि हुनुपर्ने नेपालको भनाइ छ । व्यक्ति र रचना तथा विचार र व्यवहार बिचको तादम्यता मिल्दो बनाउनतर्फ स्रष्टा जहिले पनि लाग्नुपर्ने नेपालले बताए । विचार प्रधान रचना बढी शक्तिशाली हुने साथै विचार र कलाको संयोजनबाट उत्कृष्ट रचना जन्मने नेपालले बताए ।
अन्तरक्रियामा समालोचक डा. सालिकराम पौड्यालले उत्कृष्ट रचनाको जन्म घटनास्थल अथवा सम्बन्धित स्थलमै पुगेर लेख्न सकेमा प्रभावकारी हुने बताए । शनिवार बुटवलमा सम्पन्न अन्तरक्रियामा प्रगतिशील लेखक सङ्घ रुपन्देहीका अध्यक्ष कविराज पौडेल, सचिव कृष्ण गाउँले, सहसचिव सीता ढुङ्गाना काफ्ले, सदस्य गणेश घिमिरे, गीतारानी बलाल, तथा राजन पौडेलले आ-आफ्नो भनाइ राखेका थिए ।