सहिदलाई सम्झेर
–खोमा तरामु मगर
विहान रेसुङ्गाको डाँडामा
झुल्किने उषाको लालीकिरण
त्यत्तिको चम्किलो कहिल्यै थिएन
जत्तिको तिम्रो अनुहार थियो
बडिघात र छल्दी पनाहामा
बगिरहने अबिरल प्रवाह
त्यत्तिको गतिमय कहिल्यै थिएन
जत्तिको तिम्रो क्रियाशीलता थियो
अर्बेनी र हर्मिचौरको खोँचमा
थुनिएको कालीगण्डकी
त्यत्तिको गम्भीर कहिल्यै थिएन
जत्तिको तिम्रो विचार थियो
सत्यवतीको शीरमा उभिएको
थाप्लेको अग्लो पहाड
त्यत्तिको अडिग कहिल्यै थिएन
जत्तिको तिम्रो सिद्धान्तप्रति प्रण थियो
भार्से, लुम्पेक र अर्खबाङका
पाखाभित्तामा गुन्जिने गीत
त्यत्तिको मीठो कहिल्यै थिएन
जत्तिको तिम्रो बोली थियो
देउराली र अर्जुन डाँडामा
निरन्तर सुस्याउने हावा
त्यत्तिको फुर्तिलो कहिल्यै थिएन
जत्तिको तिम्रो कार्यशैली थियो
मदाने र मसिनाको लेकमा
पाखैभरी फूल्ने लाली गुराँस
त्यत्तिको आकर्षक कहिल्यै थिएन
जत्तिको तिम्रो मुस्कान थियो
डिबु्रङ र हचिङ्कोटको बनपाखामा
चिर्बिराउने कोइली चरीको मुटु
त्यत्तिको कोमल कहिल्यै थिएन
जत्तिको तिम्रो प्रेमपूर्ण ममता थियो
पुर्तिघात र रिडीको बगरमा
उखरमाउलो उष्णताको आगो
त्यत्तिको पोल्ने कहिल्यै थिएन
जत्तिको वर्गदुश्मनप्रति तिम्रो दृष्टि थियो
दीनदुःखीहरुका वर्गमुक्तिका लागि
गौरवपूर्ण बलिदानलाई आत्मसात गर्ने
ए, आदरणीय महान सहिद !
श्रद्धा त्यत्तिको श्रद्धामय कहिल्यै थिएन
जत्तिको तिम्रो बलिदानले
आज मेरो शीर निहुरिएको छ ।
( सहिद सप्ताहको सन्दर्भमा महान जनयुद्ध, सुखानी र एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गर्ने महान सहिदहरुको स्मृतिमा)