मेरा बा - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३१ जेष्ठ २०८३, आईतवार

मेरा बा



-जीना अधिकारी

अरूलाई हसाँउदा हसाँउदै आफैँ हाँस्न बिर्सेका
अरूलाई अघाउँदा अघाउँदै आफ्नै भोक बिर्सेका
अरूलाई पुर्‍याउँदा पुर्‍याउँदै आफ्नै अभाव बिर्सेका
आफैलाई बिर्सिँदै आफैँ रित्तिएर अरूलाई जीवन दिने मेरा” बा!”

जसले आफ्ना लागि कहिल्यै सोच्न पाएनन्
जिम्मेवारीका भारीले थाप्लो पिल्सँदासम्म उनले पोल्यो भन्न पाएनन्
मेरा रहर पुरा गर्दा गर्दै उनका रहर कहाँ अधुरै छुटे,उनले छुट्यो भन्न पाएनन्
बाले कहिल्यै आफ्ना लागि बाँचेनन्, उनी मेरा लागि बाँचिरहे
आफ्ना पोल्टाको खुसी पनि उनले आफ्ना लागि लिएनन्, मेरै लागि साँचिरहे!

मेरा बा!
आफ्नो निन्द्रा बेचेर रातभर खुल्ला आँखाले मेरा खुसीका सपना सजाउँछन्
उनी आधा अनिदो छन्
अचेल उनी रातभर छाती पोल्यो मात्र भन्छन्
खै,उनलाई बिमारले पोलेको हो या मेरो पिरले!

उमेरले डाँडो कटाइदिइसक्यो मेरा “बा”को
कपालले रङ फेर्ने बेला भइसक्यो
तर अझै उनको दुखी जीवनले सुखको रङ फेर्न सकेन
भरिला गाला चाउरिन थालिसके
अब त जवान मेरा” बा”, पारिलो घाम बुढो हुँदै क्षितिज तर्फ लम्के सरी जीवनको क्षितिज तर्क लम्किसके।

साँचो भनौँ त
“बा”ले एक जीवनमा एक युग बाँचे,एक युग भोगे
के पो देखेनन् उनले,के पो सहेनन्
खै, अभावका भुमरीमा कसरी हुर्किए, कसरी हुर्काए
सङ्घर्षका मैदानमा कति पच्छारिए
तर पनि बा अझै मजबुत भएर उभिएकै छन्
कसले भन्छ? घरलाई जगले आड दिएको छ,
अहँ म मान्दिन
घरलाई त” बा”ले आड दिएका छन्।

धैर्यता के हो, मैले” बा” बाटै सिकेँ
सहनशीलता के हो,मैले “बा” बाटै सिकेँ
ऊर्जा उनमै देखेँ, हौसला उनमै भेटेँ
मैले पत्तै नपाउने गरेर” बा “ले दुखको पहाड बोकेर मलाई सुखको चरम शिखरमा पुर्‍याएका रहेछन्
मैले हेर्दै,देख्दै,बुझ्दै, आज यो थाह पाएँ
कि प्रेम, त्याग र समर्पणको अर्को नाम भन्नु नै” बा” रहेछन्।।