संसारको रीत ,रीतै मात्र हो जिन्दगी ! - साहित्य सिर्जना साहित्य सिर्जना
  • ६ पुष २०८१, शनिबार
Logo

संसारको रीत ,रीतै मात्र हो जिन्दगी !



– युवराज घलेभाइ

कहाँ हिसाब छ
यहाँ सपनाको
कहाँ हिसाब छ
यहाँ रहरको

जिन्दगी व्यस्त छ
धोकाहरूको चरित्र हेर्न
विश्वासको घातमा फूल चढाउन

जिन्दगी व्यस्त छ
कहिल्यै नसकिने
जिम्मेवारीको भारीले थिचिएर
मृत्युको बाटो कुर्न ।।

मलाई थाहा छ
तिमी पनि जल्दै छौँ
वियोगको पीडामा

तिमीलाई पनि सताउँदै छ
आफ्नाहरूसँग
गरेको घातको पश्चात्तापले

जसरी
साँझ दुखी छ
दिनसँग छुट्नुसँग
शीत दुखी छ
रातबाट अलग हुनुसँग

मिलन कति सुन्दर हुन्छ
त्यो भन्न मुस्किल हुन्छ
तर
वियोग र बिछोड
सदा दुःखदायी हुन्छ
यो जग जाहेर छ ।।

साँच्चै
कठिन हुन्छन्
ती यात्राहरू

जहाँ
आफ्नाहरूको साथ हुँदैन
मुस्कुराउने
ओंठहरुका हुँदैनन्
रिसाउने आँखाहरू हुँदैनन्

हुनत त एक्लै हुँदा पनि
नबित्ने हैन सफर
नकट्ने हैन बाटो
तर आफ्नाहरू भएको
जस्तो,
कहाँ हुन्छ कोही नहुँदा

तिमीले भनौला संसारको रित
तर रितै मात्र हो र ! जिन्दगी