मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८१, सोमबार
Logo

मुक्तक



निरा भट्टराई


हतारको हतार छ जिन्दगीमा सधैँ भरी
रोकिएको छैन कोही हेर्छु आफ्नै वरिपरि
रवि चन्द्र जल वायु चक्रको नि आफ्नै गति
जहाँ चैन मिल्ला हाम्रो मूल्य हुन्छ ढुङ्गा सरी


जब आफ्नो मान्छेले नै आफ्नो भन्न छोड्ला
देखे पनि नदेखेझैँ बाटो अन्त मोड्ला
काँचसरि नाता तोड्न आफै अगि बढेपछि
टुटेको मन कुन तत्त्वले दाग नबसी जोड्ला


खोलाजस्तै बग्ने मन छ ठोकिन मन छैन
गन्तव्यमा नपुगुन्जेल रोकिन मन छैन
कसले जित्यो कसले हार्‍यो जिन्दगीको खेल
हार जीतको तराजुमा जोखिन मन छैन


तिम्रो बाटो हेर्दै बस्दा थाकिसके मेरा आँखा
टाढा टाढा बनिसके आफन्त नि सबै भाका
बिजुली झैँ बिलाई दिने बानी तिम्रो कस्तो
मेरै भन्छु भर पर्छु भाग्छौ तिमी डाँडा पाखा