सुमिनाको कवितासङ्ग्रह सार्वजनिक

कवि सुमिनाको कवितासङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममाझ कवितासङ्ग्रह सार्वजनिक गरिएको हो ।
इन्डिगो इनको प्रकाशन रहेको सङ्ग्रहबारे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव तथा विश्लेषक आहुति, प्रगतिशील लेखकहरू कुमारी लामा र अभय श्रेष्ठले टिप्पणी गरेका थिए ।
अभय श्रेष्ठले सुमिनाको कवितामा प्रष्ट वैचारिकी पाइने बताए । उनले भने, ‘वैचारिक रूपले प्रष्ट कविता पढ्न चाहनेहरूलाई सुमिनाजीको कविता पढ्न पाउँदा खुशी लाग्नेछ ।’ संग्रहका धेरै कविताहरू राम्रो लागेको, केही कवितामा विमति र केही कवितामा भने आपत्ति रहेको उनको भनाइ थियो ।
यस्तै कविताबारे लेखक कुमारी लामाले सुमिनाको कविता विचारको विनाश मात्र नभएर पक्षधरता र उत्पीडित समुदायको आवाजलाई मुखर गर्नको निमित्त अगाडि आएका बुलन्द आवाज रहेको बताइन् । कविको धेरै विचारहरूमा आफ्नो सहमति रहेको उनले बताइन् । ‘उहाँको विचार नै बिद्रोही रूपमा आएर कवितामा अन्तिम अस्त्र, जंगली फूल, बागी स्त्रीको आत्मकथा जस्ता चोटिलो कविता बनेका छन्,’ उनले भनिन् ।
आहुतिले सुमिनाका कविता वैचारिक हस्तक्षेपसहितका कविता भएको र यही नै उनको कविताको शक्ति भएको बताए । उनले भने, ‘सुमिनाका कविता वैचारिक त छँदै छन्, ती मुख्यतया मार्क्सवादको वैचारिकीमा उभिएका छन् । समाजवादी यथार्थवादलाई पकड्नु उहाँका कविताको मूल विशेषता हो ।’
कार्यक्रममा कवि सुमिनाले कवि र कविताबीचको दूरी, पक्षधरता र लेखनको उदेश्य गरी तीन बुँदामा आफ्ना लेखकीय मन्तव्य प्रस्तुत गरेकी थिइन् । ‘मैले जुन र जस्ता कविताहरू लेखेकी छु, यी कविताहरू कसैको निम्ति अत्यन्तै असान्दर्भिक र बेकारका बस्तु बन्न सक्छन्, त्यसको पूर्वआभास मसँग छ । त्यसलाई म स्वभाविक रूपमा पनि लिनेछु । किनकी वर्ग समाजमा वर्ग निरपेक्ष कुनै कवि लेखक साहित्यकार पनि हुनसक्दैन । एकैसमय कोही सबैको प्रिय बन्छु भनेर सोच्छ भने त्यो समस्याग्रस्त कुरा हुन्छ । तह र तप्कामा विभाजित समाजमा एउटा तप्काको आवाज बोल्न अर्को तप्काको बैरी हुनैपर्छ’, कवि सुमिनाको भनाइ थियो ।
अपराजिता पारिजातका सम्पादक तथा केही अखबार, अनलाइनमा नियमित लेख्ने सुमिना प्रगतिशील साहित्यकारको रूपमा परिचित छिन् । थुप्रै फुटकर लेख, रचनाहरू प्रकाशन गर्दै आएकी सुमिनाको यो पहिलो कवितासङ्ग्रह हो ।
