छन्दका अन्तर्राष्ट्रिय अभियन्ता पाैडेल पुरस्कृत - साहित्य सिर्जना साहित्य सिर्जना
  • २० माघ २०८२, सोमबार

छन्दका अन्तर्राष्ट्रिय अभियन्ता पाैडेल पुरस्कृत



रूपन्देहीकाे सियारी गाउँपालिकास्थित लक्ष्मणगञ्जमा अवस्थित दुर्गा शैक्षिक गृहमा प्राचार्यकाे जिम्मेवारी समालिरहेका र यज्ञाेदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापकका रूपमा कार्यरत अङ्ग्रेजी र नेपाली साहित्यका विद्वान् युवाकवि कविराज पौडेललाई रू २००००/- सहित प्राडा रामप्रसाद ज्ञवालीकाे अध्यक्षता र संघीय संसदका सभामुख देवराज घिमिरेकाे प्रमुख आतिथ्यमा छन्दसाधना युवा प्रतिभा राष्ट्रिय पुरस्कार प्रदान गरियाे ।

माेफसलमा रही रूपन्देहीलाई कार्यक्षेत्र बनाएका नेपाली छन्दाेबद्ध कविताकाे क्षेत्रका एक अग्रणी व्यक्तित्व छन्दाेबद्ध कविताकाे अविश्रान्त साधक पौडेल वि.सं. २०४० भदौ १२ गते रापाकोट, स्याङ्जामा जन्मिएर मूलतः २०६० को दशकबाट सिर्जना यात्रामा सक्रिय र रूपन्देहीमा ‘छन्दवादी समाज नेपाल’जस्तो संस्था नै स्थापना गरेर झन्डै दुई दशकदेखि छन्दकविताको साधनामा समर्पित रही ‘चित्रविचित्र’ (२०६२), घाइते राष्ट्र (२०७०) जस्ता छन्दोबद्ध कवितासङ्ग्रह र रूपसी (२०६३), कैदी (२०६५) र छायाछवि (२०६९) जस्ता छन्दोवद्ध खण्डकाव्यका साथै सयौँ फुटकर कविताका माध्यमबाट सशक्त सिर्जना क्षमता, युगीन यथार्थमूलक वैचारिक सम्प्रेषण, जीवन्त वाचन कला, छन्दसम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठन निर्माण, पिङ्गल छन्द र अङ्ग्रेजी छन्दविधानसम्बन्धी प्राज्ञिक अनुसन्धान र विभिन्न प्रशिक्षणका माध्यमबाट नयाँ पुस्तालाई छन्दकविताप्रति आकर्षण प्रदान गर्ने कार्यमा अतुलनीय योगदान दिएबापत युवाकवि कविराज पौडेललाई छन्दसाधना युवा प्रतिभा राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो ।

कवि पाैडेल अङ्ग्रेजी साहित्य र नेपाली साहित्यका विशिष्ट विद्वानका रूपमा परिचित छन् ।यिनले नेपाली र अङ्ग्रेजी भाषामा समान रूपले कलम चलाउँदै आएका छन्। कवि पाैडेलका पछिल्ला कवितामा छन्दका हिसाबले लेखनाथीय परिष्कार र शैलीका हिसाबले घिमेरेकाे प्रभाव देखिएता पनि यिनका कवितामा प्रगतिशीलताकाे काेलाज पाइन्छ।