दुुई थोपा आँसु र दोस्तोवस्की - साहित्य सिर्जना साहित्य सिर्जना
  • ४ पुष २०८१, बिहीबार
Logo

दुुई थोपा आँसु र दोस्तोवस्की



-रामचन्द्र श्रेष्ठ

“कहाँसम्म जानु हुने ?”
२० मिनेट उभिएपछि सिट पाएको थिए । बसको ढोकाको ठ्याक्कै अर्को साइड, ड्राइभर र क्याबिनको ठ्याक्कै पछाडि । मेरो सिटको छेउमा झ्यालतिर फर्किएर अधबैसे पुरुष बसेका थिए । रक्सीको गन्ध, पुरानो खाकी ज्याकेट, मैलो टिसर्ट, पुरानै पाइन्टमा एक मंगोल अनुहार थिए ।
दशैं तिहारको बीचमा फुर्सदका केही दिन छुट्याएर म पाल्पा जाँदै थिएँ । मलाई पुुग्नुु थियो सर्देवा जुन अहिले सिजी सर्देवाबाट परिचित छ । त्यहाँ मेरा साथी रविन्द्र छन् । दिउँसो २ बजे पाल्पा बसपार्क पुुगेको थिएँ । म पुुग्दा पाल्पा फेक जाने गाडी छुट्नै लागेको थियो । गाडीमा भीड थियो तर कण्डक्टरले केराबारीबाट खाली हुने भनेपछि मलाई अरु गाडी कुरेर बस्न मन लागेन । झोला बोकेरै म उभिएर बसमा एक नजर डुलाएँ ।

बुटवल हाटबजार गरेर फर्किदै गरेका पाल्पा दोभान, केराबारी तिरका महिलाहरूको हुल थियो । आउँदै गरेको तिहारको बजार गरेकाले पनि हुनुपर्छ सामानहरू अनेक थिए । एकजना लाहुरे रिटायर्ड भएर आएका रहेछन् । उनको बडेमाको बाकस गल्लीमा पसारिएको थियो र त्यसमा सानो नानी समातेर एक महिला टुक््रmुक्क बसेकी थिइन् । अन्तिमतिरको सीटमा एक जोडी पर्यटक थिए । ती युुगल जोडीको अनुहारमा बसको भीडभाड र उनीहरूलाई पटक पटक हेरिरहने मानिसहरूप्रति आश्चर्यको भाव देखापर्दथ्यो । बस सिद्धबाबाको साँघुरो अप्ठ्यारो बाटोमा तल तिनाउलाई साउती मारेजस्तै ढल्कदै गर्दा ती पर्यटक युवतीले आफ्नो केटासाथीलाई ‘किस’ दिइन् । यो दृश्य पटक पटक दोहोरिरह्यो । बसका महिलाहरूले एकआपसमा हेराहेर गरे ।

म धेरै पछि यसरी सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्दै थिएँ । मलाई हरेक दृश्य नौला लागिरहेका थिए । उसो त यस्तै यस्तै अवलोकन गर्न नै मैले फुर्सदमा यात्रा गर्दै थिए । फुर्सद आफ्ना नियमित दैनिकीबाट मुक्त हुने समय हो । रोजीरोटीका लागि बिहानदेखि साँझसम्म अनेक तानाबानामा अल्झनेहरूको लागि बिदाको समय नै फुर्सद हो । कृषिमा आधारित जिविकामा खेतीको माचो नहुने समय फुर्सद हो । गैर कृषिजन्य पेशाका लागि फुर्सद भनेको आफ्नो कार्यालय समय अर्थात् अर्थोपार्जनका लागि आबद्ध हुनुुपर्ने समयबाहेक नै फुर्सद हो । म जस्तो शिक्षणमा संलग्न व्यक्तिको लागि शिक्षणको दैनिकी नहुनु नै फुर्सद हो । यही फुर्सद नै समाज अध्ययन गर्न चाहनेको लागि उपयुक्त समय पनि हो । फुुर्सदलाई उपयोग गरेर खोज गर्ने विधिको चर्चा गर्दै त्रिविविमा अध्यापनरत मानवशास्त्री जनक राईले नयाँ शब्दावली प्रयोग गरेका छन् ‘फुर्सद एथ्नोग्राफी’ । एथ्नोग्राफी मानवशास्त्रमा प्रयोग गरिने अनुसन्धान विधि हो । एथ्नोग्राफीको अर्थ कुनै पनि अध्ययन क्षेत्रको सामाजिक, सांस्कृतिक, अर्थराजनीतिक आदि पक्षहरूबारे विस्तृत तथ्यांकहरू संकलन र विश्लेषण हो । विगतमा पश्चिमा विकसित देशका अनुसन्धाताहरू अनुसन्धान वृत्ति पाएर, अनुसन्धानकै लागि समय लिएर कुनै ‘अञ्जान’ समाजमा लामो समय व्यतित गरेर ‘विस्तृत तथ्यांक’ संकलन गर्थे । तर, नेपाल जस्तो अविकसित र अनुसन्धानको परम्परा नभएको देशमा समाज अध्येताहरू यस्ता अवसरहरूबाट बञ्चित छन् । सिन्हास जर्नलको अंक २७ मा जनक राईले फुर्सद एथ्नोग्राफीबारे लेखेका छन् । उनले त्रिविविका प्राध्यापकहरूले अनुसन्धानका लागि स्रोत, समय र अर्थको अभाव भएको अवस्थामा फुुर्सदलाई नै अनुसन्धानको समय बनाउन सक्ने र ‘विस्तृत तथ्यांक’ संकलन गर्न सक्ने उपाय सुुझाउँछन् । उनले आफ्नै उदाहरण दिएका छन् । कसरी उनले पूर्वी तराईमा मलेरियाको सामाजिक इतिहास र धिमाल जातिको अध्ययन चाडपर्वको बिदा र सेमेष्टक ब्रेकमा गरेका थिए भन्ने अनुभव उल्लेख गरेका छन् । फुर्सद एथ्नोग्राफीलाई राईले अनुसन्धानको लागि विविध विधि मध्ये छनौटको एक विधिभन्दा पनि रणनीति रहेको जिकिर गरेका छन् । अर्थात्, नेपाल जस्तो सामाजिक अनुसन्धानको वातावरण नभएको परिवेशमा फुर्सद नै अनुसन्धानको उपयुक्त समय हो ।

राईको फुर्सद एथ्नोग्राफीको अवधारणालाई सापट लिएर भन्दा म फुर्सदमा आफ्नो वरपर समाजमा आएको परिवर्तन अध्ययन गर्न चाहन्छु । कुनै प्राज्ञिक अनुसन्धानका लागि चाहिने ठोस रणनीतिको आधारमा नभई फुर्सदको समयमा वरपर डुल्ने र परिवर्तनका मसिना संकेतहरूलाई संकलन गर्ने कोशिस गर्नु लाभदायक नै हुन्छ जस्तो लाग्छ । त्यो भ्रमणको समयमा गरिने फोटो संकलन हुन सक्छ, त्यो डायरीमा गरिने टिपोट हुन सक्छ वा मान्छेहरूसँग गरिने संवाद हुनसक्छ । तर यी सबैको लागि चाहिने रहेछ दृष्टिकोणको । हेर्ने आँखाको । यस्तोबेला मलाई डा. मोहन पन्थी सरको सम्झना आउँछ । स्नातकमा वनस्पति शास्त्रको अध्ययनको क््रmममा मोहन सरले भन्नुहुन्थ्यो, “अध्ययन बेग्लै समयमा गरिने होइन । एउटा अध्येता जहिल्यै खोज गर्ने आँखा लिएर हिंड्नुुपर्छ । अनि उसले अरु मान्छेले नदेखेको देख्छ । नभेटेको भेट्छ ।” मनाङको जैविक विविधतामा शोध गर्नुभएका पन्थी सरले हाटबजारको उदाहरण दिंदै भन्नुहुन्थ्यो, “हाटबजारमा एकजना अर्थशास्त्रीले वस्तु र सेवाको विनिमय अवलोकन गर्ला । एकजना संस्कृतिविद्ले कस्ता कस्ता जाति र वर्गको सहभागिता छ भन्ने हेर्ला । एकजना वनस्पति विद्ले कस्ता कस्ता वनस्पति, जडिबुटी, फलफूल किनबेच हुन्छ र त्यसको प्रयोजन हेर्ला । ठाउँ उही हो तर देख्ने आँखा फरक हुन्छ ।”
र, म पन्थी सरले भनेजस्तै देख्ने चाहनाले फुर्सद उपयोग गर्न चाहन्थे ।

कण्डक्टरले भनेजस्तै केराबारीमा केही यात्रुहरू ओर्लिए । केही सीट खाली भए । अनि म बस्न पुुगें मंगोल अनुहारका ती अधबैसें पुरुषको छेउमा । कहाँ पुुग्ने भन्ने मेरो जिज्ञासालाई उनले संक्षिप्त उत्तरले टारिदिए— तानसेनसम्म ।

एकछिन हामीबीच मौनता व्याप्त रह्यो । बसमा कुनै रक म्युजिक बजिरहेको थियो । संगीतमा खासै स्वाद आइरहेको थिएन । उसो त बाटोमा बस यता र उता उफ्रिरहेको थियो र बेला बेलामा झ्यालबाट एकाध मुस्लो धुलो छिरिरहेको थियो । माहोल उतिसाह्रो संगीत अनुुकुल थिएन । त्यसमाथि त्यो रक म्युजिकले कोलाहलमाथि आतंक नै सिर्जना गरेको थियो । म पनि दिक्क थिएँ । शायद अरु पनि । अनि त ती पुरुष चिच्चाइहाले— “के गीत बजाउँछौ यार ? अलि मिठो गीत बजाउन ? दोहोरी छैन, दोहोरी ?”
अनि उनी मतिर फर्किए । म कहाँ पुुग्ने भन्ने प्रश्न गरे । एकछिन चुुप लागे र फेरि आफै बोल्न थाले ।

“बिहानै तानसेनबाट आएको हुँ । अब फर्किन लागेको ।….केही खा’छैन । …एक प्लेट मटर–समोसा खाएको ६० रूपैयाँ लियो तर कस्तो चिसो मटर भने…। निकै मन दुख्यो ।”

“ए…” उसको बिलौनालाई एक अक्षरले विश्राम दिन चाहें । शायद रक्सीको गन्धले होला वा उनको भेसभुसाले मलाई शुरुमा उनीप्रति खासै रुचि जागेन । एकछिन पछि कुन्निकताबाट सदाशयता जाग्यो मलाई । अनि प्रस्ताव गरें— “भोक लागेछ भने बिस्कुट खानुुस् । मसँग बिस्कुट छ ।”
उनले हात जोडेर अस्वीकार गरे । उनको विनम्रताले मेरो मन छोयो ।

“अनि बुटवल किन आउनुुभएको ?”
“मेरो भाञ्जा छन् त्यहाँ । मिलनचोकमा । …पुन मगर । कोरियाबाट फर्केका ।”
“म पनि मिलनचोककै हुँ ।”

“ए ! चिन्नुहुन्छ मेरो भाञ्जालाई ?” उनको स्वरमा एक लहर उर्जा थपियो ।
“नाइँ ।”

अनि फेरि थपें मैले “अनि कोरियाबाट आएका भाञ्जा, मामालाई एक छाक पनि खुवाएनन् ?”
शायद मेरो प्रश्न खरो भयो । उनी मौन रहे । मलाई पनि अप्ठ्यारो लाग्यो ।
यो मौनता अलि लामो नै रह्यो । बसले केही घुम्तीहरू पार गरेपछि, एकाध मुस्लो धुलो हाम्रो ज्यानमा पोखिएपछि उनी सुस्तरी बडबडाउन थाले ।

“तपाईंलाई किन ढाट्नु, खासमा म जेलबाट छुटेर आउँदै छु । २७ महिना जेल बसें । आजै छुटेको हुँ ।”
“भैरहवा जेलबाट ?”
“हो । पहिला त पाल्पा थिए । त्यहाँ केटाहरू झगडा गरे अनि यता सा¥यो ।”
“अनि के केसमा पर्नुभयो र ?”
“म रक्सी खाने मान्छे । गाडीले मान्छे हानेछ । रक्सी खाएको सुरमा मैले चलाएको हुँ भनेछु । पुलिसले भिडियो खिचेको रहेछ । अनि मलाई समात्यो । जिल्लाले ५ वर्ष तोकेको थियो । पछि पुनरावेदनले यस्तो मान्छेले पनि हान्छ भनेर छोड्दियो ।” अपुरो अपुरो वाक्य, कहिले टाठो र कहिले मन्द स्वर अनि गाडीको कर्कश र कोलाहलमा मैले यत्ति बुझे ।

एकछिन जेलभित्रका कुरा भए । महिनामा पाउने सिदाबाट फिल्म हेर्ने गरेको बताए । जेलमा छोरी बलात्कार गरेर आएको मान्छेदेखि लोग्ने हत्या गरेको महिलासम्मको कथा सुनाए ।

म भने विश्वास र अविश्वासको द्वन्द्वमा थिएँ । अविश्वास गरुँ एउटा मान्छेले आफु जेल परेको जस्तो बहाना किन गर्छ होला र ! विश्वास गरुँ कसरी गरुँ ! पछि जोरधारामा चिया खाने बेलामा कण्डक्टरलाई सोधें ।

कण्डक्टरले कुरा सत्य भएको बताउँदै भने, “चिन्छु यिनलाई । पहिला तानसेनमा मासु बेच्थे । यिनको साथीले चलाएको हो कि, यिनले स्टार्ट गरेका हुन् कि यस्तै यस्तै केही हो । तर, जेल परेको साँचो हो ।”

कण्डक्टरले एकातर्फ मलाई विश्वस्त पारे भने अर्कोतर्फ घटनालाई धुमिल पारिदिए । एउटा यस्तो घटना जहाँ कोही मरेको छ, जहाँ कोही आरोपित भएको छ, जहाँ कोही बन्दी बन्न पुुगेको छ । अनि त्यो घटना विस्मृतिको बादलले ढपक्कै छोपिएको छ । बाँकी छ त केवल ‘यस्तै यस्तै केही भएको’ भन्ने झिनो स्मृतिमात्र । विस्मृति सामाजिक विशेषता बनेको छ । हामीले भोगेका घटनाहरू ‘यस्तै यस्तै केही’को झिना सम्झनामात्र बनिदिन्छन् । लघुुस्मृतिको दीर्घ रोगबाट ग्रसित छौ हामी । हाम्रो लघुु स्मृतिको फाइदा उठाएर क्षणिक उन्मादका भाष्यहरू निर्माण गरिन्छन् । चल्तीका फूूलबुुट्टे नाराहरू प्रचार गरिन्छन् । हाम्रो लघुस्मृतिको फाइदा उठाएर उपभोक्ता बजारदेखि भोट बजार मौलाउँछ यहाँ । ‘यस्तै यस्तै केही’…मलाई दिक्क लाग्यो ।

गाडी भाडा तिर्दिए पछि उनी मसँग साह्रै अनुुगृहित भए । यसले मलाई उनीसँग नजिक्यायो । अनि मैले घरायसी कुरा गर्न थाले ।
“अनि केटाकेटी जहान कता छन् ?”

“बुढी अर्कैसँग हिंडेकी हो । दुुईटी छोरी हुन् । जेठी एकपटक जेलमा भेट्न आएकी थिई ।…”

अनि एउटा लामो निश्वास । एकछिन झ्यालबाहिर के हेरे कुन्नि उनले । पारी डाँडामा बोटहरू हरिया थिए । मौसम त घमाइलो नै थियो तर उनी मलिन देखिए ।

“खोइ अब के गर्ने हो…। सबैले ‘आयो कैदी’ भन्ने होलान् । के गरेर खाने हो ?” उनका आँखाबाट आँसुको धारा बिस्तारै बहन थाले ।
५८ वर्षको त्यो अधबैसे मगर पुरुष जो परिबन्दले २७ महिना कैदी जीवन बिताएर आएको छ । उसका गालाहरू चाउरी परिसकेका छन् । जुुँगा फुलिसकेको छ । कपाल फुल्न लागेका छन् । अब उ घोर अनिश्चयको भूमरीमा फसेको छ । अब उसको लागि यो ‘खुल्ला संसार’ कष्टकर बनेको छ ।

ठ्याक्कै यहींनेर मलाई आफैप्रति तीव्र रीस जाँगेर आयो । मैले किन बेलैमा फ्योदोर दोस्तोवस्कीको उपन्यास ‘अपराध र दण्ड’ पढिन् ? मसँग यसको हिन्दी संस्करण भएको त कैयौं वर्ष भयो । तर, त्यो उपन्यास पढ्ने आँट मैले किन गरिनँ ? मान्छेको मनोविज्ञान र मनोदशालाई सुुक्ष्म चित्रण गर्न सिद्धहस्त मानिएका दोस्तोवस्की पढेको भए यी पुरुषको मनोदशा बुुझ्न र संवाद गर्न मलाई कति सहायता हुन्थ्यो होला ! बेलैमा दोस्तोवस्की नपढेको छटपटीले गाज्यो मलाई । शायद उपन्यासको भीमकाय स्वरूपले मलाई अत्यायो होला । एकाध पटक पढ्न शुरु त गरेको थिए नि तर फेरि अधुरै छोडे । केही किताबहरू यसरी नै घरको तक्तामा मलाई पर्खेर बसेका हुन्छन् । शायद पठनको लागि पनि एउटा भावभूमिको आवश्यकता पर्दछ कि क्या हो ! कुनै कुनै किताब पढ्नै सकिदैन । ‘घामका पाइला’ पनि मलाई त्यस्तै भएको थियो । शुरुमा केही पाना पढेर छोडेको थिएँ । पछि त्यो मेरो प्रिय किताब बन्यो । अहिले त्यति उत्कृष्ट र प्रिय किताब शुरुमा नै किन पढ्न सकिनँ भन्ने प्रश्न आफैलाई जटिल बनिदिन्छ । मलाई निकै छटपटी भयो । तैपनि उनलाई सान्तवनाका शब्द पोखें—“समाजमा बुुझ्ने मान्छे पनि हुन्छन् । तपाई परिबन्दमा पर्नुभएको भनेर सहयोग गर्ने पनि त होलान् । मन सानो नबनाउनुस् ।”

मेरा शब्दले उनलाई कत्ति स्पर्श ग¥यो थाहा भएन । तर तानसेनमा झर्दै गर्दा उनले मलाई देखाएर कण्डक्टरलाई हैकमपाराले भने, “मेरो छोरोलाई राम्ररी लगिदेस् ।”
कण्डक्टरको ओठबाट मन्द मुस्कान फुस्कियो ।

दोस्तोवस्कीको एउटा महत्त्वपूर्ण रचना अध्ययन नगरेको थकथकी भने अर्को रचना अध्ययनको प्रासङ्गिकताले मत्थर पा¥यो ।
डुम्रे बजारमा बस घ्याच्च रोकियो । एउटा मान्छे फुत्त बसमा चढ्यो । मान्छेसँगै रक्सीको ह्वास्स गन्ध पनि बसमा छि¥यो । ढोका छेउ सीटकी महिलाले नाक छोपिन् । उसको शरीरले क्याबिनको बनोटमा बसेकी महिलालाई घच्चायो । महिलाले धकेलिदिइन् ।

सर्ट, प्यान्ट, काँधमा गलबन्दी र शीरमा ढाका टोपी लगाएको उक्त मान्छेलाई अधबैसे भन्न मिल्दैनथ्यो । उसलाई बुढो मान्छे भन्नु नै उपयुक्त हुन्छ होला । बसको डण्डी समातेर खल्तीबाट सुर्तीको प्याकेट र केही खुद्रा नोटहरू निकाल्यो । उसको हालत यत्ति खराब थियो कि अर्काे हातले नोट निकालेर दिन सक्दैनथ्यो ।

“कहाँ जाने हो ?” कण्डक्टरले रुखो स्वरमा सोध्दै ड्राइभरलाई मान्छे नहेरी गाडी रोकेको भनेर एक दनक गाली दियो ।
त्यो बुढा बाँसटारी जाने भन्ने थाहा भएपछि कण्डक्टरले आफै केही खुद्रा नोट बुढाको हातबाट निकाल्यो ।

बुढाले एक लहर बसभरिका मान्छेलाई हे¥यो अनि थ्याच्च भुुइँमा बस्यो । उ मेरो सीट नजिकै बसेको थियो । म पछिको दोस्रो सीटमा एक पर्यटक महिला थिइन् त्यस्तै दुुई तीन वर्षको बच्चा सहित । पछि थाहा भयो उनी इजरायली रहिछन् । उनको छेउमा एक युवती थिइन् । पछि थाहा भयो उनी तानसेनकै नेवार थिइन्, काठमाडौंबाट तिहारका लागि घर फर्किरहेकी ।

बुढाको नजर बच्चामा प¥यो । अब बुढा हौसियो । त्यो विदेशी बच्चालाई कोट्याउँदै चोर औला आफुतर्फ तेस्र्याएर भन्न थाल्यो, “योर ग्रान्डफादर ।”

अकस्मात आइपरेको परिस्थितिमा बच्चा डरायो । उसकी आमा पनि डराइन् । मैले बुढाको निधारमा दुुई औलाले कोट्याउँदै त्यसो नगर्न अनुरोध गरे । तर बुढाले मलाई आँखा त¥यो ।

एकछिन पछि फेरि बुढाले बच्चालाई जिस्काउन थाल्यो । मैले फेरि उसलाई त्यसो नगर्न भने । बुढाले फेरि जिस्कायो । अनि बच्चा रुन थाल्यो । मलाई झनक्क रिस उठ्यो । अनि मैले अलि ठूलो आवाजमा उसलाई गाली गरें— “रक्सी खाएर बस चढ्ने अनि पर्यटकलाई दुःख दिने ? रक्सी खाएँ भन्दैमा जे पायो त्यहीं गर्न पाइन्छ कि क्या हो ? लाज शरम छैन ?”

मेरो चर्को आवाजले बुढा गल्यो । त्यसपछि भने हैरान भयो । बुढा त रुन थाल्यो । बर्बर्ती आँसुु झार्दै बढ्बढाउन थाल्यो । रक्सी र आँसुले बरालिएको उसको बोली बुुझ्न कठिन भयो । तर अन्दाज गर्न सकिन्थ्यो । उसले छोराले दुःख दिएको, परिवारले नहेरको यस्तै यस्तै केही बड्बडाइरहेको थियो । बनोटमा बसेकी महिलाले बडो सहानुुभुतिपूर्वक टिप्पणी गरिन्, “बिचरा साह्रै विरक्तिएर हिंडेका रहेछन् । नत्र यो उमेरमा यसरी रक्सीले हल्लिदै नहिंड्नुपर्ने !”

म एकटक बुढालाई हेरिरहेको थिएँ । मलाई महिलाको दयाभावले स्पर्श गरिरहेको थियो । परिस्थिति महसुस गर्न गाह्रो भईरहेको थियो । अनि फेरि मलाई दोस्तोवस्कीको सम्झना भयो । ‘नोट्स फ्रम अन्डरग्राउण्ड’मा दोस्तोवस्की भन्छन्ः—

“हरेक मान्छेसँग यस्तो सम्झनाहरू हुुन्छन् जो ऊ सबैसँग भन्न सक्दैन तर आफ्ना केही साथीसँग मात्र सक्तछ । उसको दिमागमा त्यस्ता कुरा पनि हुन्छन् जुन ऊ नजिकका साथीलाई पनि भन्न सक्दैन र एकान्तमा सुटुक्क आफैलाई मात्र भन्न सक्छ । तर, केही यस्ता कुरा हुन्छन् जुन मान्छेले एकान्तमा आफैलाई भन्न पनि डराउँछ । हरेक सभ्य मान्छेको मस्तिष्कमा यस्ता कैयौं कुरा हुन्छन् । खासमा मान्छेको दिमागमा जति धेरै यस्ता कुरा हुन्छन्, त्यति नै ऊ सभ्य कहलाउँछ ।”

अनि रक्सी त्यस्तो पदार्थ हो जसले मान्छेलाई असभ्य बनाइदिन्छ । किनभने रक्सीले मान्छेको अवचेतन मनलाई यति विद्रुप तरिकाले उजागर गरिदिन्छ कि ‘सभ्य’ मान्छेले एकान्तमा आफैलाई भन्न नसकेको कुरा ऊ ओकलिदिन्छ ।

त्यो बुढो मान्छे, परिवारको अपहेलनाले विरक्तिएर हिंडेको त्यो मान्छे शायद आफैलाई भन्न नसक्ने कुरा बड्बडाइरहेको थियो । त्यसैले ऊ ‘असभ्य’ देखिइरहेको थियो । मनमा कुरा गुम्साएर, काँधमा गलबन्दी भिरेर, शीरमा ढाका टोपी ढल्काएर, गमक्क परेर हिंड्दा ऊ कति ‘सभ्य’ देखिँदो हो ! अहिले बिचरा दुनियाँको अगाडि रोइरहेको छ । बड्बडाइरहेको छ । ‘असभ्य’ प्रस्तुत भइरहेछ ।

दोस्तोवस्कीले त्यस मानवको हालत बुझ्न त सहयोग गरे तर सभ्य र असभ्यको परिभाषालाई यसरी नंगाइदिए कि म फेरि अर्को बेचैनीमा फस्न पुुगें ।

त्यो बुढो मान्छे रुँदारुँदै, बड्बडाउँदा–बड्बडाउँदै निदाउन पुुग्यो । त्यो बसको गल्लीमै लमतन्न सुतिदियो । उसको शीर मेरो खुट्टामा आइपुुग्यो । मैले बाजे भन्ने उमेरको मान्छेको शीर खुुट्टामा आइपुुग्दा मलाई निकै पीडा महसुस भयो । मैले शीर मिलाइदिए । महिलाको आँखामा करुणाभाव छचल्किरहेको थियो । बसको सिंगो वातावरण उसलाई देखेर स्तब्ध थियो । इजरायली पर्यटकको बच्चा पनि अब फकिइसकेको थियो । बस पहाडी घुम्तीहरूमा मोडिइरहेको थियो ।