श्रीमतीकी साथी - साहित्य सिर्जना साहित्य सिर्जना
  • ६ पुष २०८१, शनिबार
Logo

श्रीमतीकी साथी



-निर्मला देवी तिम्सिना ‘कान्छी’

एकदिन फेसबुकको भित्तामा मुस्कुराएर बसेको सुन्दर तस्बिरमा मेरा आँखा पुगे । नामसँग परिचित भएपनि अनुहार अपरिचित थियो । परिचित नाम देखेर साथी बनाउने अनुरोध हुत्याई दिएँ ।जसरी चुम्बकले फलाम तान्छ त्यसरी नै सुन्दर तस्बिरले मेरो मन तानेको थियो । केही समय पछि उनले मेरो अनुरोध स्वीकार गरिन्। हामी साथी बन्यौं।

साथी बनेको भेउ पाउने बितिक्कै मैले हाई भनेर संदेश पठाएँ।उनले हेलो नमस्कार भनिन् । मैले पनि नमस्कार भनेँ । त्यसपछि हाम्रो संवाद च्याट मार्फत शुरू हुन थाल्यो । मैले एकोहोरो उनको बारेमा सबै सोधें । श्रीमान विदेश गएको र छोरा ,छोरी पढ्नको लागि अन्त कतै बस्ने, आफु एक्लै घरमा हुने कुरा बताइन् । उनले मेरी श्रीमतिको बारेमा सोधेकी थिइन् । मेरी श्रीमती र उनी अति मिलनसार साथी थिए। अप्रत्यक्ष रुपमा उनले मलाई चिनेकी थिइन् र मैले पनि उनलाई चिनेको थिएँ । मैले जिस्काउदै उनको उमेर सोधेँ। यसमा उनी पनि अलि जिस्किएरै बोलेकी थिनिन्। मेरो भाइ भनेर तर म उनी भन्दा जेठो भएको कुरा हाम्रो जन्म मिति पाएपछि थाहा भयो । म भाइ हुनु परेन ।

मीठा शब्दले मलाई मोहित र उत्तेजित बनाइरहेकी थिइन् । कुराकानीमा पनि उत्तेजनाको चरम छट्पटी हुँदो रहेछ । बगरमा रहेको माछा जस्तो मेरो शरिरको कुनै भाग छट्पटीन थालेको थियो । मेरा ओठले उनको तस्बीर चुमिसकेको थिएँ । उनले मेरो प्रशंसाको चुली लागाएपछि मैले पनि उनको प्रशंसाको चुली लागाई दिएको थिएँ। वास्तवमा उनी मिठो बोलीले प्रसंसा योग्य थिइन् । मिठो बोल्ने मान्छेको अनुहार हेर्न मन लाग्यो । मैले भिडियो कलको अनुरोध गरेँ । उनले कल उठाइन् । उनको लज्जास्पद अनुहारमा निहुरिएका नजर र ओठमा मिठो मुस्कान , राता गाला मैले सोचे भन्दा धेरै राम्री देखें । माया केलाई भनिन्छ ? उत्तेजित हुनुलाई माया भनिन्छ भने मलाई उनको माया लागिसकेको थियो । सायद उनी पनि उत्तेजित भइरहेकी थिईन्। उनका नजरमा मादकता थियो । मानौं पहिलो रातमा पहिलो पटक दुलाहाले स्पर्श गर्न लाग्दा लज्जालु र उत्तेजित नव दुलही जस्तै देखिएकी थिईन्।

श्रीमतीकी साथी हुन् । मैले त्यसो गर्नु हुँदैन थियो तर मन मान्दै मानेन । धेरै कुराकानी भएर नजिकिएपछि आफ्ना नातेदार बाहेक विपरीत लिङ्ग बीच असल मित्र हुनै सक्दैन । त्यहाँ प्रेमले छलाङ हान्न थाली हाल्छ । मलाई हिम्मत आइसकेको थियो । “हाम्रो माया बस्यो ।” मैले भनेँ । उनले नखरा पार्दै भनिन् “हजुर पनि के के भन्नुहुन्छ कसरी माया बस्ला ! हामी अल्लारे हुँ र ! चिनेको मान्छे भनेर पो बोलेको त । हजुर मेरो साथीको श्रीमान भएर त्यसो भन्न मिल्दैन । म साथीलाई धोका दिन सक्दिनँ । ” उनले सासले ओठ कमाउँदै भनेकी थिइन् । म भुतुक्कै भइरहेको थिएँ।
हामी विवाहित छोराछोरीका बा आमा हौं । मलाई उनी उसै मन पर्यो । म यौन पिपासु पनि हैन तर यौन चाहना तिब्र जागिरहेको थियो । मानौं म उनीसँगै छु ,उनीलाई छोइरहेको छु । कसैलाई छोएर पनि नजागेको यौन चाहना उनीलाई देख्दै जागेको थियो । मैले कलबाटै आफ्ना भावहरू भनिरहेको थिएँ ।उनी अत्यन्त लजाएर सुनिरहेकी थिइन् । हुन् पनि किन नलजाउन मैले ओठ पसारेर धरै पटक चुप्प खाइसकेको थिएँ र आफु उत्तेजित भइरहेको छु पनि भनिसकेको थिएँ। पहिलो चोटी नै कसैसँग बोल्दा सामान्य महिलाले यी सबै कुरा कहाँ पचाउन सक्छन् र !
मेरा अनेक सवालमा उनको एउटै जबाफ थियो ” छाडा “। मैले उनलाई सम्झाउँदै भनें ” मन पराउनु ,प्रेम हुनु र माया गर्नु छाडा हुनु नै हो । असल प्रेमी बीच कुनै कुरा लुक्दैन र लुकाउन पनि मिल्दैन । यदि कुरा लुक्यो भने त्यहाँ प्रेम नभएर सम्झौता हुन सक्छ । देवताका पनि अनेक सम्बन्ध थिए ।हामी त मान्छे हौं । राधालाई पाएपछि कृष्ण पनि खुसी थिए र राधा पनि खुसी थिइन् । राधा पनि अर्काकै श्रीमती थिइन् ।”खुसी भएर बाँच्न एक असल प्रेमी हुनु पर्छ “कृष्णले भनेका थिए ।मलाई थाहा छ ,तिमीलाई पनि मेरो माया लागिसकेको छ । तिम्रो र मेरो प्रेम बीच कुनै तगारो आउन दिन्न ।हाम्रो प्रेम सुरक्षित हुनेछ । यसले कसैलाई हानि हुने छैन । मसँग प्रेम सम्बन्धमा रहेर तिम्रो श्रीमानलाई धोका देऊ म भन्दिनँ । म पनि मेरी श्रीमतीलाई धोका दिन्न । हामी हाम्रो घर बिगारेर विवाह गर्ने सर्तमा हैन गोप्य सम्बन्धमा रहने छौँ। तिमीसँग प्रेम भयो यो सत्य हो । कृपया मेरो प्रेमलाई स्वीकार गर । हामी प्राविधिक सम्बन्धमा हुनेछौं । कहिले भेटिन्छ थाहा छैन । मैले तिमीलाई अधिक मन पराएँ र माया गरेँ। मेरी आमा मेरो लागि भगवान हुन् । म आमाको कसम खाएर भन्छु । म तिमीलाई बर्बाद हुन दिन्न ।”

चट्ट फोन काटिदेलिन मनमा लाग्दा लाग्दै यसरी सबै कुरा एकै सासमा अविच्छिन्न भनिसकेको थिएँ तर फोन काटिनन् केवल सुनिरहिन्। उनको निर्दोष, लज्जालु र मायालु अनुहार हेरेर मेरो उत्तेजनाको छट्पटी अझै बढेको थियो ।उनलाई अँगालोमा बाँध्न चाहन्थें । उनीसँग यौनिक कुराहरू गर्दै आफ्ना ओठ पसारेर फेरि चुप्प खाई दिएँ । उनका लजालु नजर बिस्तारै उठेर झुकेका थिए ।अनुहारमा रिस थिएन चमक थियो । यसले प्रष्ट पारेको थियो उनी पनि प्रेमिल भइसकेकी थिइन्। मेरो यौन चाहना चरम भएर छटपटाई रहेको थियो । उनलाई हेरेर शान्त हुन चाहन्थें तर त्यसो गरिनँ। फोन राखेँ।उनको तस्बिरमा चुम्दै आफूलाई चरम चुलिबाट स्खलन गराएँ । त्यसपछि सन्देशमा आई लभ यु , चुप्प लेखेँ। पाँच मिनेटसम्म उनले जबाफ नदिएपछि मैले फेरि आई लभ यू,चुप्प लेखेँ ।त्यसपछि उनले आई लभ यू ! चुप्प लेखिन । म अत्यन्त खुसी भएँ। हाम्रो सम्बन्ध मायामा परिणत भयो ।

त्यसपछि हाम्रो दैनिक घण्टौं कुरा हुन थाल्यो ।भेट्दा र छुट्दा चुप्प र आई लभ यु नियमित संवाद बनेका थिए । जसरी म उनीसँग खुल्ला भएँ उनी पनि त्यसरी नै बिस्तारै खुल्ला हुँदै गइन् । हाम्रो प्राविधिक सम्बन्ध धेरै पटक भएको थियो । उनले मलाई अत्यन्त माया गरेकी थिइन् ।
उनी मेरो प्रेममा चुर्लुम्म डुबेकी थिइन । प्रेमको सुरुवात मैले गरेको भए पनि म प्रेममा त्यसरी डुबेको थिइनँ। यदि म प्रेममा डुब्थेँ भने त्यो भन्दा अगाडी राखेका हरेक सम्बन्ध मेरो मस्तिष्कमा आउने थिए ।कुनै पनि आएका थिएनन् ।उनी पनि मेरो मस्तिष्कमा आएकी थिईनन्। मात्रै नजरमा आएकी थिइन् । मैले उनलाई पहिले जस्तो धेरै समय दिनु पर्छ भन्ने सोचिनं। जब मेरो आनन्दको चुली सन्तुष्ट भएर खस्थ्यो तब म फोन राखी दिन्थेँ ।

यसरी वर्षौं बितेछ । हामी भौतिक दूरीमा निक्कै टाढा थियौ ।उनको संसारमा साँझ पर्दा मेरो संसारमा बिहान हुन्थ्यो । भौतिक दूरी टाढा भएपनि प्राविधिक कारणले नजीक भएका थियौ । उनका श्रीमान विदेशबाट फर्खिने समय भएछ ।उनले भनिन् ” हजुरसँग बोलेको कति छिटै पाँच वर्ष बितेछ है ! मेरो श्रीमान् आउने समय भयो ।पहिला जसरी बोल्न मिल्दैन होला। समय मिलेको बेला कुरा गरौंला है ! हजुरसँग नबोली बस्न म सक्दिन । कसरी कुरा गर्ने होला ! समय मिलाउनु पर्छ है ! ” मैले “हस ” भनेँ। उनका श्रीमान आएपछि अङ्गालो मारेका फोटा फेस बुकमा पोस्ट गरिन । मलाई किन हो ती फोटा देखेपछि डाहा भयो । त्यसो त मैले मेरी श्रीमतीको र मेरो फोटा पोस्ट गर्दा उनले कहिलै केही भनेकी थिइनन्। उनलाई पनि त डाहा हुन्थ्यो होला मैले पनि केही भनिनँ।

उनका श्रीमान आइसकेपछि केहीदिन उनी बेपत्ता भइन्।मलाई किन हो रिस पोख्न मन भयो । मैले संदेश पठाएँ। “तिमी अचेल बेपत्ता भयौ । तिमीहरूको जातै त्यस्तै हो । एउटा नभए अर्को गर्छौ । अर्को पाएपछि विर्सन्छौ । ” उनको जबाफ आयो -” हजुरलाई बिर्सन मैले मर्नु पर्छ। घरभरि मान्छे छन् ।समय पाएकी छैन ।” मैले घुरक्याउने निहुँले के के भने के के – विक्षिप्त भएर गाली गरिदिएँ । उनी भन्दै थिइन् ” हजुर यसरी बोल्ने मान्छे हैन ,यसरी बोलेर मलाई दुखे माथि नदुखाउनु होला ।उसै पनि हजुरसँग कुरा हुन नपाएर अत्यन्त दुखी छु । म हजुर बिना कसरी बसेकि हुँला । मलाई डाको छोडेर रुन मन लागेको छ । मेरा नसा नसा चिसिएर मुटु दुखे जस्तो भएको छ । म हजुरलाई हेर्न चाहन्छु तर हेर्ने वातावरण छैन । ठिकै छ म ट्वाइलेटमा गएर हजुरलाई फोन गर्छु ! कृपया फोन उठाउनु होला ।”

नभन्दै एकैछिनमा कल आयो मैले काटी दिएँ। उनले पटक पटक कल गरिन् मैले काटी रहें । उनले म्यासेज गरिन् । हस हजुर रिसाउनु भयो । म यहाँ बाध्य छु । माया नभएर मैले फोन नगरेको हैन । मेरो जीवन्तसम्म हजुरलाई माया गरिरहने छु । आई लभ यू ,चुप्प । मलाई छाती दुख्यो हस बाई । उनी केही बेरमा अफ लाइन गइन । यहाँ रात परेको थियो खाना खाएर सुतेँ ।श्रीमती निदाई रहेकी थिइन्। म निदाउन सकिनँ । उनी रोइन् होला बेकार गाली गरें भनेर पश्चाताप लागिरह्यो ।बेला बेलामा मोबाइल खोलेर हेरी रहें । पहिला त्यसरी म रिसाउँदा उनी अबेलासम्म अन लाइन देखिने मान्छे त्यो बेला उनी अहँ देखिइनन्। साच्चै त्यो रात म निदाउनै सकिनँ। म कसैको यादमा र पश्चातापमा ननिदाएको सायद त्यो पहिलो चोटी थियो । बिहानपख यसो आँखा लागेछ त्यो पनि झस्किएर विउँझिए फेरि मोबाइल हेरेँ । पहिला उनकै मेसेन्जर हेरेँ । त्यहाँ कुनै म्यासेज थिएन । त्यसपछि फेस बुक खोलेर हेरेँ । उनको तस्बीर झट्ट आयो ।स्टाटस हेरेँ मेरो मुटु बेजोड काम्यो , अलि तल सार्दै हेरेँ फेस बुक पेज भरि उनकै फोटा रहेछन् । डाको छोडेर रुन मन लाग्यो । हतार हतार ट्वाइलेट पसेर बेस तौली मुखमा कोचेर रोएँ । धेरै रोएँ । पश्चातापले रोएँ । प्रेमले रोएँ । लेखिएको थियो” हार्दिक श्रद्धान्जली ” हृदय घातले मृत्यु भयो । उनको मृत्युको कारण बनेर रोएँ । त्यसपछी अहिले सम्म नबिर्सिएर रोएँ। मैले उनलाई प्रेम गरेकै रहेछु। बल्ल बुझें प्रेम उपचार मात्र नभएर प्राण घातक रोग पनि रहेछ । म जीवन भर मानसिक रोगी भएर रोएँ । मेरी श्रीमतीकी साथी मेरी प्रेमिका मलाई माफ गरिदेऊ ।