दृष्टि - साहित्य सिर्जना साहित्य सिर्जना
  • २ पुष २०८१, मंगलवार
Logo

दृष्टि



-शारदा भट्टराई

छन्द : पञ्चचामर

नदी पहाड खोँचमा घुमेर बस्छ पाउमा !
उदार बन्छ जिन्दगी अशक्त बास गाउँमा !!
हिमाल हाँस्छ सान्तले खुलाइ दाँत लस्कर !
गुराँस फुल्छ प्रेमले स्वदेश काख सुन्दर !!

रहोस् सदैव पूर्णता नमार प्राण जीवको
रहन्न साथ के गरौँ फुलेर झर्छ फूल त्यो
छरेर धान बीजमा अनन्य शक्ति फल्दछ !
रहन्छ दृष्टि अन्नमा मनुष्य जीव बाँच्दछ !!

खडा छ हात काममा अनेक मार्ग हेर्दछ !
बहन्छ देश भावमा विकास पूर्ण घेर्दछ !!
गरीब हात जोड्नमा कठोर आङ ढाक्नको !
अभाव देख्छ को यहाँ शरीर धान्न बाध्य भो !!

हवा सुसेल्छ धानका झुलेर खेतमा सधैँ !
हिँडेर एक मार्गमा पुगिन्छ लक्ष्यमा सधैँ !!
धरा छ उर्वरी पना समस्त फाँट लेकमा !
चरा उडेर घुम्दथ्यो पहाड लेक भेगमा !!

सरक्क फेर्छ पालुवा वसन्त सार गर्वमा !
जुरुक्क उठ्छ ठाँटमा स्वदेश भूमि हर्षमा !!
उजाड छैन मौसमी प्रकाश दृश्य खुल्दछ !!
अथाह फल्छ शक्ति यो निरास साफ भुल्दछ !!