छुटाई (कविता)

-सुशील सापकोटा
बोटबाट
पात छुटेजस्तो
छुटेजस्तो
कहिले ओइलीएर
वा कहिले कोपिलामै
डालीबाट फूल
जिन्दगी पनि त छुट्दोरहेछ
पटक पटक
आफ्नै बोटबाट ।
छुटेजस्तो
कतै बाध्याताको झरीमा
रहरको सुर्य
वा छुटेजस्तो
टन्टलापुर मरुस्थलमा
बर्षातको रहर
जिन्दगी पनि छुट्दोरहेछ
पटक पटक
आफ्नै चाहनाबाट ।
एक कित्ताबाट छुटेपनि
जिन्दगीको लय
फेरि मिल्न जान्छ अर्को कित्तामा
छुट्नु, छुट्नु मात्र रहेनछ
भेटिनु पनि रहेछ
र रहेछ
छुट्नु अनिवार्य पनि ।
छुटेजस्तो
यात्राको सहयात्री
वा छुटेजस्तो
सहयात्राको यात्रा
फेरि छुटेर
पनि नछुटेजस्तो
वा छुटेजस्तो
नछुटेरपनि
छुटाइभित्रै एक
एकभित्रै छुटाई ।
कुनै अध्यायबाट
छुट्नु भनेको कहाँ छुट्नु मात्र हो र
छुट्नु भनेको त
अर्को नयाँ अध्याय भेट्नु पनि त हो ।
लेखक युगीन साहित्य समाज, नेपालका अध्यक्ष हुन् ।
