बिदेसिएको छोराको पत्र(कविता)

-प्रकाश शर्मा “आँसु”
विदेश आइ गरेको गल्ती आज म भोग्दै छु
कागज र कलम लिएर हजुर चिठ्ठी म लेख्दै छु
गाउँ र डाँडा वारि र पाखा सम्झना झल्झ्ली
खाडीको ठाउँ गर्मी छ हजुर पसिना खलखली
घर र खेत वारि अनि पाखा साहुलाई बन्धकी
पराइको गाली र घृणा सधैँ बित्ने भो जिन्दगी
नजाऊ भन्दै रुन्थ्यौ नि प्यारी बाटो नै छेकेर
बाध्यता विवश आउनु नै पर्यो पीडा यो बोकेर
नरुनु आमा तिमिले सधैँ छातीलाई पिटेर
नदेखे सपना हे मेरा बाबा दाँतलाई किटेर
एकै ठाउँमा जोडिएको तोडियो यो मुटु
तिम्रै यादले हरपल छोरा खाइरहन्छ कुटु कुटु
स्वाभिमानी गोर्खाली शिर विदेशमा झुक्दै छ
बनावटी मुस्कान भित्र पीडा यो लुक्दै छ
आज मेरो छायाले पनि मलाई नै धिक्कार्छ
मुटुको हरेक धड्कनलाई सोध नेपाल नै पुकार्छ
हे मेरा साथी हे मेरा भाइ तिम्रै छ सम्झना
स्वदेशमा फुलाऊ सुनै सुन निकाल पसिना
हिमाल रोला पहाड रोला रोहिरहला रानी वन
झलझली आउँछ आमाको मुहार कसरी बुझाऊ मन
यो कविता गीति लयात्मक कविता हो
