बिहे कहिले गर्नुहुन्छ ? - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

बिहे कहिले गर्नुहुन्छ ?



✍️हेमन्त गिरी

उनीहरुले मलाई
सोधिरहने प्रश्न हो यो-
बिहे कहिले गर्नुहुन्छ ?

साँच्चि,
कहिले गर्छु मैले बिहे ?
कसरी गर्छु मैले बिहे ?
को संग गर्छु मैले बिहे ?

दुनियाँले यत्रोविधि सोंचिरहने
मेरो बिहेको बारेमा
मैले किन कैलै सोंचिन ?

म प्रश्नसंग लड्छु एकैछिन !

लडिरहने दाई-भाउजुलाई सम्झिन्छु !

म प्रश्नहरुले रून्छु फेरि

रोइरहने दिदी-भिनाजुलाई सम्झिन्छु !

सम्झिए पछि,
सम्झाउनु पर्छ भन्ने सम्झिन्छु

आफैलाई सम्झाउँछु !

बा-आमाले बिहे गर्नुभयो
र त म जन्मिएँ !
मैले बिहे गरें भने न
कोही जन्मिएला !
कोही जन्माउनकै लागि पनि
मैले बिहे गर्नुपर्छ,म सम्हालिन्छु !

सम्हालिए पछि फेरि
म कहालिन्छु !
कोही र केही जन्माउनको लागि
गरिने काम बाट
अन्य केही र कोहीको मृत्यु भयो भने ?

मेरा सपनाहरु कुना पसे भने ?
मेरा रहरहरुले साथ छोडे भने ?
मेरो आत्मसम्मान
मेरो स्वभिमान
मेरो स्वतन्त्रता

मेरो उडान
सबैले पालै पालो आत्महत्या गरे भने ?

म प्रश्नहरु जन्माउछु
म प्रश्नहरु मात्रै जन्माउछु !

चलन भन्छ-
मैले त जन्माउनु पर्ने अरु कुराहरु हुन्
किन प्रश्न जन्माउँछु ?

केही र कोही जन्माउनकै लागि
गरिने बिहे अघि नै
यति धेरै प्रश्नहरु जन्मिइसके पछि
प्रश्न सोध्नेहरुलाई मेरो एउटै उत्तर छ अब

जुन दिन प्रश्नले प्रश्नहरुलाई प्रश्न गर्दा
उत्तरहरु जन्मिनेछन्
म त्यही दिन बिहे गर्नेछु !!

कसले गर्ला गुस्ताखी
उत्तरहरु बोकेर मेरो सामू आउने ?!

गिरि हाल जापानमा छन्