दानवीरको महिमा - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

दानवीरको महिमा



-काशी निर्दोष

अहँ म मान्दिनँ
जति सम्झाउनुहोस् मान्दिनँ
बरु भन्नू होस्
तँ मर् म मान्छु
तर एउटा कुरा मान्दिनँ
हो साँच्चै मान्दिनँ

हजारौँ वर्ष अँध्यारो गुफामा
अर्ध गेरुवस्त्र लगाएर
असङ्ख्य मन्त्र ध्वनि गुन्जाएका
कठोर साधना उपज
वेदव्यास म मान्दिनँ
परासर म मान्दिनँ
श्री कृष्ण मान्दिनँ
कुनै शास्त्र मान्दिनँ।

आस्तिकताको अक्षिबाट‌‌ै
म देख्छु चराचर जगत
आत्मामा ईश्वर राखेर
चिन्तनको सागरमा
खोपडीको दुई मुठी गिदीलाई तैराउँदा
मेरो ब्रह्म भन्छ
झुट हुन् वेदव्यास
परासर
श्री कृष्ण
झुट हुन् शास्त्रहरू !

जब पढ्छु देवीभाग्वत्
श्रीमद् भागवत् गीता
उपनिषद्
महाभारत
सुन्छु धर्मगुरुका प्रवचन
चुरो कुरो पाउँछु
कलिका मानव कन्जुस्याईका चिम्सा आँखा
स्वार्थको भारी
साँघुरो दिल बोकेर
खरायाको चालले
बुर्कुसीको जादु देखाउँदै
शीतको थोपाजस्तै बिलिन हुन्छन् धराबाट।

ए वेद व्यास
ए श्री कृष्ण
ए ऋषिगण
कहाँ छौ तिमीहरू
पदार्पण गर न कलिको धरामा
नियालन कलिको समाज
कलिका नेता
कलिका समाजसेवी कलिका मानवतावादी!

पुष्पक विमान चढेर होइन
पाउकष्ट गरेर
पुग गाउँदेखि सहर
तराई पहाड हिमाल
मेचिदेखि महाकाली
तब देख्ने छौ
नेता दानी
कार्यकर्ता दानी
सङ्घसंस्था दानी
सामाजिक अभियन्ता दानी
व्यापारी, उद्योगपति दानी!
भेट्ने छौ गल्ली गल्लीमा
चोकचोकमा
घरघरमा
चौतारी अनि चुलासम्म
रेष्टुरा देखि रिसोर्टसम्म
आर्यघाटदेखि अस्पतालसम्म
सदनदेखि सडकसम्म
धर्मज्ञदेखी धर्मछाडासम्म
जीवन्त दानवीरहरूको कुम्भमेला!

ए श्री कृष्ण
ए वेदव्यास
ए पराशर
मान्छे फेरिए
युग फेरियो
तसर्थ दानको रीत पनि थोरै फेरियो
तिमीहरू भन्छौ उत्तम वस्तु दान गर
बुझेर यसको सार यहाँ पनि
गरिन्छ दान यस्तो
उत्तम वस्तु आफ्नालाई
खत्तम अरुलाई
जस्तो चिलेसा परेर मक्किएको चामल
कुहिएको पिठो
चाउचाउ, विष्कुट, चिउरा
च्यातिएको त्रिपाल
फाल्ने ठाउँ नपाएर जम्मा गरिएका थोत्रा वस्त्रहरू!

तिमीहरूका पालामा गोप्य हुन्थ्यो दान
थाहा हुँदैनथ्यो होला सायद
को दिने हो को लिने
के दिए के लिए
गज्जब छ कुरो यहाँ अहिले
एक महिना अगाडि दुनियाले थाहा पाउँछ
तिम्रा पालामा पण्डितबिना सब‌ै दानअपूरो
यो कलिको कमालमा
पत्रकारबिना सबै दान अपूरो

दान दिँदा तिल कुस समाएजस्तै तिम्रो युगमा
कलिमा समाइन्छ क्यामेरा र मोबाइल
मन्त्रको ठाउँमा मच्चाइन्छ मन्तव्य र भाषणको चर्खेपिङ
तिमीहरुकोजसतो निराशापन र लक्ष्यहीनता त्यागेका
वैराग्यपनको को ताल मन नपराउने कलीका रङ्गीन दानवीरहरू
गर्छन् दान लक्ष्य प्राप्ति र आशाकै लागि
कोही भोटका लागि
कोही नोटका लागि
कोही लोकप्रियताका लागि
कोही भ्रम छर्नका लागि
कोही झुक्याउनका लागि
कोही सेलीब्रेटी बन्नका लागि
कोही भाइरल समाज सेवी कहलिनका लागि
नगन्य मात्र सेवा र धर्मका लागि

हे श्री कृष्ण
हे वेदव्यास
हे ऋषिगण
कलिमा दान लिने सिमित
दिने असङ्ख्य
दान दिइने मामुली प्रचार भयङ्कर
खर्च भयङ्कर
तडक भयङ्कर
मनकारी हजारौँ लाभान्वित नगन्य
यो दानजात्रा हेर्न
धरामा आऊ तिमीहरू
नत्र तुलसी माला एक्छिन जप्न छाडेर
फेसबुक र इन्टरनेटमा हेर
फुटाई देऊ झिरले यथार्थ देख्ने दिव्य चक्षु
लगाउ कलिको रङ्गीन चस्मा
अनि बिन्ती शास्त्र सच्याईदेऊ
अनि लेखिदेऊ कलिका मान्छे दानी छन्
अन्यथा म भनिरहनेछु
वेदव्यास झुट हुन्
ऋषिगण झुट हुन्
शास्त्र झुट हुन्
कलिका मान्छे दानवीर हुन्।