कवि हिमलाल ज्ञवालीको कृति र व्यक्तित्व ! - साहित्य सिर्जना साहित्य सिर्जना
  • २२ माघ २०८२, बुधबार

कवि हिमलाल ज्ञवालीको कृति र व्यक्तित्व !



—घनश्याम कोइराला

‘हामी कसैका बिँड र खुर्पा हुनुहुँदैन !’यो पङ्क्ति मात्र पढ्दा अहिलेकै परिवेशमा कुनै परिपक्व व्यक्तिले दिएको उपदेश पो हो कि जस्तो लाग्दछ । तर, त्यसो होइन, यो अभिव्यक्ति एकजना बहुआयामिक व्यक्तित्वको कविताको एउटा पङ्क्ति हो । यस पङ्क्तिबाट साहित्यको भूमिका स्पष्ट हुन्छ । कविले लेख्नुभएको  ः

खुर्पा ! तेरो अनुहार र अवस्था हेर्दा
दया लागेर आउँछ ! व्यवहार हेर्दा भने घृणा लाग्छ किनकि तेरो आफ्नो निजत्व नै छैन सुन्दर अनुहार छैन, असल व्यवहार छैन
ठुलो पहरो वा माटोको ढिस्को जस्तै ढुङ्गाको पहरो जस्तै कता हो कता ? कहाँ हो कहाँ ? तेरो पुर्खाको वासस्थान थियो फलामखानीको नामले तेरो मूल थलो थियो तर कहाँ ? ………………..
प्रयोगकर्ताले तँबाट लुकेर, नदेखिए ठुलाठुला अपराध गराइरहेको छ ।
नपत्याए हेर् त तेरो बिँड
बिँड !
ए बिँड जुन वृक्षबाट अलग्गिएर तँ अर्काको बिँड बनेको छस्
एक विशाल वृक्षलाई काटेर, गिँडेर, ताछेर तेरो निर्माण गरिएको

अर्कैको प्रयोगका लागि बिँड बनाइएको छ ।
तँ त्यसको बिँड बनेको छस् जसले तँलाई विशाल वृक्षबाट यति सानो आकारको बनायो,
बिँड बनाउन खुर्पा नै प्रयोग गरिएको छ खुर्पा र त्यही बिँड तँलाई प्रयोग गर्न तँसँगै गाँसिएको छ खुर्पा र बिँड !
तिमीहरू सँगै छौ खुर्पा नभए बिँड बन्दैन बिँड नभए खुर्पा प्रयोग गर्न गाह्रो पर्छ
तिमीहरू दुवै एक अर्कामा आश्रित छौ एक्ला एक्लै तिमी दुवैको प्रयोग र अस्तित्व छैन यति विघ्न सन्निकटता हुँदा पनि
तिमीहरू दुवै एक अर्काको मित्र हुन सक्दैनौ किनकि तिमी दुवै अर्कोबाट संचालित छौ
यसैबाट तिमीहरूले सिक्नुपर्दछ, बुझ्नुपर्दछ हाम्रो अस्तित्व हामीबाट रक्षित हुन सकेन हामीलाई अर्कैले उसको स्वार्थ अनुसार जन्म दियो र प्रयोग ग¥यो हामी जन्मभर सँगसँगै भएर पनि एक अर्काको सहयोग र आफन्त हुन सकेनौँ हामीलाई एक अर्काको विरुद्ध प्रयोग गरिरहेछन्

कविता लेख्दैमा कोही कवि बन्दैन, कविता नै नलेखी कवि बन्ने त कुरै भएन । अहिलेको राजनीतिक सामाजिक अवस्था हेर्दा कोही कसैका खुर्पा (हतियार) र कोही कसैका बिँड (स्वतन्त्र अस्तित्व नभएका सहयोगी) हरूको फुर्तीफार्ती निकै बढेको देखिन्छ ।
कविताका यी हरफ ‘हिमलाल ज्ञवालीका कविता’ नामक कविता सङ्ग्रहको हो । पुस्तकको नामबाट नै यसका लेखक को हुनुहुन्छ भन्ने उत्तर पनि स्पष्ट भएको छ ।

हिमलाल ज्ञवाली ! यो नाम फगत एउटा नाम मात्र होइन, यस नामभित्र अनेकौँ व्यक्तित्व अटाएको छ । पुस्तकका लागि लेखिएको शुभकामनामा लेखिएको छ, ‘माता मानकुमारी र पिता प्रेमनारायण ज्ञवालीका माइला सुपुत्रका रूपमा गुल्मीको भट्कुवामाजन्मिनुभएका ज्ञवालीले राजनीतिक कारणले नवलपरासी बसाइँ सर्नुपरेको थियो । राष्ट्रिय समाचार समितिको नवलपरासी प्रतिनिधिका रूपमा रहेर काम गर्नुका साथै उहाँले विभिन्न साहित्यिक पत्रपत्रिका प्रकाशन एवम् सम्पादन गर्दै आउनुभयो । ज्ञवालीकै पहलमा २०६९ सालमा अञ्चल स्तरीय लुम्बिनी वाङ्मय प्रतिष्ठान स्थापना भएको थियो । पछि २०७५ सालमा लुम्बिनी, राप्ती र भेरी अञ्चलका तीनओटा साहित्यिक संस्था एकीकृत गरी प्रदेश स्तरीय लुम्बिनी वाङ्मय प्रतिष्ठान गठन गर्नमा पनि उहाँको योगदान रह्यो । उक्त प्रतिष्ठानमार्फत कपिलवस्तुको बाणगङ्गास्थित कपिलधाममा ‘साहित्य तीर्थ’ स्थापना गरी भाषा, साहित्य, कला एवम् संस्कृतिमा योगदान पु¥याउने व्यक्तित्वहरूको शालिक निर्माणमा पनि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो ।’ कवि हिमलाल ज्ञवालीको सङ्क्षिप्त परिचयका लागि यी हरफ कम छैनन् ।

मानिस जन्मदासाथ उसले जात, थर, नाम केही नै नगरी पाएको हुन्छ, यो सबैले पाएकै हुन्छन् । यसलाई परिचय भन्न सकिन्छ । तर पहिचान भन्ने कुरा लिङ्ग पहिचानबाहेक अन्य पहिचान जन्मदा कसैले पनि ल्याएको हुँदैन । राम्रो होस् वा नराम्रो, पहिचान त मानिस स्वयंले बनाउनु पर्दछ, बनाएको हुन्छ, बनाएकै छ । हिमलाल ज्ञवाली मातापिता र पुरोहितले न्वारनमा राखिदिएको नाम र पुर्खाबाट प्राप्त जात र थरमा मात्र सीमित रहनुभएन । वहाँले समाजमा बेग्लै व्यक्तित्वको पहिचान बनाउनु भयो । लेखक, राजनीतिज्ञ, समाजसेवी, शिक्षासेवी, सांस्कृतिक अभियानकर्मी, विकासप्रेमी उहाँले आफै निर्माण गर्नुभएको पहिचान हो । समग्रमा वहाँलाई बहुआयामिक कर्मवीर सामाजिक अभियन्ता भन्न सकिन्छ ।

‘हिमलाल ज्ञवालीका कविता’ नामक सङ्ग्रह डा. हिरण्यलाल ज्ञवालीले सङ्कलन तथा सम्पादन गर्नुभएको कविता सङ्ग्रह हो । अनेकौँ पत्रपत्रिका, डायरीका पानामा छरिएर रहेका कविताहरूलाई सङ्ग्रहि तगर्ने काम आफैमा महत्वपूर्ण काम हो । यो काम कुशलतापूर्वक सम्पादन गरेर कर्मवीर व्यक्तित्वका विचार, भावना र अनुभवहरू जनसमक्ष ल्याइदिनुहुने डा. ज्ञवालीको यो प्रयास प्रशंसनीय रहेको छ । यतिबेला भावना मर्दै गइरहेका छन्, विचार सेलाउँदै गइरहेका छन् र अनुभवको औचित्य बिलाउँदै गइरहेको जस्तो देखिन्छ । काव्य—साहित्यलाई अनुत्पादनशील क्षेत्रका रूपमा परपर धकेल्ने प्रवृत्ति बढिरहेको समयमा कविताका रूपमा कोरिएका सन्देशलाई सङ्कलन गर्न जाँगर चलाउने डा.ज्ञवालीले यसको महत्व गतिलै गरी बुझ्नुभएको स्पष्ट हुन्छ । यस पुस्तकको प्रकाशन ‘हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठान’ले गरेको हो । यसको प्रकाशन २०७९ चैत्रमा भएको हो ।

यस पुस्तकका सङ्कलक तथा सम्पादकले पुस्तक प्रकाशनका क्रममा व्यक्त गर्नु भएको भनाइबाट यस कृति र कृतिकारका बारेमा स्पष्ट हुन सकिन्छ । उहाँ लेख्नुहुन्छ—

‘प्रस्तुत कृति हिमलाल ज्ञवालीको दोस्रो कवितासङ्ग्रह हो । ‘आफ्नै देश आफ्नै परिवेश’ नामक पहिलो कवितासङ्ग्रह प्रकाशन भएपश्चात् त्यसमा समावेश नगरिएका केही सुन्दर कविता र त्यसपछि लेखिएका कविताहरूमध्ये उपयुक्त कविता छनोट तथा आवश्यक परिमार्जन र सम्पादन गर्ने गहन अभिभारा उहाँले मलाई सुम्पनुभएको थियो । सोही प्रकृतिको कृति प्रकाशन गर्ने तयारी भइरहेकै बखत आकस्मिक रूपमा निधन भएकाले उहाँको जीवनकालमा यसको जन्म हुन सकेन र उहाँले यसको प्रकाशित स्वरूप देख्न पाउनु भएन तापनि आज यसको जन्म भएको छ । विशेषतः उहाँकी सुपुत्री तथा हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्ष सिर्जना ज्ञवाली र हिमलाल ज्ञवालीका परिवारजनका सत्प्रयासबाट उहाँको सदिच्छा पूर्ण भएको छ ; सपना साकार भएको छ ।’ पुस्तकका सम्पादक डा हिरण्यलाल ज्ञवाली लेख्नुहुन्छ, ‘हिमलाल ज्ञवाली नेपाली पत्रकारिता र साहित्यिक जगत्को सुपरिचित नाम हो । पहिलो सङ्ग्रहमा उहाँको व्यक्तिवृत्तका साथै साहित्यिक व्यक्तित्वको विशद चर्चा भएको छ । हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘स्मृतिमा हिमलाल ज्ञवाली’ नामक ग्रन्थमा पनि उहाँको समग्र योगदानको विशद चर्चा गरिएको छ । उहाँले साहित्यिक र समाचार दुवै खाले पत्रकारितामा विशिष्ट योगदान पुर्याएको पाइन्छ । उहाँले लालीगुराँसका माध्यमबाट साहित्यिक र त्रिवेणीका माध्यमबाट समाचार पत्रकारिताको परिचय दिनुभएको छ । समाचार पनि हतारको साहित्य भएकाले हरेक पत्रकारमा धेरथोर साहित्यिक प्रतिभा अन्तर्निहित भएको पाइन्छ । हिमलाल ज्ञवालीले समाचार पत्रकारिता मात्र नगरी साहित्यिक पत्रकारितासमेत गरेकाले उहाँको साहित्यप्रतिको रूचि स्पष्ट हुन्छ । त्यसैका उपज हुन् उहाँका साहित्यिक कृति ।’

‘यस सङ्ग्रहमा बद्धलय र मुक्तलयका गरी जम्माजम्मी छ्यालिसवटा कविताहरू समाविष्ट छन् । छयालीसवटामध्ये तीनवटा मात्र मुक्तलयका गद्य कविता छन् भने अरु त्रिचालीसवटा बद्धलयका कविता रहेका छन् । बद्धलय वा पद्यमा रचित त्रिचालीसमध्ये गीति र शास्त्रीय छन्दका कविताहरू रहेका छन् । शास्त्रीय छन्दअन्तर्गत अनुष्टुप्, शार्दूलविक्रीडित र उपजाति छन्दको प्रयोग गरिएको छ । आकारका दृष्टिले हेर्दा यसमा चार हरफे दुई श्लोक अर्थात् आठ पङ्क्तिका कवितादेखि लिएर बाह्र श्लोक अर्थात् अडचालीस पङ्क्तिसम्मका पद्य कविता सङ्गृहीत छन् भने गद्यमा रचित तीनवटा कवितामध्ये दुईवटा सामान्य आकारका कविता रहेका छन् भने ‘खुर्पा र बिँड’ शीर्षकको एउटा कविताले झन्डै खण्डकाव्यात्मक लामो कविताको स्वरूप ग्रहण गर्न खोजेको देखिन्छ । यसरी प्रस्तुत सङ्ग्रहमा विविध आकारका कविता सङ्गृहीत भए तापनि ती सबै कविताको लघुरूपअन्तर्गत पर्ने फुटकर कविता नै हुन् । एकाध अपवादलाई छाडेर कविता जहाँबाट थालनी भए पनि देशभक्तिमा विश्राम भएको देखिन्छ । त्यस्तै कतिपय कवितामा ‘विश्वशान्ति र वसुधैव कुटुम्बकम्’को भावनासमेत मुखरित भएको पाइन्छ । त्यसका अतिरिक्त ‘अहिंसा परमो धर्म’ भन्ने सनातन हिन्दु संस्कृतिको उच्च आदर्शलाई र ज्ञानविज्ञानको सम्बन्ध तथा महत्त्वलाई समेत यसमा प्रस्तुत गरेको पाइन्छ । केही अपवादलाई छाडेर यसका प्रायः सबै कवितामा अन्त्यानुप्रास अलङ्कारको उचित पालना गरिएको छ । सरलता, सहजता, साङ्गीतिकता, श्रुतिमाधुर्य आदि यसका उल्लेखनीय पक्ष हुन् । कवि ज्ञवाली शास्त्रीय छन्दका कवितामा भन्दा गीति र गद्य कविता लेखनमा बढी सफल देखिनुहुन्छ ।’

वि.स २००५ माघ १ मा जन्मनुभएका कवि हिमलाल ज्ञवालीको निधन २०७७ चैत १५ मा भएको हो । वहाँको निधनपछि वहाँका छोरी सिर्जनाको तत्परतामा वहाँका छोरा तथा अन्य आफन्त, शुभचिन्तक व्यक्तित्वहरूको सहभागितामा ‘हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठान’ स्थापना भएको हो । यही प्रतिष्ठानले दोस्रो कृतिको रूपमा कविता सङ्ग्रह प्रकाशित गरेको हो । यसअघि यस प्रतिष्ठानले ‘स्मृतिमा हिमलाल ज्ञवाली’ नामक ग्रन्थ प्रकाशित गरिसकेको छ । त्यस ग्रन्थमा वहाँको समग्र योगदानको विशद चर्चा गरिएको छ । कवि हिमलाल ज्ञवालीका अन्य साहित्यिक र साहित्येतर कृति खोजी गरी प्रकाशन गर्न र उहाँको बहुमुखी व्यक्तित्व जनसमक्ष ल्याउने काममा हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानले अझ धेरै काम गर्नुपर्ने छ र यसका लागि प्रतिष्ठानले योजनाबद्ध रूपमा अघि बढिरहेको पनि देखिन्छ ।
प्रस्तुत पुस्तकको इच्छा शीर्षकको कवितामा लेखएको यस श्लोकमा बढो मार्मिक विषयको उठान गरिएको छ —
‘आमाको सिउँदो पुछिन्छ दिउसै सन्तान भागे किन ?
रित्तो काख हुँदैछ आज यिनको आस्था गुमाए किन ?
मुग्लानी हुनुमै छ गर्व सबको भागे यहाँका युवा ।
चर्को घात भयो दया र ममता पाइन्न ऐले यता ।।’

प्रस्तुत श्लोकमा व्यक्त गरिएको अवस्थाको समाधान कहिले र कसरी गर्ने हो ? कसले गर्ने हो ? यस्तो प्रश्न यक्ष प्रश्नका रूपमा अनुत्तरित छ ।
‘मान्छेको जात नै आज मलाई लाग्छ बैगुनी । उपकारी सदाचारी छैन मान्छे कतै पनि ।। परोपकार पुण्याय आदर्श सूक्ति मात्र हो । दीन–दुःखीहरूलाई दया गर्ने यहाँ छ को ?’

मान्छेको मनोवृत्ति शीर्षकको कवितामा कविले यस्तो प्रश्न गर्नुभएको छ ।
कवि अरूसँग प्रश्न मात्र गर्नुहुन्न, वहाँले गर्नुपर्ने के हो भन्ने प्रश्नको उत्तर वा समाधान पनि दिनुहुन्छ ।
‘उद्यमी बन्नुपर्दछ’ शीर्षकको कवितामा वहाँ भन्नुहुन्छ ः
‘उब्जाई खेतमा अन्न जहान पाल्नुपर्दछ,
आलस्य मनको मैलो आफैले फाल्नु पर्दछ ।
रक्षा स्वदेशको गर्न चनाखो बन्नु पर्दछ,
बगाई पसिना आफै कोदालो खन्नु पर्दछ ।
परिश्रम गरेदेखि अभीष्ट पूर्ण हुन्छ रे,
हीरा मोती सबै वस्तु यही नै प्राप्त हुन्छ रे ।
आपसी मित्रता गाँसी अगाडि बढ्नु पर्दछ,
विकास पथमा लम्की सम्पन्न हुनुपर्दछ ।
कोदालो, हँसिया बेल्चा अन्ती र बन्चराहरू,
कृषि औजार हुन् हाम्रा किसानहरू हुन गुरु ।
विद्यार्थी हौँ सबै हामी यै विद्या लिनुपर्दछ,
माटामा पसिना पोखी उकाली चढ्नुपर्दछ ।
छिमेक गाउँ जिल्ला र समग्र यस देशमा,
कारखानाहरू खोली रमाउनु छ है यहाँ ।
नजानेका कुरा सिक्दै जान्ने काम पुरा गरौँ,
यै नेपाली धराभित्र अमूल्य पसिना छरौँ ।’

यस्ता अनेकौँ जिज्ञासा, प्रश्न र तिनका उपायहरू समेत कवितामा पाइन्छ । कविका रूपमा प्रस्तुत हुँदा वहाँका प्रश्नहरू र समस्याहरू जति चर्काउनुहुन्छ, कर्मक्षेत्रमा वहाँले अनेकौँ समाधानका प्रयासहरू गर्नुभएको छ । वहाँले योजना, शिक्षा, भौतिक विकासका क्षेत्रसँगै धार्मिक सांस्कृतिक क्षेत्रको सुधारका लागि आपूmलाई समर्पित गर्नुहुन्थ्यो ।
कविता सङ्ग्रह प्रकाशनका क्रममा शुभकामना सन्देशमा उल्लेख गरिएका निम्न पङ्त्तिहरूको अध्ययनबाट कर्मशील व्यक्तित्व हिमलाल ज्ञवाली तथा वहाँको कृतित्वबारे थप जान्न सकिन्छ । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई लेख्नुहुन्छ, ‘आप्mनै देश आप्mनै परिवेश (कविता सङ्ग्रह, २०७३) र समय– समयका कुरा (कविता सङ्ग्रह, २०७७) जस्ता कृतिका स्रष्टा ज्ञवालीले अन्य विभिन्न कृति प्रकाशन गर्ने तयारी गरिरहेकै बखत २०७७ चैत १५ गते उहाँको दुःखद निधन भयो । उहाँको अपुरो चाहनालाई पूरा गर्नका लागि प्रतिष्ठानका तर्फबाट भएको पहलको म सराहना गर्दछु ।’

लुम्बनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद लख्नुहुन्छ,‘यस काव्य सङ्ग्रहमा कीर्तिशेष ज्ञवालीले सामाजिक बिब्ल्याँटाहरूको खण्डन, पूर्वीय परम्पराप्रतिको गौरवबोध, सामाजिक न्याय, सामाजिक बेतिथि र लथालिङ्ग चालाप्रतिको आक्रोशपूर्ण चिरफार, समृद्धिप्रतिको निष्ठापूर्ण कामना, सांस्कृतिक पुनर्जागरण, विभेदरहित समाजको कामना, विपन्नहरूप्रति गहिरो सहानुभूति राख्नुभएको छ । यी कविताका भावले कविमा आधारभूत वर्गप्रतिको निष्ठा देखाउँछ ।’

सङ्ग्रहमा साना ठुला गरी ५० वटा कविता सङ्ग्रहित छन् ः १.इच्छा २.यो नेपाल सजाउँछु ३.पुगौं शिखरमा सब ४.मान्छेको मनोवृत्ति ५.अहिंसा परमो धर्म ६.देशवासी जुटौँ ७.उद्यमी बन्नुपर्दछ ८. देशकै गीत गाउँछु ९. अति सुन्दर यो देश १०. शुभकामना ११. देशको चिन्ता १२. अर्घाखाँची १३. मेरो गाउँ १४.देशको चाला १५. प्रतीक्षा ः स्वर्ण प्रभातको १६. आकर्षण १७. अमर माया १८.बराह क्षेत्र १९. उद्यमी बनौँ २०.हाम्रै माटो छ उर्वरा २१. युवा पिँढी २२.कसरी पार लाउने २३.कर्तव्य पालना २४. युवाशक्ति २५. कीर्ति रहोस् सञ्चित २६. जिन्दगी २७.माटो २८.बगेका छन् हीरामोती २९.संस्कृति विकृति ३०.हिम्मत नहारौँ ३१.लोभी–पापी ३२. मन भन्छ ३३.हे युवा ३४.खै बुद्धको लुम्बिनी ? ३५–३६ भन्न मन लाग्यो, ३७.नाता मासिन्छ ३८.खै के गरूँ ? ३९.संसारमा चम्कियुन् ४०.सधै पिरलो ४१.बलियो एकता ४२–४३ मेरी आमा, ४४–४५.हाँस्न जानिएन४६. शुभ–कामना ४७.नयाँ व्यवस्था ४८–४९ नमस्कार ! ५०.खुर्पा र बिँड कविता सङ्ग्रहका शीर्षक रहेका छन् । कविताहरू पुराना र नयाँ दुवै पुस्ताका लागि उत्तिकै उपयोगी छन् ।

वहाँको व्यक्तित्व, क्रियाशीलता देख्दा यी सबै विषयमा सहजै सहमत हुन सकिन्छ । नेताका भाषण सुनेर ताली बजाइन्छ, कलाकारका कलात्मक भाका लय र वाद्यवादन सुनेर, कलात्मक दृश्यहरू देखेर मन रमाउँछ । तर कविका कवितामा कुँदिएका विचार, दृष्टिकोण र समाधानप्रति चासो कम किन ? विचार, सवाल, जिज्ञासा, समाधानका उपाय कविहरूका कवितामा—साहित्यकारका साहित्यमा पनि पाइन्छ । यस क्षेत्रलाई अनुत्पादनशील विषय नठानौँ ।

अन्त्यमा, वहाँको कृति सङ्ग्रहका यी पङ्क्तिसँगै बिट मारौँ कि ?
मेरो यो मुटुभित्र रम्छ धरती धड्कन्छ माटोभरी,
नेपाली मन भित्र बस्छ सुखको सत्कर्मको बाँसुरी ।
ज्ञानी यी जनता जनार्दन बनून् सत्मार्गमा लम्किऊन्,
आफ्नै गौरव सीप बुद्धि बलले संसारमा चम्किऊन् ।
आफ्नै कर्म र धर्म रक्षित रहून् समृद्धि सानन्द होस्,
मर्यादा कुलको पवित्र मनले अर्पेर सम्मान होस् ।
नेपालीपनको विशाल मन होस् जागा सदासर्वदा,
हाम्रो लक्ष्य बनोस् सबै मिलिजुली आमा सिँगार्ने कला ।
बाँचाँै सत्य र शान्त जीवन लिई डाँडा पखेराभरि,
आफ्नै लेक र भेकको धुनभरी घन्काउँदै बाँसुरी ।
पाखा–पर्वत देश नै झिलिमिली पार्नू अझै पर्छ है,
आफ्नै कर्म र ज्ञानयुक्त धरती स्वर्गै बनाऊँ ल है ।