उ हराएको होइन - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

उ हराएको होइन



-ईश्वर ढकाल 

भिक्टोरिया पार्कको पल्लो छेउमा,
निर्वस्त्र पातविहीन,
झुस्रुन्ङ परेर,
चुपचाप उभिएको,
बुढो- म्यापल ट्री।

म ट्रेनको झ्यालबाट हरेक दिन देख्छु,
चार महिना भयो,
उस्तै छ।

हिउँको ढिस्को- ढिस्को दौडिरहेको रेल,
सेताम्मे हिउँको बेड कभर बिछ्याए झैँ,
बरफ हरूको बिचमा,
सानो जङ्गलको छेउमा,
केही थान रुखहरूसङै
चुप चाप उभिएको,
त्यो बुढो-म्यापल ट्री।

म उससँग तुलना गर्छु,
उसलाई केही भय छैन।
निस्फिक्री ठिङ्ग उभिएको छ- एक लहरले।

मान्छेहरू रेलभित्र मोला लगाएर चुपचाप छन्,
श्वास पनि फेर्न मिल्दैन,
बोल्न मिल्दैन,
नजिक बस्न मिल्दैन,
भनौँ भने,
मान्छेसँग मान्छे बोल्न मिल्दैन,
मोलाभित्रै थुक सर्किएर,
हाच्चियु,,,गर्‍यो भने-मान्छेहरू तर्सिन्छन,
खोक्यो भने डराउँछन्।

उसमा र हामीबिच यही त फरक छ,
उसलाई डर छैन,
उसलाई मास्क अनिबार्य छैन,
उसको  र अर्को रुखबिचमा दुरी तोकिएको छैन।
उनीहरू आफ्नै भाषामा बोल्छन,
सुसाउँछन्,
मान्छेहरूको लागि अक्सिजन फाल्छन्,
तर मेरो मुखमा मोला छ।

उसले फालेको अक्सिजन खान मिल्दैन,
म आफैले फालेको कार्बनडाइअक्साइडलाई,
माक्ससम्म फालेर फेरी निलिरहेकोछु।

कोरोनाको युगमा।

क्यानडा