को हो त्यो देश चलाउने हुतीहारा?

– वैकुण्ठ लामिछाने,हेटौडा
गणतन्त्रको स्खलित परिभाषाको
पृष्ठ भूमिमा उभिएर
बिच सडकको सालिक
सोधिरहेछ
खबरदार को हो त्यो देश चलाउने हुतीहारा ?
एकताको फ्ल्यास ब्याकमा उभिएर
इतिहासको भूतपूर्व समयको
ज्युँदो प्रमाण बटुलेर
त्यही इतिहासका धारिला अक्षरहरूले
रेटिरहेछ धमिलो गणतन्त्रको घाटी
र सोधिरहेछ गणतन्त्र ज्युँदो हुनुको स्पष्ट प्रमाण
रोइरहेपछि एकोहोरो भूगोलको गर्भ
आफ्नैहरुको प्रताडनामा
बजिरहेको छ शोक धुन पर सडकको कोखा सम्म
र त्यही धुनले
बेजोड तर्सिएको छ अन्तिम पटक श्वास तान्दै गरेको गणतन्त्र
बुख्याचाहरूको बुलेटबाट
अझै निस्किरहेको छ निस्तो भोकको भ्रम
रोइरहेको छ सडक
युद्धमा चोइटिएर बाचेको कमाण्डरको चुलोले
खोजिरहेछ
दफा र धारामा भोकको परिभाषा
सीमाको पिल्लरले खोजिरहेछ प्रेमील अभिभावकत्व
सन्धि सम्झौताले खोजिरहेछ
पुनरावलोकनको नयाँ अध्याय
उसैले इतिहासको रक्तिम पाना पल्टाएर
खोजिरहेछ समानताको स्कुलिङ
यसैको प्रतिउत्तरमा
जनलहरको सिम्हासनामा उभिएको छ एउटा ज्युँदो सालिक
त्यही देखेर थरथर कामेको छ महान् गणतन्त्रको मालिक
यत्ति बेला देश मागी रहेछ
राष्ट्रिय एकताको जगमा उभिएर
राज्यको संरक्षकत्व लिने
देश भक्तिको अलौकिक चेत बोकेको
नायकको क्रान्ति
बाइसे चौबिसे जस्तै प्रदेशको संरक्षक
चार जात छत्तिस वर्णको फूलबारीको माली
मागी रहेछ टिस्टाले आफ्नो नक्सा
मागी रहेछ, सतलजले भाइचाराको नमुना
देशले एउटा कौसल्यावती खोजिरहेछ
जो गर्भमा इतिहासको जस्तै पृथ्वी नारायण जन्माउन सकुन्
दिन सकुन् दीक्षा रामायण, महाभारत शुक्रनीतिको ज्ञान
जसले गरोस् नेपाली मनहरूमा एकलौटी शासन
भेटिओस् मनहरू एकीकरणको अभियानमा
मनका किल्ला किल्लाका गुन्जिओस्
समानताको प्रेमील आलाप
गणतन्त्रका जन्मदाता आफै निस्किनु अघि
गणतन्त्रको मलामी
निस्किएर समयले डिप्रेसन चेम्बरबाट
सोचोस् आफ्नै मस्तिष्कले
र
पसोस् अप्रेसन थिएटरमा
र
यो समयको वीरगति सँगै जन्मियोस् एउटा नायक
जो औला ठडयायार निर्धक्क सोध्न सकोस्
यो समयलाई
खबरदार ! को हो त्यो देश चलाउने हुतीहारा ?
