म हत्यारा हुँ

-दिपिका भण्डारी
म हत्यारा हुँ आफ्नै रहरहरूको,
आफ्नो इच्छालाई बेवास्ता गरी
यो पापी संसारबारे सोचे,
तर के पाएँ?
त्यही घमण्डीको ट्याग?
म हत्यारा भइसकेँ अब,
यो घमण्डलाई पनि सिद्ध्याउनेछु,
मबाट मलाई नै रित्याउनेछु,
आखिर कहिले सम्म सहनु,
बिना कारणका दोषहरू,
दोषी भए दोषी ठहराए हुन्थ्यो बरु,
तर आफ्नो बनी छुरा नघोप्ने गर्नु।।
म हत्यारा हुँ,
म हत्यारा हुँ आफ्नै हाँसोको,
यही हाँसोको चासो छ दुनियाँलाई,
छोरी मान्छे धेरै हाँस्नुहुन्न रे,
ए बरै,कुन वेदमा लेखेछ यो?
राधा त श्री कृष्णको प्रेममा मग्न भई
एक्लै मुस्कुराउँथिन भने,
म त मानिस हुँ,
म झन् के नमुस्कुराऊँ,
म नि मुसुक्क मुस्कुराइदिए।।
म हत्यारा हुँ,
म हत्यारा हुँ आफ्नै सपनाको,
मेरो अस्तित्व झल्काउने,
सपनालाई नि बाकी छोडिन छु,
चाहना हुंदाहुंदै नाइँ भन्न पुगेछु,
मन थियो अँगालोमा कसी ,
सपनालाई अङ्गाल्ने अनि पूरा गर्ने,
तर मारेका सपनालाई कसरी बटुल्ने,
के अब ती सपनाले मलाई स्विकार्लान् त,
मलाई विश्वास गरी साथ देलान् त?
