नदी र जीवन - साहित्य सिर्जना साहित्य सिर्जना
  • २९ कार्तिक २०८१, बिहीबार
Logo

नदी र जीवन



लेखक : भूपिन

पूर्वलिखित दुईवटा निबन्धहरू च्यातेपछि म ढुक्क भएको छु । अब म नयाँ निबन्ध लेख्न चाहन्छु । यो निबन्धको अन्त्य कसरी हुन्छ ? मलाई थाहा छैन । यो निबन्ध अन्त्य थाहा नभएको एउटा सुरुवात हो । जीवन पनि त अन्त्य थाहा नभएको एउटा सुरुवात न हो । मानिसले निष्कर्ष भेट्टाएको छ कि जीवनको अन्त्य मृत्यु हो तर मृत्युको आगमन कसरी हुन्छ, कसैलाई थाहा छैन । यो लेखिँदै गरेको निबन्ध र जीवनमा एउटा लोभलाग्दो समानता छ । यिनीहरू दुवैको अन्त्यको कुनै स्पष्ट टुङ्गो छैन ।

च्यातिएका दुई निबन्धहरूमध्ये पहिलोचाहिँ अलिक बढी भावुक प्रकृतिको थियो । अतिसय भावुक कविजस्तै । दसौँ ठाउँहरूमा ठेस लाग्ने अनावश्यक भावुकताको सौन्दर्य त्यसको प्राण थियो । आलङ्कारिक रूपमा भन्नु पर्दा त्यो त्यही असफल प्रेमी थियो, जो अतिसय भावुकताकै कारण प्रेममा असफल हुन्छ । साँचो प्रेममा कोही पनि असफल हुँदैनन्, तर त्यो मेरो हिसाबले असफल ठहरियो । एक समय म त्यसको प्रेमी थिएँ, आज त्यसैलाई च्यातिदिएँ । मलाई लाग्यो, म त्यस्तो निबन्ध लेख्न जन्मिएको होइन ।

दोस्रो च्यातिएको निबन्ध निकै महत्वाकाङ्क्षी लाग्यो आफैँलाई । विश्व विजयको निम्ति देशबाहिर निस्कन खुट्टा उचालिरहेको कुनै मध्यकालीन सम्राट्जस्तै महत्वाकाङ्क्षी । महत्वाकाङ्क्षाहरूको छालले काट्दाकाट्दा भत्किएको किनार, मेरो विगत । म यिनीहरूको हिर्काइले एउटा युगभरि घायल भएको छु ।

धेरैपछि पढ्दा लाग्यो, त्यो निबन्ध सिद्धान्तहरूको पहाडमुनि थिचिएको कुनै भरिया हो । त्यसले आफ्नो कमजोर काँधमा कुनै पहाड उचाल्ने धृष्टता गरिरहेको छ – कोरा सिद्धान्तहरूको । पढ्दापढ्दै मलाई अत्यास लाग्यो, इलियटको बञ्जर भूमिमा हिँडिरहेकोझैँ लाग्यो, प्यास लाग्यो । अनि मैले त्यो निबन्ध पनि च्यातिदिएँ ।

अब म बिलकुल सरल निबन्ध लेख्न चाहन्छु । प्रतीकात्मक रूपमा म यस लेखलाई ‘हिउँदको नदी’ भन्न रुचाउँछु । म अब हिउँदको नदीजस्तै सफा, पारदर्शी र शान्त निबन्ध लेख्न चाहन्छु र जीवनमा एउटा मात्र भए पनि च्यात्नु नपर्ने निबन्ध लेख्न चाहन्छु ।

विश्वका ठूलाठूला सभ्यताहरू नदीका किनारहरूमा विकशित भएका छन् । यदि छ भने मेरो आफ्नै सभ्यता पनि नदीको देन हो । म गहिरागहिरा खोंचहरू बनाएर बग्ने कालीगण्डकीको किनारमा जन्मिएँ । यही पानीे बग्न खोंच बनाउँदै गहिरिएपछि गुलजार भएको एउटा गाउँमा मैले जीवनको अर्थ खोज्ने अवसर पाएँ । बालककालमा त्यही नदीले वर्षौं लगाएर निर्माण गरेको अग्लो भीर हेरेर तर्सिन सिकेँ ।

अनुशासन सिकेँ । किशोरवयमा त्यही डिलबाट घाम उदाउने क्षितिज हेर्दै रहरहरूको इन्द्रेणी सजाउन सिकेँ । रुमानी कल्पनाहरूको घनाजङ्गलमा हराएर मजा लिन सिकेँ । कल्पनाको दुनियाँ कति सुन्दर हुन्छ, त्यो अनुभव गरेँ ।

हो, म कालीगण्डकीको खोेंचमाथि विकशित संस्कृतिको एउटा एकाइ हुँ । म त्यही डिलमा बसेर कालीगण्डकी बगेको हेर्दै कवि भएँ । कविताहरूमा त्यही नदीको प्रवाह र गतिशीलता राख्ने प्रयास गरेँ । मैले कविताको आत्मामा त्यही नदीको जस्तै पवित्र र कञ्चन पानी सिञ्चने प्रयास गरेँ । त्यही नदीलाई सम्बोधन गर्दै अनिश्चित भए पनि तिमीजस्तै बग्न चाहन्छु भनेँ । कालीगण्डकीमा मिसिने मोदी खोलाको गहुँगोरो पानी देखेपछि मानवताको गीत लेखेँ । वर्णभेद, जातिभेद र धार्मिक विभेदले डसेको मानव सभ्यतालाई पानीजस्तै मिसिन किन नसकेको होला भनी प्रश्न गरेँ । विद्रोहको कवितात्मक तान बुन्न पनि मैले त्यही पानीको धागो प्रयोग गरेँ । जीवनको समग्रता आफ्नै हैसियतमा लेख्न पनि मैले त्यही पानीको मसी प्रयोग गरेँ । मैले मेरा कविताहरूलाई त्यही हिउँदको नदीजस्तै बनाउने कोसिस गरेँ । म कविताहरूमा पानीमय भएँ । नदीमय भएँ ।

नदीको मेरुदण्ड देखिने कञ्चन पानी हेर्दै म एकदिन प्रेमी भएँ । कवि भएर प्रेमी भएँ । प्रेमी भएर कवि भएँ । त्यही नदी हेर्दै महसुस गरेँ कि कविता एउटा प्रेममय यात्रा रहेछ । पानीले ओरालोलाई प्रेम गरेजस्तै कविले कला र विचारको अविषेक दिएर सत्य, आस्था, उज्यालो र आशालाई प्रेम गर्दोरहेछ । विवेक र असलपनलाई पूजा गर्दोरहेछ । नित्सेले दिउँसै लालटिन बालेर ईश्वर खोजेझैँ विश्वासको टुकी बालेर मान्छे खोज्दै मान्छेलाई नै प्रेम गर्दोरहेछ ।

हिउँदको नदी मेरो मनपर्ने गुरु हो, चित्रकार र सङ्गीतकार पनि हो । म सधँैसधँै निर्जीव संचेतनाले बाँच्ने यो गुरुबाट धेरै कुराहरू सिक्न प्रेरित हुन्छु । हर्मन हेसको महान् उपन्यास सिद्धार्थको पात्र वासुदेवझैँ नदीलाई सुन्न म अत्यन्त मन पराउँछु । गुरुदक्षिणाको अपेक्षाविना त्यसले मलाई धेरै कुराहरू सिकाउँछ । म सिक्ने कोसिस गर्ने एक सामान्य विद्यार्थीजस्तै हुँ । पानीका भावहरूमा, पानीका संंवेदनाहरूमा, पानीमा स्वच्छताहरूमा हरदम म पानीको संस्कति सिकिरहेको हुन्छु । मलाई पानीको भाषा पनि असाध्यै प्रिय लाग्छ हिउँदमा । कति शिष्ट हुन्छ नदीको भाषा हिउँदमा ? र त्यही शालीनतामा उसले रचेको हिउँदे सङ्गीत मैले जीवनमा सुनेको सबैभन्दा आत्मिय सङ्गीत हो । सबैभन्दा प्रिय सङ्गीत हो ।

मलाई नदीहरूको नलेखिएको संविधान मनपर्छ । नदीले स-साना खोलाहरूलाई पनि सागरसम्मको यात्रा गर्न सहयोग गर्छ । सागरमा विलिन हुनु प्रत्येक खोलाहरूको अभीष्ट हो । समुद्रमा पुगेर नै उनीहरूले आफ्नो मनोकाङ्क्षा र सपना पूरा भएको महसुस गर्छन् । मिठा सपनाहरू बोकी बग्ने तिनीहरूको सपनाको स्वर्ग पुग्ने रहर नदीहरूले नै पूरा गर्दछन् ।

मलाई नदीहरूको लिपिबद्द नभएको गीत मनपर्छ ।

मलाई नदीहरूको लिपिबद्द नगरिएको सङ्गीत र स्वर मन पर्दछ ।

म नदीको छेउमा उभिएर जीवन सोच्छु । म जीवनको छेेउमा उभिएर नदी सोच्छु । नदी र जीवन मलाई धेरै अर्थहरूमा उस्तैउस्तै लाग्छ । नदी गतिशील छ, प्रवाहमय छ, तरङ्गमय छ । पल-प्रतिपल किनार ताकेर उठिरहेका लहरहरूले नदीका सपनाहरू बोकी हिँड्छन् । क्षण-प्रतिक्षण मनमस्तिष्क ताकेर हिँडिरहेका आशाहरूले मानिसका सपनाहरू बोकी हिँड्छन् ।

आँखाहरूबाट उदाउने सपनाहरूको घाम जीवनसँग छ । मनको अनाम गहिराइबाट हरदम निस्किरहन खोज्ने रहरहरूको ज्वालामुखी यससँग छ । नदीसँगजस्तै स्वच्छताका गन्न नसकिने तरङ्गहरू जीवनसँग छन् । नदीसँँगजस्तै अभेद्य रहस्यहरूको भूगोल छ । नदीले जस्तै प्रेम गरिरहेको अनन्त सम्भावनाको आकाश छ । नदीले जस्तै खोजिरहेको विराट गन्तव्य, नदीले जस्तै अभ्यास गरिरहेको समानताको अध्याय, नदीले जस्तै कहिल्यै नसुक्न भेट्टाएको आस्थाको हिमाल मानिसलाई पनि उपलब्ध छ । हो, मनको फराकिलो भूमिमा कोसाँै टाढासम्म देखिने दुःख र अभावका विकट हिमालहरू छन् । हिमस्खलन भैरहने, ज्यानै उडाउने हिमआँधि चल्ने, फ्रोस्टबाइट हुने, खुट्टा चिप्लिने, अक्सिजन सिलिण्डर छुट्ने आदि थुप्रै सम्भावनाहरू छन् तर जीवनको पर्वर्तारोहणमा सफल पर्वतारोहीले कहिल्यै हार मान्दैनन् । जो हार मान्छन्, तिनीहरू कसरी आरोही हुन्छन् ? जीवन पर्वतारोहण पनि हो, नदी पनि हो ।

हिउँदको सफा नदीमा त्यस वरपरका धेरै बस्तुहरूको प्रतिबिम्ब देखिन्छ । मान्छेको मनमा उसले सजाएका धेेरै रहरहरूको प्रतिच्छाया भेटिन्छ । एउटै सर्त छ, नदी वा मन सफा हुनुपर्छ । धमिलो पानीमा बस्तुहरूको बिम्ब देखिने सम्भावना अत्यन्त कम हुन्छ । देखियो भने पनि त्यो त्यति प्रस्ट हुँदैन । धमिलो मन/हजारौँ कुटिलताहरू, अपवित्रताहरू मिसिएको मन पनि त्यस्तै हो । न त्यो आफैँ प्रस्ट हुन्छ न त्यसले मानिसका सपनाहरू अरूले बुझ्न सक्ने बनाउँछ । न त्यसले मानिसका रहरहरू बुझ्न सक्ने बनाउँछ । विकशीत मनोविज्ञानलाई पनि थाहा छ मानिसको मन जटिल कविता जस्तो बुझ्न गाह्रो छ । जति यो सफा हुँदै जान्छ, त्यति प्रस्ट र सजिलो हुँदै जान्छ । वषर्ादले पखालेको सफा जङ्गल जस्तो, सफा आकाश जस्तो हुन्छ । मनलाई दुर्भावनाहरूले धमिलो र जटिल बनाउँछन् । प्रेमभावहरूले सफा र सहज बनाउँछन् । त्यसकारण मलाई हिउँदको नदी मन पर्छ । हिउँदको नदी सफा मनजस्तै हुन्छ ।

हिउँदको नदीलाई आकाशको रङ प्राप्त छ । मनलाई सपनाहरूको । हिउँदको नदीलाई धर्तीको आशीर्वाद प्राप्त छ । मनलाई आकाङ्क्षाहरूको ।

हिउँदको नदीलाई समस्त प्रकृतिको उज्यालो प्राप्त छ । मनलाई आशाहरूको । रहरहरूको । जति अग्लो बाँध बाँधे पनि नदी बग्छबग्छ । आफूलाई छेक्न ठडाएको बाँधबाट हाम्फाल्दै गर्दा नदीले बाँधलाई, भनिरहेको हुन्छ, ‘मलाई धर्ती सिञ्चदै समुद्रसम्म पुग्नु छ । मेरो धर्ममा म प्रतिबद्ध हुँदा तिमीलाई दुःख लाग्छ भने मलाई माफ गर ।’

जति अङ्कुश लगाउन खोजे पनि मानिसले मुक्ति खोज्छखोज्छ । दिव्य सपनाहरूको खेती गर्न प्रतिबद्ध मानिसलाईर् अँध्यारो शासनले अठ्याइ राख्न खोज्नु नदीलाई बाँध बाँधेर छेक्नुजस्तै हो । केही समय त्यो थामिए जस्तो लाग्छ, रोकिए जस्तो लाग्छ तर त्यसको गतिशीलता बाँधको अग्लो चुलीबाट झरनाझैँ खस्छखस्छ ।

मलाई हिउँदको नदी मनपर्छ ।