युगले बनाएको देश - साहित्य सिर्जना साहित्य सिर्जना
  • २ पुष २०८१, मंगलवार
Logo

युगले बनाएको देश



केही दिनदेखि म वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको नजिकमा छु, बिद्यार्थी जीवनदेखि नै उहाँका पुस्तकहरु पढ्थें र प्रभावित भएकी थिएँ । नेपालमा रहँदा उहाँसँग भेट्नको लागि म आतुर थिएँ तर समयको प्रवाहसँग के लाग्छ ! विदेश पसेको पनि धेरै वर्ष भएछ, भाग्यले भेट गराउँदो रहेछ, अमेरिकाको बोस्टन शहरमा उहाँसँग भेट्ने मौका पाएँ ।

बोस्टनका सिर्जना उत्सवका साथीहरुको निमन्त्रणामा हामी न्यु योर्क सृजना यात्राका साथीहरु त्यहाँ पुगेका थियौं, कार्यक्रम धेरै रमाईलो भएको थियो । बोस्टनका सिर्जना उत्सवका साथीहरु क्रमश: साहित्यकार गोवर्धन पुजा, महेश्वर पन्त, दीपा राई पुन, अनु शाह, ममता बज्राचार्य र अन्य साथीहरुले देखाउनु भएको सत्कार हामी न्यु योर्क वासीहरुले भुल्ने छैनौं । कार्यक्रम भाषा-साहित्यको लागि उहाँहरुले चलाएको कदमलाई सम्मान गर्नै पर्छ । जाल घिमिरेले देखाउनु भएको सौहाद्रताप्रति हामीहरु आभारी छौं, उहाँकी श्रीमतीको पिडा त छँदैछ, क्यान्सर रोगले उहाँकी श्रीमतीलाई सताएको छ तर पनि आफ्नो परिश्रमलाई नेपालीहरुको लागि खर्च गरिराख्न्नु भएको छ, उहाँको रेष्टुरेन्टमा देखाउनु भएको नेपालीपन र सत्कारको कदर गर्नै पर्छ, नेपाली हुनु पर्दछ त जाल घिमिरे जस्तो ।

बोस्टनको सिर्जना उत्सव कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितसँगको भेटघाटले मैले नौलो अनुभुति गरिरहेकी थिएँ, उहाँका शब्द-शब्दहरुमा राष्ट्रप्रेम बोलेको थियो, माटो बोलेको थियो, मान्छेका आ-आफ्ना सिद्धान्त, बिचारहरु हुन्छन् तर मातृभूमिको लागि जसले मरिमेटेको छ त्यो पक्कै पनि राष्ट्रप्रेमी, देशप्रेमी हो, उहाँमा मैले त्यो देखेकी थिएँ । कार्यक्रमको समापन पछि हामीहरु न्यु योर्क फर्कियौं । त्यसको भोलिपल्ट साँझमा समाजसेवी सीता खरेल दिदीको घरमा पुगेकी थिएँ, त्यहाँ फेरि वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित र उहाँकी धर्मपत्नी कविता पौडेलसँग भेट भयो, श्रीमती कविता पौडेलको जन्मदिन रहेछ, सार्है रमाइलो भयो । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितका देशप्रतिका चिन्तनहरु सुनें, उहाँका शब्द-शब्दहरु केलाएर हेरें, उहाँका शब्दहरुमा राष्ट्रप्रेम बोलेको थियो, उहाँले राजनीतिबाट सन्यास लिनु भएछ, उहाँ अब साहित्यकार मात्र रहनु भयो ।

उहाँकै शब्दमा युगले बनाएका कुराहरु नबिगारौं, साना-साना कुराहरुका लागि विदेशीहरुको चाकडी नगरौं, गौतम बुद्धको देश, पृथ्वीनारायण शाहको देश, आदि-आदि कुराहरुले मेरो मन रसायो, आँखा रसाए, साँच्ची नै आज हाम्रो देशको मन रोएको छ, राष्ट्रका आँखाहरु रसाएका छन् । देशमा यस्ता राजनेताहरु भए जसले देशको भौगोलिक अवस्था बुझेका छैनन्, जो देशको भूगोलसँग अपरिचित छन् त्यस्ता नेताहरुले के देश बनाउँछन् ? ईश्वरको अनादर गर्ने, प्रकृतिसँग खेल्न खोज्ने, युगले बनाएका कुराहरुलाई सिंगारेर राख्न्नु पर्नेमा तोडफोड गर्ने यस्ता नेताहरुको मात्र विगविगी रह्यो । अफसोच ! उहाँ जस्ता भावना र विचारका धनी सायद कमै होलान् नेपालमा ।

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितका केही कुराबाट म झनै प्रभावित भएँ, उहाँकै शब्दमा हाम्रो देश धेरै कुरामा धनी छ, सबै भन्दा धनी त भाषामा छ, हामी शब्दका धनी छौं तर अर्काका शब्दहरु प्रयोग गरेर हाम्रो भाषालाई गरीब बनाउन खोजिरहेका छौं । साँच्ची नै उहाँका शब्द-शब्दहरु केलाएर हेर्ने र सुन्ने हो भने हामीहरुमा केही परिवर्तन आउने छ, देशले निकासको बाटो पाउने छ, विचारहरु आ- आफ्ना ठाउँमा छन् तर देशको लागि हामीहरुले एउटै विचार लिनुपर्दछ । मन-मनबाट राष्ट्रप्रतिको सोच सकारात्मक हुनु पर्दछ ।

अत: हाम्रो देश नेपाललाई उहाँ जस्तै थुप्रै मोदनाथ प्रश्रितको खाँचो छ भन्नमा अत्युक्ति नहोला ।

कमला प्रसाई
न्यु योर्क,अमेरिका