शहीदप्रति-कविता - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

शहीदप्रति-कविता



-विजय मल्ल 

तिमीले सुस्तरी,
सुस्तरी
आफूलाई बिर्सेझैं गरी
एक दिन भनेको सुनें—
म शरीर–विहीन भावना मात्र रहन चाहन्छु ।
कसैको छातीमा मीठो सम्झना भएर,
बिलाउन चाहन्छु
मिसिन चाहन्छु ।
नभन्दै,
एक दिन ठूलो हुरी आयो,
एक दिन ठूलो तुफान आयो,
तिमीले गरेको संकल्प
तिमीले पूरा गरिछाड्यौ ।
तिमी शहीद बन्यौ
तिमी भावना मात्र शेष रह्यौ ।
तर अफसोस !
तिम्रो त्यस सम्झनालाई बोकेर हिंड्न सक्ने
एक पनि
यस दुनियाँमा रहेनन् ।
एक पनि भएनन् ।