सियो-कविता

जनक कार्की
एउटा सियोको आवश्यकता छ
यतिबेला
जसले सिउन सकोस्
हिमालका पग्लेका हिँउहरू
हिमपातका कपासहरूले
एउटा सडक सिउनु छ
नागबेली आकारको
तराईदेखि हिमाल जोड्ने
त्यही सडकमार्गमा
आयात र निर्यात गर्नुछ
भाषा, कला, संस्कृति
भाइचारा ,एकता,आत्मीयता ।
अनि सिउनु छ
एउटा राष्ट्रिय ध्वजा
र नहल्लने गरि गाड्नु छ
हिमालको शिरमा।
सिउन पर्ने धेरै कुरा थिए
तर यति बेला देश व्यस्त छ
लासको पोस्टमार्टम सिउन ।
