मान्छे (कविता) - साहित्य सिर्जना साहित्य सिर्जना
  • २४ कार्तिक २०८१, शनिबार
Logo

मान्छे (कविता)



स्वार्थी यो दुनियाँ घुमेछ जसरी मेरो र तेरो भनी
आँखा बन्द गरी बसेर मनको डुब्दै छ मान्छे पनि
मान्छे बिक्छ यहाँ बजार पथमा मौका यही हो भनी
धर्ती स्वर्ग हुनेछ यो मनुज ती बन्दा मनैका धनी

कोही घुम्छ यहाँ कठै रहरमा बेचेर आफ्नैपन
लोकाचार गरी कतै सहरमा टिक्दै छ मान्छे यहाँ
सेवा स्वार्थ बन्यो कठै फगत याँ आत्मीयता खै कहाँ?
कस्तो दुर्दिन यो भयो जगतमा भड्क्यो कि आत्मा यहाँ

द्यौराली मठमा चढाउँछ सधैँ भेटी र फूलै पनि
राखेको छ यहाँ महा व्रत अझै नासिन्छ पापै भनी
सच्चा दृष्टि भए त यी नजरले देख्ने छ राम्रै यहाँ
ऐनाको नजिकै बसेर मनको देखिन्न मैलो यहाँ

मौकामा सबका भए नजिकका आफन्त जस्तै गरी
गौप्राणी जनता परेर वशमा धोका त खाए कति
भ्रष्टाचार कतै उसै तरहका आचार झूटा भए
नातावाद बढी दरिद्र घरमा बत्ती नबल्ने भए

को देख्ला मनमा छ राम मुखमा चल्दै छ उल्टो गति
बानी भो ननिको बन्यो असुर झैँ बिग्य्रो कि उस्को मति
नाफा हेर्छ सधैँ कदर्य मनले फेर्दैै छ चाला अति
बानीमा नगरे सुधार नरले भोग्नेछ ठूलै क्षति

भोको पेट भरौँ बुझी मनुजको पीडा र बेथा अब
माटोमा पसिना छरौँ मनुज हो बाँचौँ बचाऊँ अब
लोभी भै नरले लडाइँ झगडा छाडौँ न छाडौँ अब
धर्तीमा सबले मनुष्यपनको आस्था जगाऔँ अब

– पुरुषोत्तम पाण्डेय,
तिलोत्तमा-३, रूपन्देही