आफ्नो गाउँ घुम्दा......(यात्रासंस्मरण) - साहित्य सिर्जना साहित्य सिर्जना
  • ६ पुष २०८१, शनिबार
Logo

आफ्नो गाउँ घुम्दा……(यात्रासंस्मरण)



दलबहादुर गुरुङ

तिहार आउँदा सानामा खुबै रमाइलो लाग्थ्यो । नयाँ लुगा लगाउन पाइने । सेलरोटी चपाउँदै देउसी,भैलोमा नाचिन्थ्यो । भैलो खेल्दै, पैसा बटुलेर दोभान खोला किनारमा वनभोज खाइन्थ्यो । रिलवाला क्यामेराले फोटो खिचिन्थ्यो । कहिले क्लबको नाममा भैलो खेलेर मन्दिर बनाइन्थ्यो । बाटो मर्मत गरिन्थ्यो । भैलो खेलेर उठेको पैसाले भ्रमण पनि गइन्थ्यो । यी रमाइला दिनहरू सदाका लागि गएजस्तै लाग्छन् अचेल । देउसी,भैलो खेल्ने साथीहरूमध्ये महिला साथीहरूका बिहे भएर परपर गाउँ सहर पुगिसकेका छन् । कति परदेशतिर छन् । पुरुष साथीहरू झन् कता हो कता ? भेट्नै मुस्किल भइसक्यो ।

यसपालिको गाई तिहारमा आफ्नै गाउँ मज्जाले घुमियो । पहिला पहिला सहर जाने रहरले मनै लोभ्याउँथ्यो । अचेल सहरबाट गाउँ जानु,त्यहाँको वस्तुस्थिति र परिवेशसँगै आफूलाई दाँज्नु,गाउँलेका दुःख,सुखका कुरा सुन्नु मनभरि अनेक प्रश्न उब्जाएर फेरि सहर ताकिनुको अनेक कारणहरू खोज्नु बाध्यता र विवशता छन् । मेरो जन्म घर पाल्पाको तिनाउ वडा नं. २ को कालिका टोलमा पर्छ । गाउँपालिकाको नयाँ भवन र वडा कार्यालयको छेउमै मेरो पुरानो घर छ । घर त छ तर परिवार छैनन् । कोही परदेश गए । कोही बटौलीतिर छौँ । कोही गाउँमै भए पनि नयाँ ठाउँमा छन् । सबै आआफ्नै बाध्यताका पटुकी कसेर आफ्नै जीवनयात्रामा छौँ ।

यही सोमवारको बिहान नेपाल व्यावसायिक कलाकार सङ्घ,रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापासँगै तिनाउको सिद्ध बाबामा भेट गएर दोभान पुग्यौँ । त्यति बेला बिहानको नौ बजिसकेको थियो । घोडेबासमा पुग्दा पाध्यबाजेले घर अघि आफूलाई पारिलो घाममा सुकाएका थिए । शेरबहादुर थापा दाइले बाटोमून्तिरको दुकानमा चुरोटको धूवाँ उडाउँदै थिए । हामी भने मोटरसाइकलमा बेतोडले उड्दै थियौँ । डोलमा कमल,बाबुराम थिएनन् । उनीहरूका टिप्पर भने ठिङ्ग उभिएका थिए सेक्युरिटी गार्डझैँ । पासकुण्डा गाउँमा कालिका आधारभूत विद्यालयका प्रअ पर्शुराम लम्सालसँग खेतमा भेट भो । उनले खेत सिञ्चित गर्दै थिए । उनका दाइ भोगप्रसाद भने घरअघि तरकारी केलाउँदै थिए ।
खुर्साने गाउँ पुग्नु अघि हामीले पारि पाखामा रहेको बगाह गाउँको फोटो खिचियो । लक्ष्मण जिसीको घर पारिलो घामले गर्दा झलल देखिन्थ्यो । उनकी बहिनी कुमारीको घर देख्यौँ तर उनलाई भने टाढा भएर होला देखेनौँ । अघि बढियो । माथिल्लो खुर्साने गाउँका हिमाल खातीसँग टाढैबाट कुराकानी भो । उनले रानी झरना हेर्न आउने पर्यटन झुक्किएर यता आएका हुन् कि झैँ मानेका रहेछन् हामीलाई । सन्चो,बिसन्चो कुरो गरियो । यही गाउँमा वडा नं. २ वडापालिका सदस्य शान्ति विकको घर पनि । उनलाई भने देख्न,भेट्न पाइएन । कारण हामी माथि गाउँमा गइएन,उनी बाटामा थिइनन् । प्रकाश विकलाई पनि देखिनँ ।

कुँडापानी पुगियो । कुर्मान खोला तरियो । डाँडालाई खुइलाइएर हिमालजस्तै बनाइएको रहेछ । सर्वोत्तम सिमेन्ट कारखानाको करामत रहेछ त्यो । हामीले खोला तरेर तालगाउँतिर उक्लिदा एउटो पाखोमा उभिएर,त्यो हिमालजस्तो डाँडोलाई इन्सेटमा राखेर फोटो खिच्यौँ । बेनुले दङ्ग परेर पत्रकारलेजस्तै प्रश्नका ओइरो तेर्साए मलाई । चुन खानीका बारेमा सोध्न मन लागे जति प्रश्न गरेर थाकेपछि फेरि उकालो लागियो । ताल गाउँको मिलन चोक नजिकै जन आधारभूत विद्यालयका प्र अ भीमबहादुर चिदीको पसल छ । त्यहाँ इन्टरनेट जोडिएकाले सामाजिक सञ्जाल चलाउन गाउँलेहरूको कुम्भमेला लाग्ने कुरा मैले ज्ञानोदय मावि,ओखलढुङ्गाका व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर घर्तिमगरबाट थाहा पाएको थिएँ ।

त्यही भेट भयो धनबहादुरसँग पनि । भीम सरकी कान्छी बुहारीले हामीलाई पानीले स्वागत गरिन् । मेडमले सेलरोटी फन्काउँदै थिइन् । रोटी चाख्नु हुन्छ र भन्लिन् भनेको त लाजले पो मुख छोपिन् । भीम सर भने घरतिर लागेका रहेछन् । एकछिन बात मारेर हिँडियो । जन आधारभूत विद्यालय हुँदै ज्ञानोदय माविका शिक्षक लोकबहादुर सुनारी सरकहाँ । बाटामुनिको घरमा बोका काटेर भागको पसारो लगाउँदै थिए । एक जना बहिनीले बार्दलीमा सिलाई कटाइ मेसिन दौडाइ रहेकी थिइन् खररर …..पार्दै ।

लोक सरकहाँ पुग्दा उनका सबै परिवार घर अघि आआफ्ना कर्ममा तल्लीन देखिन्थे । उनका बाबा नेपाल प्रहरीको हवलदारबाट निवृत्त भएका रहेछन् । तीन भाइ रहेछन् लोक सरका । सबै आआफ्नै कर्ममा गतिशील रहेछन् । तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरको दिदीको घर पनि हो । ओम सरकी दिदीले पिँढीमा बसेर टपरी खुट्दै थिइन् । गुन्द्रीमा पाहुना बनेर बेनु र मैले दुई दुई थान फन्केरोटीसँगै मासु र अचार धस्काइयो । अचार बिपत्ता मिठो लागेपछि पुनः थपेँ मैले । खाना खाएर बिदा हुन भनेका थिए लोक सरका सबैले तर सकिन्न हजुर भन्दै बिन्ती दर्साएर बिदा भइयो ।

मुर्थुम गाउँ पुगियो । ३४ घरमा मुनबहादुर विक बाहेक अरू सबै मगर जातिको रहेछ । चिटिक्क परेको पारिलो ठाउँमा रहेको गाउँमा कच्ची बाटो पुगेको रहेछ । खानेपानी हिउँदमा अभाव हुने कुरा थाहा भयो । सिँचाइका लागि खासै सुविधा रहेनछ । गाउँलेहरू धेरै खोटोमा काम गर्न जाजरकोट,अछाम,सल्यान जाँदा रहेछन् । गाउँमा बस्नेहरूले बाख्रा,भैँसी पालेका रहेछन् । अदुवा,बेसार,केरा,तरकारी लगाएर आफ्नो परिवार पाल्दा रहेछन् । धनबहादुर घर्तिमगरले दिएको बोडी र सेमी उपहार लिएर उनकै जहान र छोरीले पकाएको फिनी रोटी चपाउँदै पानीले निलियो । रानीढुंगा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रहेछन् उनी । सोही गाउँबाट पूर्वी पाखा तलपट्टि ताल गाउँ,कुँडापानी,पारि पाखा ओखलढुङ्गा र सालघारी देखिन्छ भने दक्षिण–पश्चिमको तलतिर आरखुदी गाउँ देखिँदो रहेछ ।

ओखलढुङ्गा पुग्नेबेला उकालोमा हुमबहादुर गाहासँग भेट भो । ७३ वर्ष पुगेका उनी,गजवले हिडडूल गर्न सक्छन् । उनका दुई भाइ छोरा( कुलबहादुर र नरबहादुर) हरू विद्यालयमा पढाउँछन् । गाउँमा ज्ञानोदय मावि छ । १२ कक्षासम्म पढाई हुने उक्त, विद्यालयमा पौने तीन सय विद्यार्थी छन् । हामी त्यहाँ पुग्दा वडाध्यक्ष भुवनसिंह चिदी ससुराली गाउँ कचलफाँट गएका रहेछन् ।

प्रेमबहादुर विकसँग भेट भयो । बाटामा तोरणसँगै सेलरोटी झुन्डाएको देख्दा रमाइलो लागेर फोटो खिचेँ । रिङ सीङ लेकलाई इन्सेटमा राखेर गाउँकै फुच्चे भाइ प्रवीणले हामी दुईको झिल्के फोटो झ्याप्प खिचि दिए । ओखल र ढुङ्गा पनि हे¥यौँ । कलाकार यमबहादुर थापाको कलाकृति हो त्यो । परिकल्पना चाहिँ तिनाउ गापाका पूर्व अध्यक्ष ओमबहादुर घर्तिमगरको रहेछ । उनका दाइलाई भेटियो । सालधारा हुँदै कुँडापानी झरियो । कुर्मानखोला तरेर एउटा गतिलो फोटो खिचेँ । कचल र दोभान छुट्टाउने सिमाना खोला हो त्यो ।

दोभानको अविरल पार्क आउँदा तीन बज्दै थियो । नरसिंह भण्डारीसँग भेट भयो । उनले मोबाइलमा युट्युब हेर्दै थिए । बाख्रा चराउन आएका रहेछन् । पार्क सात पत्रे सामुदायिक वनभित्र रहेको छ । भौतिक संरचना बने पनि संरक्षण हुन नसकेको देखेपछि नरमाइलो लाग्यो । कसले संरक्षण गर्नुपर्ने थियो,हो र छ ? सायद जिम्मेवारी बोक्ने निकाय कोही भएनन् र त आज करोडौँका सरकारी सम्पत्तिको यो हालत देख्दा दुःख लाग्छ ।

फर्किदा दोभान चौकीनिर रहेका राजबहादुर श्रेष्ठ दाइकहाँ पाडाको सुकुटी मस्त चपाइयो । भाउजूको कलात्मक पाक्वकलाका कारण सुकुटी खानेहरूको भीड लाग्छ । सस्तो,मीठो सुकुटीले सबैको मन तानेको छ । गाई तिहारको दिन गाउँ घुमेर रोटी र सुकुटी चपाउँदै बटौली झरियो । ट्राफिक चोक,बुटवलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले देउसी,भैलोको कार्यक्रम सुरु गर्दै रहेछ । हेरियो एक छिन् । कलाकारहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । सबै थोक पाइने चोकमा मान्छेको भीड नहुने कुरै भएन ।

बुटवलबाट बुटवलसम्म करिब ४४ किलोमिटरको दूरी नापियो । आफ्नो गाउँ घुम्दा आफैलाई रमाइला त लागे । आँखाले धेरै फोटो खिचियो । मनले धेरैका भावना खिचे होलान् । गाउँलेका कथा धेरै सुनियो । गाउँ रित्तिँदै गएका दर्दनात्मक कथा सुनेर भावविह्रल बनायो । बाटो,बिजुली,पानी,स्कुल,सहकारी,स्वास्थ्य चौकी पुगेर पनि गाउँमा आज भने जति मान्छे छैनन् । गाउँ के हुने होला ? बिहेमा जन्ती र मर्दा मलामी जानेहरूको अभाव खड्किदैछ गाउँमा ।