रात ढल्दै गएपछि(कविता) - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

रात ढल्दै गएपछि(कविता)



-दलबहादुर गुरुङ

थुनिएका थिए धुममा कुखुराहरु
बाँधिएका थिए गाेठमा गाईबस्तुहरु
अगेनामा थिएनन् केही पनि
सलेदाे सिद्दिन लागेकाे टुकी थियाे
रात ढल्दै थियाे
पर-परसम्म जूनकीरीका उज्याला देखिन्थे
झ्याउँकीरीहरु आफ्नै लयमा गीत गाइरहेका थिए
साेचि रहेकाे थिएँ
आफ्नै बाबा/आमाका जीवनकथा
जहाँ उनीहरु
बाजेका साथ छाडेर गएका थिए युद्धमा
लड्न गएका थिए सामन्तीका बिरुद्धमा
साम्राज्वादका शीर झुकाउन

छेदन गर्न सामन्तवादकाे
आमाले युद्धमा भरुवा बन्दुक बाेकिन्
बाबाले खुँडा र तरवार बाेके
बाेकेनन् रणकाैशलता उनीहरुले


बगाए तिनाउमा
बिराेधीका खुनी गाेलीबाट रगत
मैले त्यही तिनाउमा
बाजेकाे ओैंला चाेबेर भनेकाे छु
युद्धमा मेरा आमाबाबाले ज्यान फाले
बाजेले छाेरा/बुहारी गुमाए
साेधि रहेकाे छु
तिनाउकाे पानी पिएर
देशले के पायाे !
जब रात ढल्दै जान्छ
बाजे एकाेहाेराे राेई रहन्छन्
छाेरा/बुहारी सम्झेर
म आँसु पुछिरहन्छु बाजेका
अनि
सम्झिरहन्छु
युद्धमा हेलिएका आमा/बालाई
देशले के पायाे ?
मेरा बाबा / आमाकाे शाहदत्तपछि ?
रात ढल्दै गएपछि
टुकी निभ्याे
बाजेले लामाे श्वास तानेर प्राण त्यागे
बाजेकाे मृत्युमा गणतन्त्रको राताे झण्डा ओढाएर
दुईथाेपा आँसु चुहाएँ
त्यतिवेला सूर्यले पूर्वबाट लाली छर्दै थियाे !