हार्दिक श्रद्धाञ्जली (कविता)

-काशी निर्दोष
प्रेमको भण्डार आमाको काख
विषाद्को छत्री बाबाको हात
आँसु सोस्ने श्रीमतीको न्यानो अङ्गालो
थकान बिर्साउने कलकलाउँदो छोराको मुस्कान
गाँठो परेको मुटुमा बोकेर
विवशताको पहाड छिचोल्न
घरबारसँगै इच्छा र चाहना राखेर बन्दकी
थन्क्याएर डिग्रीको सार्टिपिकेट
हजुरबावाले बनाएको थोत्रो बाकसमा
गुँडबाट अलग्गिएको चरीजस्तै निरीह म
हुत्तिएर पुगेको छु सात समुद्रपारि
आरामको खडेरी
भोकको आतङ्क
मालिकको हैकम सहेर
पचपन्न डिग्री सेन्टिग्रेडको प्रचण्ड गर्मीमा
पसिना ,आँसु र रगतको दानबाट
उमार्दै विकास र समृद्धिका
सुनौला र सुवासिला फूल मरुभूमिमा
सजाउँछु पराईका महल
फैलाउँछु सुगन्ध उँटदेखि अमिरका नासिका पुटसम्म
जब नेपाली क्यालेन्डरले पल्टाउँछ पाना
देखाउँछ तिज ,दसैँ, तिहार
तब बज्छ मोबाइलको घण्टी
झिसमिसे बिहानदेखि मध्यरातसम्म
दर पस्केर थालमा भन्छिन् आमा
बाबु छिरेन चिल्लो भात पनि घाँटीबाट
दसैँको टीका मुछेर थालीमा बर्रर्र आँसु खसाल्दै
भक्कानिँदै भन्नुहुन्छ बाबा
बाबु यसपालिको टीका लगाइदिन्छु यही मोबाइलमै
सप्तरङ्गी टीका चिउरीको पातको टपरीमा
मखमली र सयपत्रीका माला सुपोमा राखेर
मनिलो चेहरामा
आँखामा टिलपिल टिलपिल पीडा देखाउँदै
भन्छे बहिनी रुन्चे स्वरमा
दाजै रित्तै हुने भो त्यो फराकिलो निधार
बुच्चै हुने भो यो साल पनि अभागी गला
सुक्ने भयो टीका टपरीमा
ओइलिई जाने भो माला सुपोमै !
उफ्
भरिएर आउँछ मुटु
अवरुद्ध हुन्छ गला
बगाउँदै नयबाट खुम्बु
काटिदिएर फोन
धिक्कार्दै भाग्यलाई
जोतिन्छु काममा
जसरी जोतिन्छ गोरु
जसरी लादिन्छ गधा
भिरेर मुखमा महलो !
सम्झन्छु चकमन्न रातमा
मुक्तिको आन्दोलनमा शिरमा बाँधेको कफन
जिन्दाबाद र मुर्दावादको घाँटी सुकुन्जेल लगाएको नारा
आन्दोलनमा झारेको रगत
जेलको चिसो छिँडी
लोकतन्त्र , गणतन्त्रको आगमन उत्सव
लाग्छ वर्गीय मुक्तिको नारा भजाएर
गरिबलाई मारेर
उक्साएर
मुठ्ठीभरका नश्लीय सामन्ती भ्रमको ज्वालामा
यसरी होमिएका रहेछौँ हामी
जसरी होमिन्छ पुतली दियोमा
चरु होमखाडीमा
होमिन्छ कमिला खुदो ठानेर
चुकले भरिएको
कालो काल लुकेको घैँटोमा!
विगतको चेतना धरातबाट
बडो मुस्किले फड्केर
नयनमा वर्तमानको तीतो चस्मा लगाउँदा
देख्छु यस्तो जात्रा
जहाँ
लोकतन्त्र र गणतन्त्रको
डम्फु बजाएर
गरिबलाई नचाउँदै
मस्ती लुट्नेहरू
खाएर रेमिट्यान्सको रसिलो फल
मोटाएका छन् हात्ती जस्तै
कुल्चेका छन् भुइँमान्छेका छाती
दुगन्धमा नाच्ने झिँगाहरू
बेचेर कस्तूरी
कौडीको मोलमा पराइलाई
भ्रष्टाचारको सिनो घिचेर
डुङ्ङुङ्ती गन्हाउँदै
डकारेका छन् निर्लज्ज सुशासनको झुसिलो डकार!
सुन्छु विकासको नाममा
गणतन्त्रले पठाएछ गाउँमा लास सुरक्षित राख्ने डिफ्रिज
खुसी छन् रे औधी गाउँले
थाहा छैन मलाई
म पहिलै डिफ्रिजमा पुग्छु कि
वृद्ध बुबाआमालाई भेट्छु डिफ्रिजमा
तर ढुक्क छु म
किनकि
वर्षौपछि फेरि टेक्नेछन् गणतन्त्रका सारथिहरू मेरो दैलोमा
दिनेछन् सान्त्वना र आश्वासन
चढाउनेछन् लासमाथि फुलका गुच्छा
अनि छपाउनेछन् पत्रिकामा राम्रो तस्बिर छानेर
हार्दिक श्रद्धाञ्जली !
