लघुकथाः मेला

-लक्ष्मी रायमाझी
लाहानको फूलबारी मेला कै दिन उमेश र उषाको पहिलो भेट भएको थियो। साथीहरू सित मेलाको रमितामा मग्न उषालाई माइजूले एकाएक बोलाउँदा , पहिलो पटक उमेशले देखेको थिए । यसरी त्यही फूलबारी मेलामै दुवैको भेट हुन पुग्यो ।
उमेशले उषालाई एकै नजरमै स्विकारी सकेका थिए। वैशाख एक गते बडो भिडभाडका साथ लाग्ने त्यस मेलामा उषाका माइजूले उमेशलाई बोलाएर उषालाई देखाउने र दुवैको स्वीकारैक्तीमा विवाह टुङ्ग्याउने दुवै पक्षको निधो थियो।
उमेश अधिकृत छैटौँ तह नाम निकाल्न सफल एउटा युवा थिए। आफ्नो जन्म घर खोटाङबाट स्कुले शिक्षा पुरा गरी पढाइ र जागिर दुवैलाई निरन्तरता दिने सिलसिलामा , उनी लाहान बस्दै आएका थिए ।
समयको गतिले उनलाई लाहान निवासी महाजनकी छोरी उनै उषासँगै विवाह बन्धनमा बाँधिदियो।
केही दिनको बिदा छुट्टी मिलाएर उमेश दुलहीलाई लिएर आफ्नो मूल घर खोटाङतिर गए । पहाड त्यसै त दुर्गम झन् तराईमा हुर्किएकी केटी घरकी बुहारी हुँदा घरका सबैमा अनौठो जस्तो लागि रहेको थियो । र मनमा तराईको सम्पन्न घरकी छोरी भन्ने खुसी पनि उत्तिकै थियो ।
दुई चार दिन बस्दै गएपछि उमेशको आमाले भन्नु भयो , “ल दुलही ! आज हामीसँग तिमी पनि मेला जानु पर्छ, ” खोलाको गडतीर नजिक खेती थियो।
खेती टेकाउने देखाउने सासूको मनसाय रहेको थियो।
सासू आमाको यस्तो कुरा सुनेपछि उनमा खुसीको सीमा रहेन ।मख्ख पर्दै मेला जाने तरखरमा पूर्ण शृङ्गार सहित हिल जुत्तामा सजिसजाउ भइन् । उनी झकिझकाउ शृङ्गारिएको देख्दा ! उमेश अकमक्क परे र एउटा जटिल प्रश्नले उमेशको मन भारी बाँधिए झैँ बाँधियो।
विराटनगर
