लघुकथा:पुष्पाको प्रेमपत्र
-पुष्पा नेपाल (सुवेदी)
ऊसँग भेट भएको केही दिनमा नै उसले पुष्पालाई उपहार पठाएको थियो। पुष्पाले अफ्ठ्यारो मान्दै उपहार खोली र पुलकित भई। किनभने यति सुन्दर उपहार उसले आजसम्म कसैबाट पाएकी थिइन। खुशीले पागल भएकी पुष्पाले झटपट कापी र कलम झिकी र उसलाई यौटा प्रेमपत्र लेखी।
प्रिय ..
सर्वप्रथम तिम्रा शब्दहरूले तानेका थिए मलाई।जब तिमी मेरो गुरु भएर आएका थियौं।तिम्रा हरेक निर्देशनहरू अक्षरस पालना गर्दागर्दै तिनै शब्दहरूसँग कहिले मेरो प्रेम बस्यो थाहै भएन।हो त्यसपछि तिमी मेरो सबथोक भयौं, आदर्श,गुरु,प्रेरणा र यो जीवनमा कहिल्यै अनुभुत नगरेको प्रेम पनि सायद।जादू लाग्छन् मलाई,तिम्रा शब्दहरू, आवाजहरु।थाहा छैन,म सही छु कि गलत?मनले भगवान ठान्छ तिमीलाई।
एकवर्षसम्म फेसबुकको भित्तामा तिमीलाई यो मनले चुपचाप सुम्सुम्याएकी छु। सपनामा पनि सोचेकी थिईनँ, तिमीसँग प्रत्यक्ष कुरा गर्न सक्छु,झगडा गर्छु,घुर्क्याउँछु।अब सामुन्ने छौ। खुशीले पागल छु। अलिअलि दु:ख पनि लाग्छ। समुन्द्रको छाल जसरी आउने तिमी उसैगरी हराएर जान्छौं घरीघरी।उजाड बस्ती कसैलाई मन पर्दैन र तिमीलाई पनि। आँखाले देखेको र मनले चाहेको सबै कुरा कहाँ पाइन्छ र?न त जरुरी नै छ। गुनासो पनि छैन मेरो, नत कहिल्यै हुने नै छ।
तिमीले जति सताए पनि मीठो लाग्छ मलाई। बाँकी जीवनभर तिम्रो प्रशंसक र एउटा असल साथी भएर रहने छु। कहिल्यै बद्लिने छैन।मैले कहिल्यै तिमीलाई पाउने चाहना राखिनँ।पुरा नहुने चाहना राखेर आफैँलाई दुखी पनि किन गराऊँ र? अर्को जुनीमा पनि तिमीलाई मेरो आदर्श, गुरु र सबभन्दा प्यारो मान्छे मान्ने छु र नियालि रहने छु क्षितिजबाट तारा बनेर!!
तिम्री पुष्पा
इलाम