कोटले लियो ज्यान (लघुकथा)
-डा. देवी पन्थी
पुष मसान्तको मिर्मिरे बिहानीमा एकजना धनाढ्य ब्यक्ति सदाझैं मर्निङ वाकमा निकले। घरदेखि केही पर एक चौतारोमा पिपलको रुखमुनि एकजना वृद्ध जाडोले थरथर काम्दै बसेको देखे। ती धनाढ्य ब्यक्तिले उसको नजिक गएर नियाले। झ्यास जस्तो पलाएको उसको दाह्री कपालमा शीत जमेर तुषारोजस्तो सेताम्मे भएको देखे। यस्तो दयनीय अवस्थामा देखेर उनले सोधे ” के तिमीसँग ओढ्ने बर्को, कोट या ज्याकेट छैन र ?” ती बृद्धले जवाफ दिए ” अहँ! मसँग त्यस्तो केही छैन। म ठीक छु, यस्तो चिसो सहने मेरो आदत भैसकेको छ।” ती धनाढ्यलाई ऊ प्रति दया आयो र भने “पख म घर जान्छु र तिम्रा लागि कोट लिएर आउँछु, तिमी कतै न जानु।”
ती धनाढ्य घर गए र दराजबाट एउटा कोट निकाले। कोटको गोजीमा केही छ कि भनेर छाम्दा एक बिटा नोट भेटे। त्यो बिटा उनले केही महिना अघि कहाँ राखें भन्ने कुरा बिर्सेर हराएका थिए। आज भेटियो। त्यो एक लाखको बिटा थियो। उनले एकलाख छ कि छैन भनेर गन्न थाले। एकपटक गने अन्ठानब्बे हजार भयो। फेरि गने उनान्सय हजार भयो। फेरि गने….. । यसो गर्दागर्दै उनले त्यो गरीब बुढालाई बिर्से । धेरै बेरपछि त्यो बुढालाई सम्झे र कोट बोकेर गए। उनी त्यो चौतारोमा पुग्दा बुढा मरिसकेका थिए। यथार्थमा न्यानो कोट नहुँदा ती बुढालाई ” मसँग केही छैन ” भन्ने थियो तर चिसोसँंग लड्ने साहस र हिम्मत थियो। धनाढ्यबाट कोट पाउने आश्वासन पाउनासाथ ऊ भित्रको साहस र हिम्मत समाप्त भयो र केही बेर मै उसको देहान्त भयो। ” ओहो! गरिबलाई दिन्छु भन्नू नहुँदोरहेछ” भन्दै कोट बोकेर पश्चताप गर्दै उनी घर तर्फ लागे।