लघुकथाः निद्रा - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३० मंसिर २०८२, सोमबार

लघुकथाः निद्रा



-मित्र ‛उराठी’ गौतम

म झसङ्ग भएर व्यूझिएँ।

ढोका खोलेको आवाजसँगै बाबा कोठाभित्र छिरीसक्नु भएको थियो।

‟हैन् निदाइसकिस् कि के हो ? आँखा त राताराता छन् नि।अझै गृहकार्य सकेको छैन् ? अनि पढ्ने कतिबेला ? यसपालि त्यो फणिन्द्रेलाई जित्न सकेनस् भने तेरो छाला काढ्छु, वुझिस् ?” बाबाको कर्कस आवाज वम जस्तै पड्कियो।

मेरो मुटु छाती फोरेर बाहिर निस्कुँला झैँ गरि उफ्रियो।

‟कतै बाबाको हातको पञ्जा मेरो गालामा नबज्रियोस्।” मनमनै भगवानसँग प्रार्थना गरेँ।

मिठो निद्रा एकैछिनमा लापत्ता भयो।जसोतसो गृहकार्य सकेँ।

बाबा सुत्नुभएको यकिन गरि म पनि सुतेँ।

अर्कोदिन बिहानै पल्लाघरे ठूलाबाको घरमा चलेको रुवाबासीले मेरो निद्रा विथोलियो।आँखा मिच्दै उठेँ र बाहिर निस्केँ।

‟सारसम्दै सुतेका ठूलाबा बिहान अबेरसम्म पनि उठेनन् रे!” टोलमा यस्तै सुनियो।

मलाई लाग्छ, ‛मानीसको जीवनमा सबैभन्दा आनन्ददायक क्षण नै निद्रा हो।’

क्षणिक निद्राको लागि राजादेखि रङ्कसम्म सबै लालायित हुन्छन्।त्यसैले हरेक मान्छेले त्यो आनन्ददायक क्षणको पुनरावृत्ति चाहान्छ।

‟आहा! ठूलाबा अनन्त निद्रा निदाए।उनलाई अब जाग्नु पर्ने वाध्यता रहेन।” मेरो मुखबाट अनयासै वाक्य फुत्कियो।

अमरपुर गुल्मी हाल तिलोत्तमा न पा -२,रुपन्देही