आमा होस जगाऊ अब - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

आमा होस जगाऊ अब



-दिपा मिश्रा 
रुँदैछ्यौ तिमी
धर्धरी आँसु बगाएर
कपुत तिम्रा सन्तान
झन् कुलङ्गार बनेर
तिम्रो अस्मिता लुट्न अभ्यस्त छन्
तिमीभन्दा धेरै टाढा बसेर म
तिम्री छोरी
तिमीलाई
तिम्रा कुसन्तानले
पालै पालो थिचिरहेको
पालै पालो मिचिरहेको
पटक पटक बेचिरहेको
कसरी हेर्न सक्छु?
आमा,
तिम्रो प्रसव पीडा
यी कुसन्तानले कहिल्यै बुझ्दैनन्
तिम्रै काखमा लुटपुटिँदै दश धारा दूध पिएका
सन्तानले आज तिम्रो इज्जतलाई
बन्धक बनाइ
अनेकौँ बहानामा दुरुपयोग गरिरहे
तिम्रो ममतालाई कुल्चेर
कुपात्रहरू
कहिले पहिरोमा
कहिले बसमा
कहिले हवाईजहाजमा
कहिले आँधी-हुरीमा
कहिले भुईँचालोमा
कहिले लडेर
कहिले डढेर
अनि
कहिले कुकर्ममा परेर
नासिइरहेका छन्
मूर्ख तिम्रा सन्तान  स्वार्थकै लागि
आफुआफु लडिरहेको टुलुटुलु किन हेरेकी आमा ?
हे आमा,
नबन यसरी निरीह
उठाऊ मातृत्वको शिर
फैलाऊ आमाका हात
जगाऊ जननी चेत
घन्काऊ मातृवत्सल धून
रन्काऊ शान्तिको शंखघोष
चाहे तिमी
जुनसुकै रूप धारण गर
तर, तिमी बाँच्नुपर्छ आमा
तिमी बाँचे मात्रै
तिम्रा सन्तान बाच्न सक्छन्
यसरी चुपचाप नबस आमा
होस जगाऊ अब !