रैती हुन पाउँ - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

रैती हुन पाउँ



-कृष्ण ‘गाउँले’

अब ऊसँग
केवल
एक सुत्रीय माग छ—
“पुनः रैती हुन पाउँ”

उहीँ मान्छे
हिजो मालिकको पाउमा दाम चढायो
मालिककै विरुद्ध बन्दुकमा बारुद भर्‍यो
कहिले रुखको छायामा सुसेल्यो
कहिले घामको न्यानो ताप्यो ।

उहीँ मान्छे
कहिले अनेक वादको बफादार सिपाही बन्यो
कहिले तमाम ‘स्वतन्त्रहरु’को फेरो समाउँदै
आफू ‘स्वतन्त्र’ भएको स्वघोषणा गर्यो ।

कहिले श्रीपेच उठायो
कहिले लौरो उठायो
कहिले बन्दुक उठायो
कहिले शंख फुक्यो
कहिले घण्टी बजायो

फेर्‍यो पार्टीहरु अनेक
बोक्यो झण्डाहरु अनेक
भारी बोक्यो अनेक नाराको
सपना, अभिलाषा र महत्वाकांक्षाको ।
तर,
खोजेन कहिल्यै आफ्नो विचार
चलाएन कहिल्यै युग बदल्ने कलम
लगाएन कहिल्यै देशको घाउमा मलम ।

नहेरेर ऐनामा अनुहार
सोधिहिंड्छ आफ्नो परिचय,
नचिनेर आफ्ना चाहना
बोकिहिंड्छ भिराएको पहिचान ।

सायद स्वत्व गुमेपछि जीवन पनि निष्प्राण हुन्छ होला
सायद ठगिदाँ ठगिदैँ ठगिनु नै दैनिकी बन्छ होला
दबिदाँ दबिँदै दबिनु पनि बानी बन्दोरहेछ
झुक्दा झुुक्दै झुक्नु नै परिचय बन्दोरहेछ ।

गणतन्त्रले हटाए पछि शिरको भारी
अब ऊ हलुङ्गो भएको छ,
यो भार विहीन जिन्दगी
अपुरो अपुरो भएको छ ।
रित्तो रित्तो भए पछि जिन्दगी
उसलाई निष्प्राण श्रीपेच चाहिएको छ
आफ्नो नागरिक अनुहार नचिनेपछि
उसलाई ‘पुनः रैती हुनुपरेको छ’ ।