कहिले होला ?

-गङ्गा पोखरेल
कहिले होला ?
बनफूलहरु निर्धक्क निदाउने?
कहिले होला गुलाफले
चन्द्रमासँग मुस्कुराउने?
कहिले होला नदीहरू
सफा भएर बग्ने?
सधैँ किन गुलाफ रोए जस्तो?
सधैँ किन नदिहरु रुँदै बगे जस्तो?
किन सधैँ जङ्गली पातहरू
मुर्छाए जस्तो ?
किन सधैँ पिपिरी धुनहरू शोकमा ?
कहिलेसम्म चराहरू
फोहोर आकाशमा उड्न बाध्य हुने?
खोइ कस्ले पखाल्यो र धरतीको पाउ?
खोइ कस्ले धोयो र पृथ्वीको घाउ?
खोइ सफा हावा ?
खै सफा आकाश ?
खै सफा मनुष्य ?
मर्यादाका घामहरू लाग्यो भने मात्रै
बिचारका बिस्कुनहरू सफा हुने हुन् ।
