मैले जाजरकोटै... बाँच्नुपर्छ - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मैले जाजरकोटै… बाँच्नुपर्छ



-माधव खतिवडा

दियो सल्काउँदै गर्दा सम्झिएँ
फूल टिप्दै गर्दा झस्किएँ
पुन: एक पटक
भुकम्पको कम्पन् जस्तै डोलाएँ
घर भत्किएका
मन धाँजा फाटेका
बास नभेटिएका….
शित तप्काउनसम्म नसकेको
चिसो आकाश मुनि
बारिको कान्लाको बास
कमसे कम्
छानोको एहसास् दिनसम्म
उज्यालोको झल्को दिलाउनसम्म
चोटमा लाउन
मलम लिएर आउँछ की भन्ने
आसा गरिएको यो तिहार
बाटैबाट बाटो मोडिएका
ति तृपाल र सोलार जस्तै
कोखिको घाउ भएको छ।
पर हिमाल हेर्दै,
फूल टिप्दै गर्दा पो याद आयो त
दाई बितेको आमा नभेटिएको
बस्ने ठाउँको नाममा
एउटा दानीले टाङिदिएको तृपाल
अर्को ठालुले
जात्रा हेर्न हुँकिएर आउँदा
बेगले च्यातिदिएको…
हेरेँ,
कान्लाभरी फुलिरहेका मखमलीलाई
सयपत्रि गोदावरीलाई….
उस्तै छ ,
बिहानिको शितमा लत्पत्
उहि सुन्दरतामा ओतप्रोत ….
सम्झिएँ,
सँगसँगै पिडा खेपेको
उ र म
उ पुन: मुस्कुराएर उभिईरहेछ
मलाई खिस्याए झैँ
मन गर्हुङ्याउँदै
त्यहिँ फेदमै राखिदिएँ
टिपेका फूलका केहि थुङ्गाहरु

पर हेरिहेरेँ
हिमाल ,डाँडाकाँडा पाखा पखेरा
मन भुलाउन
भुलेनन्
फर्किए मैँतिर
झन भक्कानियो र छचल्कियो
उसै त रातभरिको
चिसो सिरेटो खाएको गला
तातो आँशु
घुटुक्क निल्यो र सुक्सुकायो….
फेरि पुलुक्क फूललाई हेरेँ
लाग्यो
प्रकृतिका दुई कृति
एउटा रुँदै छ अर्को मुस्कुराई सक्यो
मन बाँधेँ
हो मैले रुनु हुन्न्
यहि आँसुले मुख धुनुपर्छ…..
म जाजरकोट पो हुँ त बाबै,
मैले नेपाल बाँच्न पाउन्न्ँ
हो मैलेपनि
शितले र फूलले जस्तै
जाजरकोट बाँच्नुपर्छ…..