साइन्सोत्सव - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३० मंसिर २०८२, सोमबार

साइन्सोत्सव



-सुशील सापकोटा

त्यो पृथ्वीको कुनै एक शहर थियो । किनकी अन्य ग्रह, उपग्रहमा शहर भएको तथ्य पत्ता लागेको छैन । यस ब्रह्माण्डका अन्य ग्रह, उपग्रह र यदि अर्को ब्रह्माण्ड पनि अस्तीत्वमा रहेको खण्डमा सो ब्रह्माण्डका ग्रह, उपग्रहमा जीव तथा मानव अस्तीत्व रहेको कुरा हालसम्म खोजको मात्र विषय हो । तसर्थ निशंकोच त्यो पृथ्वीको कुनै एक भु–भागमा अवस्थित भव्य शहर थियो । शहर भव्य भएपनि त्यो कुनै देश, उपदेश वा प्रदेशको राजधानी थिएन किनकी हरेक भव्य शहरहरु राजधानी हुनैपर्ने भन्ने दुनियाँका कुनैपनि देशको संविधानमा रहेको कुनै दफाको उपदफा र त्यसको अनुसुचिमा उल्लेख भएको कुरा सुनिएको छैन । राजधानी नभएरै पनि उक्त शहर राजधानी भन्दा कुनैपनि हिसाबले कम नभएको विश्वभरका सम्पूर्ण देशका राजधानीबासीहरुले स्वीकार गरीसकेका छन् भन्ने सुनिन्थ्यो । अझ कतिपयले त त्यो शहर विश्वका धेरै देशका राजधानी शहरहरु भन्दा बिसौँ गुणा भव्य रहेको समेत दाबी गर्ने गरेको कुरा बेलाबेलामा सुन्ने गरिन्छ । त्यो शहरको नाम पृथ्वीमा मानव सभ्यताको शुरुवाती अवस्थाको कुनै एक लोकप्रिय भाषाको लोकप्रिय शब्दबाट राखिएको थियो । तर कालान्तरमा उक्त भाषा लोप भएपछि उक्त शहरको नाम बेनाम शहर राखिएको भन्ने तथ्य बेनाम शहरका बुढापाका, इतिहासविद् तथा भाषाविदहरु बताउँछन् । यद्दपी शहरबासीहरुमध्ये केही भने यो नामप्रति असन्तुस्ट थिए नै ।

शहर भव्य हुनुको कारण चाहीँ त्यसको भौतिक संरचना थियो । भन्नाले सडक, बिजुली, अत्याधुनिक भवनहरु, कलकारखाना, शिक्षा, सुरक्षा व्यवस्था लगायतका कुराहरु । तर यी मात्र भव्यताका कारण भने अवश्य थिएनन् । खासमा भव्य हुनुमा बेनाम शहरको मुख्य पक्ष थियो यन्त्रमान्छेहरुको मान्छेभन्दा धेरै अनुपातको उपस्थिती । पृथ्वीभरका देशका राजधानी शहर र राजधानी सरहका अन्य कुनैपनि शहरहरुमा बेनाम शहरको अनुपातमा यन्त्रमान्छेहरुको उपस्थिती र प्रयोग नभएको कुरा सर्वत्र चर्चाको विषय थियो । साथै यन्त्रमान्छेहरुको प्रयोग सम्बन्धी अध्ययन गर्ने विश्वव्यापी संस्था नन् ह्युमन् हुमन् बोर्डले समेत सो कुराको पुस्टि गरिसेको थियो । नन् ह्युमन् हुमन् बोर्डको पछिल्लो अध्ययन अनुसार विश्वका अन्य शहरहरु पनि बेनाम शहरभन्दा केही मात्र तल रहेको र व्यापक रुपमा यन्त्रमान्छेहरुको निर्माण र प्रयोगमा अगाडि बढिरहेको समेत पुस्टि भएको थियो ।

बेनाम शहरका मान्छेहरु घोर अल्छि थिए, अल्छि यसकारण थिए कि प्राय सबै काम यन्त्रमान्छेरुले गर्थे । निर्माण, यातायात, उद्योग, सामान्य अवस्थामा रहेको कृषि क्षेत्र, बैङ्क, पसलहरु, स्वास्थ्य क्षेत्र, घरयासी कार्य र यहाँ छुटेका सबै क्षेत्रहरुमा यन्त्रमान्छेहरु श्रम गर्थे । यन्त्रमान्छेहरुको प्रकृतिबारे एकछिन पछि कुरा गरौँला अहिले शहरको परिवेशबारे कुरा गरौँ । शहर कस्तो थियो भने सुव्यवस्थित रोडलाइट जडित सफा सडकहरु, सम्पूर्ण क्षेत्रको व्यापक बिकाश, कलकारखानाहरुबाट निस्कने काला, सेता धुँवाका मुस्लाहरुले सगरको मुहार सँग गरिरहेको सहवासको अविछिन्न श्रृङ्खला प्राय यस्तै थियो ।

अँ अब यन्त्रमान्छेहरुको प्रकृतीबारे कुरा गरौँ । यन्त्रमान्छेहरु कुनै साधारण, कुनै मध्यम र कुनै विशिष्ट प्रकृतीका थिए । अझ भनौ भने घ, ग, ख र क श्रेणिमा विभाजीत थिए । श्रेणिअनुसार तिनका काम, पोषाक र तिनले प्रयोग गर्ने गाडि लगायतको प्रकृतीसमेत फरक थियो । घ श्रेणीका यन्त्रमान्छेहको पोसाक अतिसामान्य स्तरको थियो र काम पनि अतिसामान्य । जस्तो सडक निर्माणमा सामान्य मजदुरी, स्कुल, अस्पताल तथा कलकारखाना, उद्योगहरुमा परिचरको काम, घरका सामान्य काम झाडुपोछा, भाँडा माझ्नु, कपडा धुनु, स्त्रि गर्नु यस्तै यस्तै । समग्रमा अतिसामान्य काम जो अतिसामान्य मान्छेले समेत गर्न सक्छ । यी यन्त्रमान्छेहरुको लागि सामान्य स्तरका पुराना गाडिहरुको सुविधा थियो र त्यो पनि सामूहिक रुपमा प्रयोग गर्नुपथ्र्याे । यीनीहरुको लागि दिन, हप्ता, महिनाभरको अवश्यकता अनुसार निर्देशनको प्रोग्रामिङ् सेट्अप गर्नुपथ्यो र सोहि अनुरुप यिनिहरु अविराम श्रम गर्थे । यिनिहरु सामान्य विद्युत सेवनबाट परिचालीत हुन्थे दैनिक २ देखि ३ युनिट । शहरभरका घ श्रेणिका यन्त्रमान्छेहरुले यो भन्दा बढि विधुत खपत गर्न त सक्थे तर त्यसको अधिकार तिनलाई थिएन ।

ग श्रेणीका यन्त्रमान्छेहरु प्रायजसो पसलहरुमा सामान विक्री गर्ने ,कम्पनीहरुमा सहयोगी स्तरको काम गर्ने तथा डेकोरेसन, घर, सडक निर्माणमा घ श्रेणिहरुको कार्य विवरण राख्ने लगायतका कामहरु गर्थे । तिनले स्वचालित रुपमा काम गर्न त सक्थे तर त्यसको अधिकार उनिहरुसँग थिएन । ख वर्गकाले सेटअप गरेको निर्देशन अनुरुप काम गर्नुपर्ने उनिहरुको बाध्यता थियो । यिनीहरुको पोषाक घ श्रेणीका यन्त्र मान्छेहरुकोे भन्दा केही स्तरीय थियो । गाडि सुविधााको कुरा गर्दा ग श्रेणिका यन्त्रमान्छेहरुलााई करिब ४ देखि ६ जनालाई एउटा गाडिको सुविधा थियो । यिनीहरुलाई करिब ४ देखि ५ युनिट बिजुली खपत गर्ने अधिकार थियो । यद्दपी त्यो आवश्यकता भन्दा निकै न्युन थियो ।

ख वर्गका यन्त्र मान्छेहरु प्राय उच्च स्तरको काम गर्थे । उनिहरुको पोषाक लगभग क श्रेणीका यन्त्र मान्छेहरुको जस्तै देखिन्थ्यो तर उस्तै थिएन । ख र क श्रेणिका यन्त्रमान्छेहरुले लगाउने पोषाकको गुणस्तरमा केही फरक भने थियो । यिनीहरु उच्च पदभार सम्हाल्ने गर्थे, कम्पनी, विभाग तथा विभिन्न संस्थानहरुमा प्रमुखको काम सम्हाल्थे र स्वचालित भएकाले आवश्यकता अनुसारको निर्णय लिन समेत अधिकार प्राप्त थिए तर यिनीहरुले सम्पूर्ण कार्य विवरण भने दुरुस्त क श्रेणिका यन्त्रमान्छेहरुलाई बुझाउनै पथ्र्यो । यिनीहरुले १० देखि १२ युनिट विद्युत खपत गर्न पाउँथे जुन लगभग आवश्यकता अनुरुप नै थियो । अझ कुनैकुनै बेलामा बोनस स्वरुप २–४ युनिट थप विद्युत समेत खर्च गर्न पाउँथे । यिनीहरुलाई व्याक्तिगत सवारी साधनको सुविधा थियो तर चालक सुविधा भने थिएन ।कहिलेकाँही आवश्यकता अनुरुप समकक्षी तथा सहयोगीहरुलाई समेत लिफ्ट दिनुपर्ने कुरा उनिहरुको प्रोग्रामिङ् टुल्स् को डिसिप्लिन ब्रान्चमा प्रस्ट उल्लेख थियो ।

अब भने कुरा आउँछ क श्रेणिका यन्त्रमान्छेको । यस श्रेण्किा यन्त्रमान्छेहरु पूर्णतया स्वचालित थिए र यिनीहरुको पोषाक महँगो र उत्कृष्ट स्तरको हुन्थ्यो । यिनीहरु आवश्यकता अनुसारका सम्पूर्ण प्रोग्रामिङ्हरु सेटअप गर्थे र तल्ला श्रेणिका यन्त्रमान्छेहरुलाई नियन्त्रणमा राख्थे । तल्ला श्रेणिका यन्त्रमान्छेहरुको प्रोग्रामिङ् हेरफेर तथा उनिहरुबारे ख श्रेणिबाट प्राप्त निर्देशन अनुरुप विभिन्न आवश्यक कार्यहरुको योजना तर्जुमा तथा निर्देशन गर्थे । यिनीहरुलाई चालकसहितको उच्च सुविधायुक्त आधुनिक गाडिहरुको सुविधा थियो । क श्रेणिका यन्त्रमान्छेहरु श्वास फेर्ने मान्छेहरुको सामिप्यतामा रहन्थे र मान्छेका निर्देशनहरुलाई सुन्थे, लागेका सुझावहरु पेश गर्थे र मान्छेका अन्तिम निर्णय अनुसार कार्य गर्थे ।

बेनाम शहरका सबैजसो मान्छेहरु विलासी जीवन ज्युँथे र अधिकांश अस्वस्थ समेत थिए । उनिहरु प्रायजसो अस्पाताल जानेआउने काममा व्यस्थ हुँन्थे । बाँकी समयमा मन लाग्यो भने यन्त्रमान्छेको सहयोगमा व्यायाम गर्थे । अन्य समय सिनेमा जाने, टेलिभिजन हेर्ने, पुस्तक पढ्ने, जुवातास खेल्ने, मदिरा सेवन गर्ने गर्दथे । हरेक परिवारमा माथि उल्लेख गरिएभन्दा फरक प्रकृतिका यन्त्रमान्छेहरु पनि थिए । जसले मान्छेहरुका आवश्यकता अनुरुप अंगरक्षकको कार्य, खाना बनाउने, तथा खान अल्छी मान्ने मान्छेहरुलाई खाना खुवाइदिने, नुहाइदिने, कपाल कोरीदिने, श्रृङ्गार गरिदिने लगायतका सबै काम आदेश अनुसार गर्दथे । बेनाम शहरमा पछिल्लो समयमा त सिनेमा, संगीत, साहित्य तथा खेलकुदमा समेत यन्त्रमान्छेहरुको प्रयोग गरिएको थियो । सिनेमाको छाँयाङ्कन, निर्देशन, अभिनय तथा सम्पादन लगायतका सबै काममा यन्त्रमान्छेहरुले उल्लेख्य कार्य प्रस्तुत गरेका छन् भन्ने खबर बेलाबेलामा अखबारहरुमा पढ्न पाइन्थ्यो । त्यस्तै गीत रचना, संगीत, एरेन्ज, रेकर्डिङ्ग, गायन तथा मिक्सिङ्ग समेत गरिरहेका यन्त्रमान्छेहरुको कार्य अत्याधिक लोकप्रिय भइरहेको कुरा सुनिने गरेको थियो । र त्यस्तै साहित्य र खेलकुद क्षेत्रमा समेत भैरहेको थियो । यद्दपी सिनेकलाकार, निर्देशक, संगीतकर्मी, गायक, साहित्यकार तथा खेलाडिहरु जो बेनाम शहरमा स्थापित र चर्चित थिए उनिहरुले भने यो कार्यको खुलेर विरोध, धर्ना तथा प्रदर्शन गरिरहेका थिए । तर सर्वसाधारण दर्शक, स्रोता, पाठक समग्रमा शुभचिन्तक तथा उपभोक्ता भनौँन, ती भने यन्त्रमान्छेहरुका सिर्जना, निर्माण र प्रस्तुतीकै पक्षमा थिए । शहरमा धुलो कम भएपनि धुँवा तथा बिषादीयुक्त ग्याँस तत्वको प्रभावले श्वास फेर्ने जिवहरुको अवस्था दयनिय बनेको थियो तर यो समस्या बेनाम शहरको मात्र थिएन बरु यो त विश्वभरको चुनौती पो बनिरहेको थियो ।

मैले कथा सुनाउनेको नाम नसोधेको चाहीँ होइन तर उसले पछि भनाँैला भनेर टारेको थियो । कथाको उत्तरार्धमा अब चाहीँ म कथाको बिट मार्न जाँदैछु भन्दै उसले भन्यो खासमा म दूर गाउँबाट यहाँ आएको चौथो दिनको कुरा हो । हाम्रो गाउँ धेरै विकट ठाउँमा पर्छ त्यहाँ यहाँजस्तो केहिपनि छैन तसर्थ सुरुसुरुमा त म बडो अचम्ममा परेको थिएँ । अँ साँची चौथो दिनको कुरा हो लगभग साँझको ५ः०० बजेको थियो होला । के भयो भने म सुकिसकेको खोलाको तस्वीर किनौकी भनेर तस्वीर पसलको बिक्रेता यन्त्रमान्छेसँग तस्वीरको मूल्यबारे कुराकानी गर्दै थिएँ तब म बडो अचम्ममा परेँ । यती भनेर उ रोकियो तर मलाई भने उ अचम्ममा पर्नुको कारणबारे बडो जिज्ञासा भयो र बिचमा सोधेँ कस्तो अचम्ममा पर्नुभो ? चुप लाग्नुस यार, अचम्मको कुरा पनि यति सजिलै सुन्न पाइन्छ त ? केहिबेर पर्खनुस् । मैले हस् भनेँ र आफ्नो ओठमा ताल्चा ठोकेँ । केहिबेर पछि उ बोल्यो, तस्बीर पसल अगाडि मान्छेहरुको भिड थियो । साँची भिड हैन लामो लाईन थियो । यो लाइन चाहीँ यन्त्रमान्छेहरुको थिएन । हामीजस्तै मान्छेहरुको लाइन थियो । अहो यहाँ त एक थरिका यन्त्रमान्छेहरुको प्रकृतिको कुरा आउँछ त्यो अगाडि भन्नुपर्ने मैले छुटाएँछु । अब भन्नुस न । मैले ताल्चा खोलेँ । उ फेरी झक्र्यो । भन्छु त बिचमा किन डिस्टर्ब गरेको ? माफ पाउँ, ओठमा ताल्चा फेरी लाग्यो । मेरो ओठमा । उ सुरु भयो । उम् बेनाम सहरमा एकथरी मान्छेहरु सुरक्षा क्षेत्रमा कार्यरत छन् । जस्तो सेना, पुलीस तथा सेक्युरिटी गार्ड । तिनको ठ्याक्कै श्रेणि भने थाहा भएन तर ति ग र ख श्रेणिको बिचमा पर्छन भन्ने सुनेको हो । कोहि कोहि चाँहि ख र क श्रेणिसरहका पनि हुन्छन रे तर ति केवल माथिल्लो स्तरमा बसेर निर्देशनात्मक कार्य गर्छन रे । ए ! ह्या तपाई कती बोल्नुहुन्छ यार ? भैगो म सुनाउँदिन । तपाई जानुस । हैन हैन म अब केहि बोल्दिन कथा समाप्त गर्नुस, जिज्ञासा भयो । मैले झटपट ताल्चा खोलेँ, बोलेँ र बन्द गरेँ । हस् तपाई नबोल्ने सर्तमा सुनाउँछु । मैले टाउको हल्लाएँ अर्थात मुख नखोलेरै हुन्छ भनेँ । उम् सुरक्षा प्रसङ्गको कुरा थियो है ? त्यसखालका केहि यन्त्रमान्छेहरु जो सेना थिएनन् तर पुलीस र सेक्युरिटी गार्ड मिक्स थिए, तिनले लाइनलाई ब्यवस्थीत गर्दै थिए । घरघिरी ति यन्त्रमान्छेहरुसँग मान्छेहरु झर्किन्थे हैन अझै कतिबेर लाइनमा बस्नुपर्छ ? बिहान ५ः०० बजेदेखि लाइनमा बसेको १२ घण्टा बित्त्दा पनि पालो आएन । मैले यहाँनेर कुरो बुझिन र जेसुकै होस् भनेर हत्पत ओठको ताल्चा खोलेँ र भुमिका सहित बोलेँ । हेर्नुस अहिले म कुरो नबुझेर बोलेको हुँ । सबै काम यन्त्रमान्छेहरुले गर्ने ठाउँमा किन मान्छेहरु लाइनमा बसेका ? यो कुरो बुझिन हजुर । तपाई जस्तो बेकारको मान्छे मैले आजसम्म देखेको छैन । म लगभग दिनदिनैजजसो २–४ कथाहरु सुनाउने गर्छु । अझ यो कथा त म प्राय दोहो¥याइरहन्छु । आजसम्म तपाइले जस्तो बिचबिचमा बोलेर कुनै स्रोताले मेरो टाउको खाएको याद छैन । सुन्दै जानुस सब थाहा पाउनुहुनेछ । अब सकिनै लागेको छ । मुखमा ताल्चा लगाउनुस् । हस लगाउँछु । लगाएँ ।

अँ सुन्नुस त्यसै बखत मैले एउटा आवाज सुनेँ जुन बडो चर्को थियो । त्यती चर्को अर्थात ठूलो आवाज त मैले त्यो बाहेक न पहिले सुनेको थिएँ न आजसम्म सुनेको नै छु । यो कथा सुनाउँदा सँधै त्यो आवाजलाई मैले आँफुले सकेजती चर्को स्वरमा चिच्याएर सुनाउने गरेको छु । के छ भने नि, कथा सुनाउनेले कथालाई प्रभावकारी रुपमा सुनाउनको लागि कथा अनुसारको शारिरीक हाउभाउ तथा अभिनयात्मक वाककला प्रस्तुत गर्नुपर्छ भन्ने मेरो ठम्याई छ र म त्यसै गर्ने गर्छु । अझ यो त कथा नै होइन, बुझ्नुभएन यो त यथार्थ नै हो । तपाईलाई कथा नै लागेको भए म केहि भन्दिन तर यो यथार्थ हो विश्वास गर्नुस । अब तपाई त्यो चर्को आवाज सुन्न तयार हुनुहोस । मेरो टाउको तलमाथी हल्लीयो उसले बुझ्यो र बोल्यो, हैन हैन बोलेन चिच्यायो । मेरो परिवारमा १० जना छन्, एउटाले त २ हप्ता पनि राम्ररी पुग्दैन, मलाई मिलेसम्म ३ वटा नमिले जसरी भएपनि २ वटा अक्सीजन सिलिण्डर देऊ । चर्को आवाजले म झसङ्ग भएँ र ब्युँझिएँ । मोबाइलको पर्दामा ३ः१८ ए.एम्. बजेको देखेँ । म मान्छेहरुको बडो भयानक जीन्दगीको सपनालाई पुरै रिप्ले गरेँ र सोचेँ पृथ्वीमा यस्तो दिन आयो भनेँ ?