मलाई उपेक्षा गर्नेहरू

– सुमिना
ए मलाई उपेक्षा गर्नेहरू
सुन !
तिमीले छर्किएका वितृष्णाका विषादिहरू
म हिँड्ने बाटोका फूलहरू हुन्
जसले मगमगाउने अत्तरहरू छर्किएर
वासनाको स- बिस्तार गरि
मोहक मनोरम हृदय प्रसन्न गराइरहन्छन् !
अझ तिमीले ओकलेका
घृणा र तुच्छताका प्यालाहरू
मेरा सपनाका विशाल फाँटहरू हुन्
जसले प्रत्येक पल घच्घच्याइ
मलाई मेरा लक्ष्यसम्म आत्मवोध गराइरहन्छन्
निरन्तर अघि बढ्न उत्प्रेरित गरिरहन्छन् !
त्यसैले त म भनिरहेछु
चिच्याइ चिच्याइ भनिरहेछु
सक्छौ जति उपेक्षा गर
जति सक्छौ घृणा गर
प्रहार गर ,खुट्टा तान
तिमी जति तान्नेछौ
म त्यति नै हिँडिरहेकी हुनेछु !
जति बेला तिमी कुखुरा जस्तै
घर्ती खोस्रिरहेका हुनेछौ
त्यति नै बेला म चिल जस्तै
उचाइबाट धर्ती दृश्यावलोकन गरिरहेकी हुनेछु !
तिमीले अर्पिएका
तिरस्कार घृणा उपेक्षा र तुच्छताको प्याला पिएर
अस्तित्वको यात्रामा
एक पृथक वर्तमानको भूगोलबाट
सफलताको उचाइबाट
तिमीलाई सम्बोधन गरिरहेकी हुनेछु
यही शब्दले –
ए मलाई उपेक्षा गर्नेहरू हो
सुन !
तिमीले छर्किएका विषादिहरू
म हिड्ने बाटोका फूलहरू हुन् !!
