बग्ने सबै तरल त्यो सरिता हुँदैन - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

बग्ने सबै तरल त्यो सरिता हुँदैन



– इन्दिरा प्रयास

छन्द :वसन्ततिलका

बग्ने सबै तरल त्यो सरिता हुँदैन
कोरेर काव्य जति छन् कविता हुँदैन
खुल्दैन भाव कति ती कविका भनाई
बोल्दैन सार कसिला नबजोस् सनाई ।।

मानौँ पिएर मदिरा सब मात्तिँदैछ
देशै अशान्त अति भाे मन आत्तिँदैछ
छर्छन् प्रभा किरणका मदमस्त पारी
के काे तरङ्ग जन मानस भाे सवारी ।।

थाक्दैन मेघ किन हाे नगरा बजाईँ
सारा हिलाम्य छ धरा उसकै रजाइँ
शिक्षा निकाम्य अति नै न त छन् कडाई
बेर्ना त छैन गतिलाे न त छन् पढाई ।।

सस्तो भयाे मनुजको छ खराब हाल
विद्या भयो मुलुककाे अब इन्द्रजाल
के हेर्छ आज दुनियाँ निमुखा बनेर
उर्लिन्छ बाढ जसरी रमिता बनेर ।।

आक्रान्त भाव जुन भाषण छन् अनेक
घुम्दोछ चक्र जसरी सब एक एक
मानिन्न यो नियम ऐन यही भनेर
बुझ्लान् कहाँ मानवले कविता सुनेर ।।