खै मैले के जानिन के जानिन ? - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

खै मैले के जानिन के जानिन ?



– रामचन्द्र भट्टराई

खुसी जोड्छु भन्यो घट्दै घट्दै जान्छ
दुःख घटाउँछु भन्यो झन् थपिँदै जान्छ
लक्ष्य माथि राख्यो तल तल झर्छ
तनाव तल झार्‍यो माथि माथि सर्छ
सुख चाह्यो पीडा भागमा पर्छ
जिन्दगीले यसरी किन गोलमाल गर्छ
अस्ति भन्दा हिजो,हिजो भन्दा आज
यो जिन्दगी सहज ठानिन
खै मैले के जानिन के जानिन ?

मान्छेहरू भन्थे,
सोझो औलाले घिउ आउँदैन
औला नचाटी जिउ लाउँदैन
पिठो बिक्छ बोल्नेहरूको
नबोल्नेको चामलले भाउ पाउँदैन
दुईमा दुई नै थपे नि पाँच हुन्छ
यही सूत्रमा जिन्दगीको जाँच हुन्छ
सुनिमात्र रहे ,विश्वास मानिन
खै मैले के जानिन के जानिन ?

गौँडो कुरी मान्छेहरू
मौका आउला पख! भन्दोरहेछ
काखमा लिएपछि
बिरालो नै बाघ बन्दोरहेछ
बैगुनीलाई गुनले मार्नु
खडेरीमा बिरुवा सार्नु
उस्तै उस्तै न रहेछ
आकाशको तारा झटाराले झार्नु
गाह्रै रहेछ हजुर यो धर्तीमा धानिन
खै मैले के जानिन के जानिन ?

न गुनासो गरेर काम छ
न परिस्थितिको लगाम छ
न सोचे जस्तो छ
न सम्झे जस्तो छ
आफैलाई पत्तो छैन
यो जिन्दगीको चाल कस्तो छ
चलिरहँदा यात्रा
लम्किरहँदा कदम
पल पलमा खतरा छ खुट्टा तानिन
खै मैले के जानिन के जानिन ?

चापाकोट,स्याङ्जा