म नै हुँ । - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

म नै हुँ ।



-घनश्याम काेइराला 

म म नै हुँ ।
म विद्वान् हुँ ।
म अरुभन्दा बढी बाेल्न सक्छु ।
म पुराना सबै कुरा सम्झन्छु ।
म नयाँ प्रविधि जान्दछु ।
म साइकलदेखि ठुला सबारीसाधन चलाउन जान्दछु ।
संसारकाे भूगोल जान्दछु ।
बाजा हुन् वा खेल, बादक हुन् वा खेलाडी
म यिनका गल्ती सहजै ओैँल्याउन सक्छु ।
बुद्धकाे तपस्या र महाभारत युद्धबारे सबै बुझेको छु ।
हरेक शिक्षक र नेताका कमजोरी ठम्याएकै छु ।
यी व्यापारी ? यी उद्योगी ?
यिनको त बुद्धि नै छैन ।
यी लेखक ? यी वैज्ञानिक ?
यी त सबै नक्कली हुन् ।
नेपालीहरू ? यी कहिल्यै सुध्रिदैनन्,
मैले कति भने, मैले भनेको सुन्दैनन् ।
आजकलका मान्छे अराजक छन्,
कसैलाई टेर्दैनन् ।
मैले चाहे सबै गर्नसक्छु,
तर, गर्दिनँ ।
गलत मान्छेलाई भाेट दिनु,
सबै मानिस उस्तै हुन् भन्नु,
सुध्रिनुभन्दा सुधार्न लाग्नु,
सधै आफ्नो जमानाप्रति गर्व गर्नु र त्यसकै बखान गर्नु,
मेरा केही खास याेगदान हुन् ।
म चाहन्छु, म बाेल्दैरहुँ
अरु सुनिरहून् ।
म भनिरहन्छु, अरु गरिरहून् ।
किन कि म त म नै हुँ ।
म कतै जान्नँ, अरु गइरहून् ।
म बाँचिरहुँ, अरु मरिरहून् ।
म देखाइरहुँ, अरु हेरिरहून् ।
म उस्तै रहुँ, अरु फेरिइरहून् ।
म त म नै हुँ ।
म गाली गर्छु, अरु ताली बजाइरहून् ।
म भुलिदिन्छु, अरु सम्झिरहून् ।
म बाेलाइरहुँ, अरु आइरहून् ।
म त म नै हुँ ।