नारी हिंसा

-तारा घिमिरे स्वेच्छा
हिंसा हुन्छ जहाँ अबोध कलिला,फ्याकिन्छ घारीतिर
नारीको हितमा हुने पुरुष जो ,जाकिन्छ खाडीतिर
छोडे धर्म सबै डुबेर रसमा, मातेर आए नर
स्वास्नीको गहना लुछी सहरमा, बेचेर खाने घर
मेला पात सबै सकेर घरमा ,भान्सा चुलो आँगन
धान्नै पर्छ बिहान हाँस कुखुरा ,भेडा र बाख्राकन
गर्ने होइन खास इज्जत कुनै ,संस्कार धान्दा पनि
हेला मात्र हुने हजार विधवा , जन्मेर छोरी भनी
लान्थे बेच्न कठै विदेश उनले निर्दोष नारी कति
चाहेको ससुरालको धन अझै ,ताकेर कुट्ने अति
गर्ने बाल विवाह पढ्न नदिँदै , नेपाल सारा भर
खल्लो लाग्छ कुरा सुनी पुरुषको ,आफ्नै छ राम्रो घर
सासू नन्द सबै जना असल भै सत्कार भर्दा पनि
जेठानी सबको हरेक पलमा , स्याहार गर्दा अनि
नारी शत्रु बनेर आउन झनै , मान्दै नमानी डर
आमा आश्रम राख्छ ज्ञान नहुँदा, सद्भाव राखी पर
