मान्छेको मनोवृत्ति - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मान्छेको मनोवृत्ति



—हिमलाल ज्ञवाली
(छन्द : अनुष्टुप)

चिनिदैन कुनै मान्छे नगरीकन सङ्गत,
भित्री र बाहिरी रूप सबैको हुन्छ भिन्नता ।
देखेर हुन्न आँखाले मनैले हेर्नु पर्दछ,
देख्नु र हेर्नुको भेद सबैले बुझ्नु पर्दछ ।

स्वार्थको पूर्तिका लागि लोतोपोतो लगाउने
जी जी हजुर हस् भन्दै ढोकामा पनि धाउने ।
तिनैले टाउको खान्छन् स्वार्थ पूर्ति भएपछि
त्यस्तो प्रवृत्तिका मान्छेलाई भनिन्छ घातकी ।

लाग्छ यो दुनियाँमा नै निस्वार्थी जन छैन कि ?
लोभी पापीहरूको नै यहाँ चल्दैछ बिग्बिगी ।
स्वार्थ पूर्ण हुनासाथ प्रहार गर्न थाल्दछन्
खोला पार गरी लौरो सबैले पर फाल्दछन् ।

मान्छेको जात नै आज मलाई लाग्छ बैगुनी
उपकारी सदाचारी छैन मान्छे कतै पनि ।
परोपकार पुण्याय आदर्श सूक्ति मात्र हो
दीन–दुःखीहरूलाई दया गर्ने यहाँ छ को ?

अशक्त दुःखीको दुःख आत्माले देख्नु पर्दछ
कर्मको फल मान्छेले स्वयम्ले भोग्नु पर्दछ ।
पापपुण्य दुवै भित्री आत्माले नै ठम्याउँछ
जे रोपिन्छ यहाँ बीज त्यही उम्री पलाउँछ ।

(‘हिमलाल ज्ञवालीका कविता’सङ्ग्रहबाट)