कामना (कविता) - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

कामना (कविता)



-दुर्गा थापा मगर

छन्द-: मनोरमा

हरघडी भलो विचारले
मृदुल कामना सदा रहे
मधुर वाच्यले हिया छुने
सहज जिन्दगी सदा हुने।।१।।

तर कहाँ छ खै सुचेतना
मन भरी सधैँ छ वेदना
वचनले दुखाउँदा हिया
हृदय हुन्छ यो छिया छिया।।२।।

जलन हुन्छ द्वेष रापले
कलह हुन्छ द्वन्द्व रागले
कुसुम प्रेमको फुलेन खै
सफर प्रेमको खुलेन खै।।३।।

अथक स्वच्छ कर्म छेकिँदा
निकटबाट आज हेपिँदा
सरल जिन्दगी छ बोझिलो
किरण प्रेमको छ ओसिलो।।४।।

मगजमा फुरोस् सुभावना
सहज त्याग तुच्च चाहना
सकलमा यही छ प्रार्थना
मृदुल प्रेमको छ कामना।।५।।

बुटवल ११