पुगौँ शिखरमा सब - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

पुगौँ शिखरमा सब



— हिमलाल ज्ञवाली

देखाई सपना पैले चकनाचुर पार्दछौँ ।
यसो गर्छु उसो गर्छु भनेर सुरु गर्दछौं ।।

भ्रमको जाल फैलाई हिँड्नेको होस् अधोगति ।।
पहिले राष्ट्र चाहिन्छ होला प्राप्ति अरु पछि ।

राष्ट्रवादी कुरा गर्दा अतिवादी भइन्छ र ?
नेपाल नरहेदेखि के नेपाली रहिन्छ र ?

कति खायौ नदी नाला कति खायौ धन वन ?
राष्ट्रघाती तिमीलाई के सजाय दिऊँ भन ?

देशभक्तहरूलाई पछ्याई काम गर्दछु ।
राष्ट्रघातीहरूलाई निमिट्यान्न म पार्दछु ।।

योग्य मानिस चाहिन्छ सुशासन चलाउन
जोगाइकन अस्तित्व यो नेपाल बचाउन ।।

आधा आधा भयो पानी भन्दै सुम्पिदियौ उता ।
आधा आधा भयो देश सुन्न सक्तिनँ है मता ।।

भयो विगतमा जे जे पश्चात्ताप गरौँ अब ।
देशभक्त बनी हामी पुगौँ शिखरमा सब ।।

(‘हिमलाल ज्ञवालीका कविता’सङ्ग्रहबाट)