मान्छे: मरेपछि अमर हुन्छ
—घनश्याम कोइराला
मान्छे
के के न हुँ भन्छ
खुबै कुद्छ , निकै दगुर्छ
बात गर्छ , विवाद गर्छ
संवाद पनि गर्छ
जिउँदै मर्छ
मरेपछि अमर हुन्छ !
मान्छे,
म नै ठुलो हुँ भन्छ
यसो गरेँ, उसो गरेँ भन्छ
आफूलाई बाघ
अरूलाई बिरालो देख्छ
साँच्चै बाघ देखे
म्याउँ म्याउँको भाकामा
बिरहगीत गाउँन थाल्छ !
मान्छे ,
निर्धो देखे जाइलाग्छ
बलियो देखे लत्रन्छ
राम्रो जति आफ्नै पौरख
बिगे्रभत्के ? मैले होइन,
अन्तै औँलो तेस्र्याइदिन्छ !
मान्छे ,
मात्तिन्छ, तातिन्छ,आत्तिन्छ
आफै मपाईँ बन्छ
आफै नाङ्गिन्छ,उदाङ्गिन्छ
किन नाङ्गै ? प्रश्न गर्दा
लुगाको कुरा गर्दैन
अर्काको रिस यसको कारण भनिदिन्छ
अन्तै औँलो तेस्र्याइदिन्छ !
मान्छे ,
आफू के के न सद्दे बन्छ
तर, कति परनिर्भर छ
आफ्नो दोष फेला परे
तँ कस्तो नि ? भनिदिन्छ
आफै आफू बन्दैन
अन्तै औँलो तेस्र्याइदिन्छ !
मान्छे !
अरू जस्तो भए पनि
आफू सद्दे बन्न हुन्छ
हिलोमा कमल , काँढामा गुलाफझैँ
तर, कुन्नि किन छेपारोझैँ
आफ्नै रङ्ग बदल्न खोज्छ !
ए मान्छे !
स्वतन्त्र छौ तिमी
तिमीले राम्रो गर्न हुन्छ
तिमी साँच्चै मानिस हौ भने
अरूको बैगुन बोक्नैपर्छ ?
हैन , तिमी आफै
आफू सद्दे बन्नैपर्छ ।