मै हुँ पृथ्वीनारायण शाह
-विक्रम पौडेल
देखेर सपना
जुटाएर साहस
लगाएर ज्यानको बाजी
फोरेर दुस्मनका किल्ला
छिनाएर दुस्मनको शिर
कोरेर वीरताको गाथा
हिँडेको थिएँ झुण्ड झुण्ड राज्य एकीकरण गर्न ।
म मा विशाल राष्ट्र निर्माणको अभिमान थियो
अहमले सीमा नागेको थियो
लोभले मानवता हराएको थियो
एक पछि अर्को राज्यमा आँखा लागेको थियो
त्यसैले चुप लागेर बस्न सकिन ।
लाग्यो फूल जस्ता राज्य एकताको सियोमा उन्नु पर्छ
जो वैरी बन्छ
उसैको अस्तित्व मेटाएर आफूले किल्ला गाड्नु पर्छ
सानो गोर्खा राज्य होइन
जुटेर एक दिन विशाल नेपाल खडा गर्नु पर्छ
नेपाली धरती आकाशमा सूर्य चन्द्र ध्वजा फर्फराउनु पर्छ
सोचेर अघि बढेको थिए ।
मैले तरबार उठाउँदा
कतिले राक्षस भने
कतिले राजा माने ।
कतिले ज्यानको बलि चढाए
कतिले दुस्मनको ज्यान लिए
ज-जसले जे गरे
हिसाब गरेको छैन
त्यसै सिङ्गो नेपाल भएको होइन
हो म त्यही हो
तिमीले सुनेको पृथ्वीनारायण शाह
म मरेर गए पनि
तिमीले प्रत्येक वर्ष मलाई सम्झनु पर्छ
तिमीले टेकेको जमिन
तिमीले देखेको नेपाल
तिमीले बोल्ने शब्द
तिमीले लेख्ने अक्षर
तिमीले पुज्ने भगवान्
तिमीले मान्ने परम्परा
तिमीले लगाएको दौरा सुरुवाल ढाका टोपी
त्यो रङ्गी विरङ्गी लालीगुराँस
उत्तर फर्कँदा देखेका हिमाल
दक्षिणमा फैलिएको समथल भूभाग
सबै सबै जोगाएर
तिम्रो शिर झुक्न नदिने मै हुँ
तिमीले सुनेको पृथ्वीनारायण शाह
तिमीले मेरो सालिक फोर्न सक्छौँ
मैले जसरी विशाल नेपाल बुन्न सक्दैनौँ
हो म त्यही विशाल नेपाल निर्माण गर्ने
पृथ्वीनारायण शाह