पानीघडी

-ऋषभदेव घिमिरे
स्वभाव नै हो पानीको
तप्किनु, चुहुनु र बग्नु
पानी चुहिएपछि
सङ्केत हुन्छ आकाश खुलेको
समुन्द्र उर्लेर छालहरूले
उकालो चढ्दै हिमाल छोएको
तलाउ उम्लेर सूर्य सेलाएको
युगीन पानीघडीले
बताएकै थियो समयको महिमा
समय अन्तरालको
तथ्य तर रोमाञ्चक !
प्रतिबिम्ब तर यथार्थ
आकाशगङ्गाको , उल्काको
चिसो वा तातो
हुस्सु , कुहिरो, हिउँ
पानीका पिण्डहरू
सबै जम्ने, पग्लने र बग्ने
आखिर पानी कै रहेछ
जीवनको प्रारम्भ र अन्त्य
पानीघडीले
कहिल्यै क्रमभङ्ग गरेन
रोकेन यान्त्रिक गति
धुवाँ ओकलेन
पानी निरन्तर ओरालो झरेर पनि
उकालो चढ्दै चढ्दै
देखाइरह्यो समयको सार
पानी सिमाना हो समयको
समन हो आगोको
अस्तित्व हो पृथ्वीको
आकाश पानी पिएर बाँचेको छ
म दुस्साहस गर्न सक्दिन
पानी न पिएर जीवन धान्न
पानी बिना चल्न छोडने छ
जीवन घडीको कमानी ।
