झण्डाभित्र को छ हँ ?

-राजेन्द्र बानियाँ ‘विगिन’
एक अमलपुर छ
दुई कोष टाढा मनको दुरीबाट
कुनै झण्डाको छत/घर छैन
त्यहाँसम्म पुगेको !!
एक कमलपुर छ
झण्डैझण्डाले पुरिएको
र पनि
लडिरहेका छन् पहलमानहरू
आफ्नो डण्डा माथि उठाउन !!
नयाँ बजारमा चनक बहादुरको पसल छ
षड्यन्त्रहरु बुन्ने
जहाँ चुनाव आउन्जेल आईरहन्छन
तिनमुखेहरु त्रिपाल लिएर
तिनका झण्डाभित्र/बाहिर हेर्छु बेस्सरी
कहीँ केही देख्दिन, केही भेट्दिन !!
झण्डाको वरिपरि
वाफिमका डरलाग्दा रक्तकोष उम्लिरहेका छन्
जसले अर्कैको घर/सम्पत्ति/श्रीमतीमाथि
आँखा गाडिरहेको छ !!
खण्ड खण्ड परेको भूगोलमा
खाडल खनिरहेको छ परदेशी
मान्छेका मनलाई गाड्न !!
एक ऐतिहासिकतालाई लिएर
छछुङ्गि गीत गाईरहेछन झुटेमुखेहरु
आफ्नै मनलाई ठगी दुम्सिकाडेहरु
समाचारमा नाच्न तम्तयार छन् !!
यिनले झण्डाको गीत गाउँदैनन् ,
व्यक्तित्वको रिस पिई रहन्छन् ।
आफै आउँदैनन् आफन्त पटाउँछन्
विश्वको गीत गाउन, मनसँग प्रीत लाउन
तिम्रा झण्डाभित्र/बाहिर को/के छ हँ ?
कतै म नै त छैन
झण्डाभित्र को छ हँ ?
बुढीगंगा नगरपालिका, बाजुरा
