मृत्यु किन रोज्छ मान्छे ?
—घनश्याम कोइराला
फुलैपूलको संसारमा
काँडा किन खोज्छ मान्छे
हाँसोको सागरभित्र
आँसु किन रोज्छ मान्छे ।
आफन्तका बिचमा किन
बिरानो बन्न खोज्छ मान्छे
ओखतीको भकारीभित्र
रोग किन भेट्छ मान्छे ।
जीवनकै सिर्जनाभित्र
मृत्यु किन खोज्छ मान्छे
आसैआसको बगैँचाभित्र
निराश किन बन्छ मान्छे ।
जे देख्छ त्यो किन होला
बिर्सिदिन खोज्छ मान्छे
अन्धकारको खाडलभित्र
किन डुब्न खोज्छ मान्छे ।
यदि तिमी खोज्छौ भने
सुन्दर संसार खोज मान्छे
रोज्नै पाउँदा आफ्नै मनले
सुख-शान्ति रोज मान्छे ।
अन्धकार खोज्न छोड मान्छे
उज्यालो कहाँ छ खोज मान्छे
जीवनलाई रोज मान्छे
मृत्यु खोज्न छोड मान्छे ।