गमन आमबासको (प्रस्थानको छोटो चिन्तन)
~विश्वजीत गुप्ता ‘बिशाल’
बिहान सयपत्रीको परीक्षा सकाएर यात्रा भयो सुरु,
प्रधानाध्यापक सरको भटभटेमा हिँडियो खुरुखुरु ,
कतै गड्डागुड्डी हेरियो त कतै फराकिलो पक्की बाटो,
हेर्न मौका पायौँ हामीले कालो , पहेलो र रातो माटो ।
अरु सबै पहिलै पुगी सके , हामीलाई अलि ढिलो भयो ।
तातो चियाको चुस्की पछि चिसो मौसमको डर गयो ।
आधा बाटो पुग्दा पुग्दै बाइकको पेट्रोल सकिन्न लाग्यो ।
खोज्दा खोज्दै पेट्रोल पम्प भेटाउँदा , बल्ल गाडी भाग्यो ।
अरु सहकर्मी विद्यालयकै बसमा पुगेका रहेछन् उहिलै ,
हामी फेरी सम्पर्क नम्बर मिलाउँदै पछि पर्यौ जहिलै ,
गाउँसरहको सुन्दर दृश्य हेर्दाहेर्दै मार्ग भ्रम पो भएछ ।
हामी पुग्यौँ धेरै माथि , पिकनिक स्पोट तल नै रहेछ ।
अपरिचितलाई भेटी गन्तव्य सोधेर , धन्न फर्केर आयौँ ।
पुग्नासाथ खाजा खाने समयमा , पहिला नास्ता खायौँ ।
एक अर्कै कुनै संस्थाको टोली पनि त्यहीँ ठाउँमा थियो ।
वनभोज कार्यक्रममा जे भए पनि उसले हाम्रो साथ दियो ।
सबै रमाउँदै थिए पिउँदै-खाँदै , नाच्दै आफ्नो तरिकामा ।
तीन साथी निस्क्यौँ जङ्गलभित्र , हेर्यौँ वानर बदरिकामा ।
ठुला चट्टान देख्यौँ र मीन भएको कलकल बग्ने नदी पवित्र ।
सुन्यौँ आवाज खगको र भेटायौँ त्यसको नीलो पर्ण विचित्र।
कहिल्यै नदेखेको फल हेर्ने मौका मिल्यो त्यो परिसरमा ।
सयौँ तस्बिर खिच्यौँ हामी , मनोहर यात्राको अवसरमा ।
पुनः फर्किदा गायनको प्रक्रिया चाहिँ बढ्दै थियो अगाडी ।
माइकको मधुर आवाज कर्णको पिछा गरेझैँ पर्यो पछाडि ।
त्यसपछि , सबैले पालैपालो भुँडी भर्यौँ स्वादिलो भोजनले ।
सकुशल अनि अविस्मरणीय रह्यो यात्रा सम्पूर्णको योजनले ।
सायङ्काल सुरु हुँदा निस्कियौँ त्यहाँबाट आ-आफ्नो साधनमा ।
थकित भई राति घर पुग्दा पनि , सुखद अनुभूति थियो मनमा ।